२०८० मंसिर १ गते १७:५३ रामकृष्ण पौडेल
दरबारमार्गमा गुण दरबार निर्माण सम्पन्न भएको करिब २ वर्ष भैसक्यो । उक्त दरबारको ३० प्रतिशतभन्दा कम क्षेत्रफल मात्र भाडामा गएको छ । बाँकी क्षेत्रफल खाली छ ।
दरबार मार्ग, न्यूरोड, ठमेल, पुतली सडक, नयाँ बानेश्वर लगायत महँगो क्षेत्रका व्यावसायिक भवनहरूमा मालिकको मोबाइल नम्बरसहित ‘टु लेट’ लेखेको बोर्ड तथा प्लेट प्रशस्त देख्न पाइन्छ । जहाँ कोरोना महामारी फैलिनुपूर्व व्यावसायिक स्थान लिनको लागि पुराना व्यापारीहरूलाई नयाँ लगानीकर्ताले मासिक भाडाको ५/६ गुणासम्म सलामी तिरेपछि मात्र घरबेटीसँग बहाल सम्झौता गर्न पुग्थे ।
चलेको बजार क्षेत्रमा सटर वा व्यावसायिक क्षेत्र खाली हुनुलाई धेरैले आर्थिक मन्दीको रुपमा चित्रण गर्ने गरेका छन्, जुन गलत हो । सटरको व्यापार घट्नुमा मन्दीको असर थोरै छ । व्यापारको प्रक्रियामा भएका परिवर्तन तथा उपभोक्ताको खरिद र उपभोग शैलीमा आएको परिवर्तनले सटर व्यापारलाई धक्का दिएको छ । तर, सहरको व्यापार बढेकै छ ।
सामान्यतयः बजारमा वस्तु तथा सेवाको माग कम हुनु, खपत कम हुनु र मूल्य पनि घट्नु आर्थिक मन्दीको संकेत हुन् । नेपालमा केही क्षेत्रमा मन्दी प्रष्ट रुपमा देखिन्छ । सेयर बजार, अटो बजारमा पूर्ण मन्दी छ भने घरजग्गा क्षेत्रमा आंशिक मन्दी छ । घरजग्गाको कारोबार कम भए पनि मूल्य घटेको देखिँदैन ।
मन्दी होइन
केन्द्रिय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ९ प्रतिशतको आर्थिक वृद्धि भएको रहेछ । त्यसयता ६ आर्थिक वर्ष हामीले बितायौं । यस अवधिमा आर्थिक वृद्धिदर सरदर ४.७ प्रतिशत छ । वि.सं २०७४ असार मसान्तमा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ३० खर्ब ७७ अर्ब रुपैयाँ बराबर रहेकोमा २०८० असार मसान्तमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको भएको छ । अर्थतन्त्रको आकार ७५ प्रतिशतले वृद्धि भएको छ । नेपाल जस्तो अल्पविकसित देशको लागि ४.७ प्रतिशतको आर्थिक वृद्धि कम हो । तर, आर्थिक मन्दी हुँदै होइन ।
आर्थिक वर्ष २०७३/७४ मा ९ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । ६ वर्षमा आयात व्यापार ८५ प्रतिशतले वृद्धि भएको छ । औसतमा बार्षिक १४.१६ प्रतिशतले आयात व्यापार बढेको छ । आयात बढ्नु भनेको उपभोग बढ्नु हो । बजारमा वस्तुको माग उच्च छ, बिक्री पनि उच्च छ भन्नु नै हो ।
आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब रुपैयाँ बराबरको आयात भएकोमा आर्थिक वर्ष २०७९/८० मा १६ खर्ब ११ अर्बको आयात भएको छ । यो आर्थिक वर्ष आयात घट्नुको कारण उपभोक्ता तहबाट माग घटेर होइन । सरकारसँग विदेशी मुद्रा सञ्चिति कम भएपछि आयातलाई निरुत्साहित गर्न लिएकाे नीतिको असर हो । त्यस आर्थिक वर्षमा सरकारले कयौं वस्तुको आयातमा प्रतिबन्ध नै गरेको थियो भने कयौं वस्तुको आयातमा बैंकिङ कर्जा सुविधा कटौति गरिएको थियो । आर्थिक वर्ष २०७९/८० मा सवारी साधन र तीनका पार्ट आयात नै ४७ प्रतिशतले घटेको थियो ।
