प्यालेस्टाइनमा रोकिएन सामूहिक नरसंहार, राष्ट्रसंघमा शक्ति राष्ट्रका आ-आफ्नै मत

  २०८० कार्तिक ९ गते १२:१७     विकासन्युज

काठमाडौं । प्यालेस्टाइनको सैन्य संगठन हमासले अक्टोबर ७ मा इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायलले प्यालेस्टाइनमाथि शुरु गरेको बर्बर सामूहिक सैन्य कारवाहीको श्रृंखला रोकिएको छैन । झण्डै तीन हप्ताको कारबाहीमा हजारौं निहत्था नागरिकको मृत्यु भएको छ भने हजारौं घाइते र लाखौं प्यालेस्टाइनी जनता घरबार बिहिन बन्न पुगेका छन् ।

इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ । इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् । लगभग २० हजार घरहरु पूर्ण क्षति भएका छन् । त्यस्तै ७० प्रतिशत स्थानीयहरु घरबाट बिस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले इजरायल र हमास समूहबीचको युद्धमा अन्तर्राष्ट्रिय कानून उल्लंघन भएको बताएका छन् । तर, इजरायलले भने राष्ट्रसंघका महासचिव गुट्रेसको भनाइको आलोचना गरेको छ ।

गाजा क्षेत्रमा इजरायलले बमबारी गरिरहँदा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा शक्ति राष्ट्रहरुले आ–आफ््ना विचारमा अडान राखेका छन् । बुधबार अमेरिका र रुसले राष्ट्रसंघमा दुई अलग–अलग प्रस्ताव गरेका थिए । तर, दुवै पक्षले राखेको प्रस्तावमा आम सहमति हुन सकेन ।

अमेरिकाले रुसी प्रस्तावको विरुद्धमा र चीन तथा रुसले अमेरिकाको प्रस्तावमा भिटो प्रयोग गरेर खारेज गर्ने काम गरे । अमेरिकाले प्यालेष्टाइनमा मानवीय विरामको प्रस्ताव गरेको थियो तर, युद्धबिरामलाई भने स्वीकार गरेन । त्यस्तै, रुसले भने प्यालेष्टाइनमा युद्धबिरामको प्रस्ताव गरेको थियो र अमेरिकाको मानवीय विरामलाई अस्वीकार गर्यो ।