चुनावको संघारमा आम आद्मी पार्टीमाथि धरपकड शुरु, केजरीवालाई प्रचारमा रोक लगाउने तयारी

  २०८० कार्तिक १६ गते १०:०८     विकासन्युज

काठमाडौं । भारतमा सन् २०२४ को लोकसभा चुनाव नजिकिँदै गर्दा आम आद्मी पार्टीमाथि केन्द्रीय सरकारले धरपकड गर्न शुरु गरेको छ । दिल्लीको रक्सी नीति घोटाला भन्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बिहीबार प्रवर्तन निर्देशनालय (ईडी)मा बयानका लागि हाजिर गराइएको छ ।

केजरीवालले प्रश्नहरुको जवाफ दिँदै आफूलाई सोधपुछको लागि पठाइएको नोटिस अवैध र राजनीतिक रुपमा प्रेरित भएको बताएका छन् । उनले भाजपाको निर्देशनमा नोटिस पठाएको बताउँदै आफूलाई चार प्रदेशमा चुनाव प्रचार गर्न रोक लगाउनको लागि सो कार्य गरिएको दाबी गरेका छन् ।

दिल्ली रक्सी नीति घोटालाको विषयमा आम आद्मी पार्टीका नेता तथा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया फ्रेबुअरीदेखि जेलमा रहँदै आएका छन् । सिसोदियाको गिरफ्तारी पछि चुनाव नजिकिँदै जाँदा आम आद्मी पार्टीका राज्यसभा सांसद सञ्जय सिँहलई पनि गिरफ्तार गरेको छ ।

दिल्ली रक्सी घोटालाको विषयलाई लिएर ईडीले आम आद्मी पार्टीका धेरै नेताहरुमाथि निगरानी गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । आज बिहीबार मात्रै ईडीलपे मनी लाउन्डरिङ प्रकरणमा दिल्लीका बहालवाला क्याबिनेट मन्त्री आनन्दकुमारको घरमा छापा मार्ने काम गरेको छ । एजेन्सीको सहयोगमा ।