वर्तमान अवस्थामा सरकार विदेशी मुद्रा अभावको दबाबमा छैन । सबै वस्तु तथा सेवाको आयात निर्वाद रूपमा खुला गरिएको छ । गत आर्थिक वर्ष १६.१ प्रतिशतले आयात घटेकोमा चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु आयात १.७ प्रतिशतले वृद्धि भइसकेको छ । आयातभित्र पनि ठूलो हिस्सा उपाभोग्य वस्तु रहेका छन् । कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५०.६ प्रतिशत र अन्तिम उपभोग्य वस्तुको अनुपात ४०.९ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको आयात हिस्सा ८.५ प्रतिशत मात्र छ । यसले पनि आर्थिक मन्दी छ भन्ने तर्कलाई समर्थन गर्दैन ।
वस्तु तथा सेवाको मूल्य घट्नु मन्दीका प्रमुख सूचकाङ्क हो । तर, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य सूचकाङ्कले त्यसलाई पुष्टि गर्दैन । विगत ७ वर्षमा मुद्रास्फीति न्यूनतम ३.६ प्रतिशत र अधिकतम ७.७ प्रतिशत रहेको छ । औसतमा ५.३ प्रतिशतको मुद्रास्फीति रहेको छ । उपभोक्ताको लागि मूल्य बढ्नु भनेको व्यापारीको लागि व्यापारको आकार पनि बढ्नु हो ।
बृहत् आर्थिक परिसूचकहरू राम्रा छन् । विगत ७ वर्षमा अर्थतन्त्रको आकार ७५ प्रतिशतले वृद्धि भएको छ । आयात ८५ प्रतिशतले वृद्धि भएको छ । प्रतिव्यक्ति आम्दानी ३७ प्रतिशतले बढेको छ । औसतमा वार्षिक ५.३ प्रतिशतको मुद्रास्फीति रहेको छ । यस अवस्थालाई आर्थिक मन्दी मान्न सकिँदैन । महँगो बजारमा रहेका सटरहरू बन्द हुनुमा व्यापारको शैलीमा आएको परिवर्तन नै मुख्य कारण हुनुपर्छ ।
नेपालीले नेपाल छोडे, देशमा उपभोक्ता घटे, किन्ने मान्छे नै छैन, सटर खोलेरे व्यापारीहरू दिनभर मोबाइल चलाउँछन्, सामाजिक सञ्जाल चलाउँछन् भन्नेहरू पनि प्रशस्त देखिन्छन् । तर, तथ्याङ्कले त्यसको पुष्ट्यिाई गरिसकेको छैन । वि.सं २०५० को दशकपछि नेपालीहरू पढ्न र वैदेशिक रोजगारीमा जान थालेका हुन् । तीन दशकमा तीन पटक जनगणना भए । केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०४८ सालमा १ करोड ८४ लाख जनसंख्या थियो । २०५८ सालमा २ करोड ३१ लाख पुग्यो । २०६८ सालमा २ करोड ६४ लाख पुगेको थियो भने २०७८ सालमा २ करोड २१ लाख जनसंख्या भएको छ । २०४८ देखि २०७८ सम्ममा नेपालको जनसंख्या १ करोड ७ लाखले थपिएको छ । ३० वर्षमा ५८ प्रतिशतले जनसंख्या बढेको छ ।
यो तथ्यलाई बिर्सेर नेपालमा मान्छे नै बस्दैनन्, सबै विदेश गईसके भन्नु गलत हुन्छ । विदेश जाने र फर्कने क्रम जारी छ । बरु गाउँ छोडेर शहर बस्ने क्रम बढ्दो छ । सहरका मान्छे बढी उपभोगी हुन्छन् । गाउँका मान्छेले भन्दा सहरका मान्छेले धेरै शिर्षकमा खर्च गर्छन र बढी मूल्य तिर्छन् । तसर्थ सहरमा व्यापार बढेकै छ, मात्र सटरको व्यापार घटेको हो ।
जनसंख्या मात्र वृद्धि भएको छैन, नेपालीको प्रतिव्यक्ति आम्दानी पनि बढेको छ । ७ वर्ष पहिला नेपालीको वार्षिक आम्दानी प्रतिव्यक्ति अमेरिकी डलर १ हजार २८ माथि थियो भने अहिले १ हजार ४१० डलर (करिब १ लाख ८४ हजार रुपैयाँ) पुगेको छ । यस अवधिमा नेपालीहरूको आम्दानी पनि ३७ प्रतिशतले वृद्धि भएको छ ।
बृहत् आर्थिक परिसूचकहरू राम्रा छन् । विगत ७ वर्षमा अर्थतन्त्रको आकार ७५ प्रतिशतले वृद्धि भएको छ । आयात ८५ प्रतिशतले वृद्धि भएको छ । प्रतिव्यक्ति आम्दानी ३७ प्रतिशतले बढेको छ । औसतमा वार्षिक ५.३ प्रतिशतको मुद्रास्फीति रहेको छ । यस अवस्थालाई आर्थिक मन्दी मान्न सकिँदैन । महँगो बजारमा रहेका सटरहरू बन्द हुनुमा व्यापारको शैलीमा आएको परिवर्तन नै मुख्य कारण हुनुपर्छ ।
देखिएका परिवर्तनहरू
प्रविधिको विकाससँगै व्यापारमा यसको प्रयोग र जीवन शैलीमा आएको परिवर्तन व्यापारको तौर-तरिकामा पनि ठूलो परिवर्तन आएको छ । हुलाकी सेवालाई इन्टरनेट सेवाले खाए जस्तै ट्याक्सी यातायात सेवालाई पठाओ र इन-ड्राइभ जस्ता नयाँ यातायातका सुविधाले खाँदै गएको छ । टेलिभिजनको व्यापारलाई यूटुबले खोस्दै गएको छ । पत्रिकाको व्यापार अनलाइन मिडियाले र अनलाईन मिडियाको व्यापार सामाजिक सञ्जालले खोस्दै गएको छ ।
सटरमा पसल राखेर गरिने व्यापार खोस्न त धेरै तिरबाट ठूला लगानी सहितका व्यवसायिक अभ्यास भएका छन् र ती सफल हुँदै गएका छन् । असन, न्यूरोड र दरबार मार्गमा सञ्चालित सटरका ग्राहकहरू देशभर सञ्जाल फैलिँदै गएका भाटभटेनी, सेल्सबेरी, बिगमार्ट जस्ता ठूला चेन मार्टमा जान थालेका छन् । त्यसको एउटा उदाहरण हो भाटभटेनीले एक वर्षमै करिब ३० अर्ब रूपैयाँको व्यापार गर्नु । बढी खर्चालु उपभोक्ता कार, मोटरसाइकल जस्ता निजी सवारीमा बजार जान्छन् । उनीहरू जहाँ प्रयाप्त पार्किङको सुविधा छ, त्यहाँ जान्छन् । दरबार मार्ग र न्यूरोडका व्यवसायीको अनुभूव पनि यहि छ कि महानगरले सडकमा पार्किङ सुविधा हटाएपछि ग्राहक आउन कम भयो ।
त्यस्तै, अनलाइन सपिङ बढ्दो छ । दराज, सस्तो डिल, मुन्चा, मेरो सपिङ जस्ता इ-कमर्स प्लेटफर्महरूले उच्च गतिमा व्यापार विस्तार गर्दै गएका छन् । विभिन्न सटर तथा पसल चहारेर, वस्तु र मूल्यबारे जानकारी लिएर किन्ने संस्कारमा अभ्यास गर्दै आएको एउटा पुस्ता वृद्ध हुँदै गएको छ । अनलाइनबाट वस्तुको मूल्य र गुणस्तरको पहिचान गरेर खरिद आदेश दिने, अनलाइनबाट भुक्तानी गर्ने, घर वा अफिसमै बसेर चाहिएको सामान किन्ने युवा पुस्ताको उपस्थिति बढ्दो छ । विदेशमा रहेका दशौं लाख युवा नेपालीहरूले नेपालमा रहेका परिवारलाई आवश्यक सामान अनलाइनबाट खरिद गर्न थालेका छन् । अनलाइन व्यापार बुझेका विश्व प्रशिद्ध ब्राण्ड टेस्ला, आईफोन जस्ता प्रडक्टहरूले शोरूम नै राख्दैनन् । ठूला सहरमा डेलिभरी स्टोर मात्र राख्न थालेका छन् । मोबाइल किन्न न्यूरोड जाने र कार किन्न थापाथली जाने अभ्यास गरेका पुस्ता बृद्ध हुँदै गएको छ भने अनलाइनबाटै फोन र गाडी बुक गर्ने पुस्ता बजारको मुख्य ग्राहक बन्दैछ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ वटा घटेछन् । तर, बैकिङ सेवा विस्तार नै भएको छ । ३ महिनामा १५८ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ । कर्जा १०९ अर्ब रुपैयाँले वृद्धि भएको छ । बैकिङ क्षेत्रमा जस्तै बीमामा शाखा विस्तार बन्द भएको छ र बीमा सेवाको पहुँच वृद्धि भैरहेको छ, बीमा सेवाको व्यापार विस्तार भैरहेको छ । पहिलो बैंक, बीमाको शाखा तथा सेयर ब्रोकर अफिसमा पुगेर कारोबार गर्नेहरू अहिले अनलाइनबाटै गर्न थालेका छन् । ठूलो व्यवसायिक कारोबारका लागि सहरको मुटुमा ठूलो भवन आवश्यक छ भन्ने पुरानो मान्यता र अभ्यास अब असान्दर्भिक र अव्यवसायिक हुँदै गएको छ ।
सहरको विस्तार
केन्द्रीकृत शासन प्रणाली विकेन्द्रीत भएसँगै पालिका स्तरमा बजार बढ्दो छ । जहाँ कार र मोटरसाइकलको शोरुमदेखि सुन पसलसम्म खुलेको पाइन्छ । बैंक, बीमा, स्कूल, कलेज, हस्पिटलहरु जिल्ला तथा पालिका तहमा विस्तार हुँदै गर्दा पुराना सहरमा हुने भीड कम हुँदै गएको छ । चक्रपथ भित्रका पुराना रेष्टुरेन्टले भन्दा चक्रपथ बाहिर खुलेका नयाँ रेष्टुरेन्टहरूले राती अबेरसम्म ग्राहक पाउन थालेका छन्, बढी व्यापार गर्न थालेका छन् । फुडमाण्डू, भोजमाण्डू, खानपीन, मिल नेपाल जस्ता रेष्टुरेन्ट फुड डेलिभरी व्यवसायले गर्दा महँगो सहरमा सञ्चालित होटल रेष्टुरेन्टलाई जहाँ सस्तो ठाउँ छ, त्यहाँ स्थान्तरण गर्न दबाब दिइरहेको छ ।
कोरोना महामारीसँगै घरबाटै काम (वर्क फ्रम होम) को सुरुवात भयो । भर्चुअल बैठक, सभा सम्मेलन सुरु भए । बन्दाबन्दीको बेलामा जति काम घरबाट हुने गरेका थिए, बजार खुला भएपछि आम-मानिसहरू पुरानै तरिकाबाट काम गर्न थाले । बन्दाबन्दीमा भर्चुअल काम गर्नका लागि जुटाइएका साधन र त्यतिबेला अनुभव गरिएका सहज अभ्यास अहिले पनि मानिसहरूले गरिरहेका छन् ।
महँगो भाडा
लामो समय दरबार मार्गमा व्यापार गरेर हाल न्यूरोडको एउटा गल्लीमा कपडाको व्यापार गरिरहेका एकजना पसलेले मसँग भने, ‘पहिला दरबार मार्गमा राम्रै व्यापार हुन्थ्यो, ब्राण्डेड तथा महँगो सामान खोज्न अधिकांश ग्राहक दरबारमार्गमा आउँथे, उनीहरूको आफ्नै सवारी साधन हुन्थ्यो, पार्किङको पनि सुविधा थियो, व्यापार पनि राम्रै थियो । तर, अहिले महानगरले पार्किङ हटाएपछि ती ग्राहकहरू पार्किङ भएको ठाउँमा जान थाले, उनीहरूले खरिद गरेकै छन् । तर, खरिद गर्ने ठाउँ मात्रै बदलियो ।’
उनले आफ्नो अनुभव सुनाउँदै थपे, ‘पार्किङ हटेपछि मैले दरबार मार्गमा जति भाडा तिरेर व्यापार गर्थें, सटरको भाडा पनि असुल हुन्थेन, त्यसपछि केही सस्तो भाडा खाेज्दै यो ठाउँमा आइपुगें, अहिले व्यापार पनि राम्रै छ, सटर भाडा पनि दरबार मार्गको तुलनामा धेरै कम छ ।’
अधिकांश व्यापारीको गुनासो र धारणा एउटै छ । दरबार मार्ग, न्यूरोड, ठमेलसहित चल्तिका र पुराना सहरमा सटर खाली हुनुमा मुलभुत रूपमा दुइटा समस्या छन् । एउटा भाडा अचाक्ली महँगो छ । दोस्रो, पार्किङको सुविधा छैन । पार्किङ सुविधा नहुँदा निजी सवारी साधन प्रयोग गर्ने उपभोक्ता पुरानो बजार जान छोडे । भाडा महँगो हुँदा र व्यापार कम हुँदा ती सहरमा नाफा हुन छोड्यो र व्यापारीले पनि पुरानो बजार छोड्न थाले ।
आफैं घरधनी, आफैं कारोबारी भएका व्यवसायीहरूको लागि अहिले पनि ती पुराना सहरमा ठूलो समस्या छैन, घाटा पनि छैन । आनाको करोडभन्दा बढी मूल्यमा जग्गा किनेर व्यावसायिक भवन बनाउनेहरू र सटरमा लाखौ खर्च गर्नेहरु उच्च जोखिममा हुनेछन् । उनीहरूका लागि अब लगानी उठाउन धेरै नै कठिन हुने देखिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.