महँगो सटर भाडा, अनलाइन सपिङ र पार्किङले कसरी डुबे व्यापारिक केन्द्र ?

  २०८० मंसिर ३ गते १२:०७      ऋतु

काठमाडौं । कोरोना महामारीबाट जब नेपाल पनि अछुतो रहन सकेन, तब आममानिस स्वास्थ्य समस्यामा त परे नै, सँगसँगै मुलुकको अर्थतन्त्रको गति पनि बिस्तारै धिमा हुँदै गयो । चलायमान अर्थतन्त्र लगभग ठप्प हुँदा संघीय राजधानीको व्यापारिक केन्द्र दरबारमार्ग यसबाट बच्न सक्ने कुरै भएन ।

कोरोना महामारीअघि व्यापारिक केन्द्र दरबारमार्गको व्यापार गुलजार थियो । दरबारमार्ग काठमाडौंको ठूलो व्यापारिक केन्द्र हो । कोरोना महामारीको चपेटामा परेर तनाव खेपिरहेको दरबारमार्गले महामारी हट्दै जान थालेपछि बिस्तारै सास फेरिरहेको थियो ।

यसले यसो गति लिने छाँट देखाइरहेको थियो । तर, एक्कासि यसमाथि अर्को बज्रपात आइलाग्यो । काठमाडौं महानगरपालिकाको मेयर पदमा चुनाव जितेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले फ्याट्टै निर्णय गरिदिए– ‘दरबारमार्ग सडक छेउमा रहेको पार्किङ तुरुन्त हटाउनू !’

यति भएपछि सबै काम तमाम हुन पुग्यो । हिजोसम्म गुलजार दरबारमार्ग एक्कासि खहरे सुकेजस्तो भयो । ‘क्वालिटी ग्राहक’ अर्थात बढी पैसा खर्च गर्न सक्ने उपभोक्ताको गन्तव्य दरबारमार्गमा लगभग कर्फ्यु लागेजस्तै भयो ।

दरबारमार्ग मूलसडकका दायाँ–बायाँ वर्षौंदेखि व्यापार गरिरहेका रेस्टुरेन्ट, ब्रान्डेड सामानका पसल, होटल, जुत्ता, कस्मेटिक, गहना पसल, अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्ट, चस्मा पसल, बुटिक, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामानका पसललगायतका कारोबार लगभग ठप्प नै भयो भन्दा अतिशयोक्ति नहोला ।

काठमाडौं महानगरपालिकाले दरबारमार्गका सडकमा दशकौंदेखि हुँदै आएको गाडी र मोटरसाइकल पार्किङ हटाएपछि यहाँको व्यापारिक कारोबार लगभग ठप्पजस्तै छ । महानगरले पार्किङको विकल्प नदिनाले सारा व्यापार चौपट भएको व्यवसायीको दुखेसो छ ।

अब आजको कुरा,

अहिले दरबारमार्ग सुनसान छ । अधिकांश व्यापारिक भवन र तिनका पसल कबलमा ‘टु लेट’ लेखेर टाँसिएको देख्न सकिन्छ । ग्राहक आउलान् र सामान किन्लान् भनेर बाटो हेरेर बसेका व्यापारीलाई आफ्ना पसल कबलका सटर भाडा कसरी तिर्ने भन्ने चिन्ताले दिनहुँ सताइरहन्छ । घरधनीले भाडा छुट दिए वा भाडा तिर्न केही समय थपिएदिए पनि व्यापारै नभएपछि व्यापारीलाई पसल कबल टिकाइराख्न कम्ता चुनौती छैन ।

विकासन्युजकर्मी दरबारमार्ग घुमिरहँदा पसल कबल सबै खुलेका थिए । तर, रेस्टुरेन्ट, सपिङ मल, कपडा, जुत्तादेखि गहना पसलसम्म सुनसान थिए, ग्राहक देखिन्थेनन् । ग्राहक नै नआएपछि पसल सञ्चालक र कर्मचारी फुर्सदमै थिए र गफगाफमै व्यस्त देखिन्थे ।

दरबारमार्गका व्यापारीका पसल कबलका सटरका भित्तामा ‘५० प्रतिशसम्म आकर्षक छुट’ भनेर पम्प्लेट टाँसिएका छन् । तर, त्यहाँ टाँसिएका आर्कषक छुटले पनि ग्राहक आकर्षित गर्न सकिरहेका छैनन् ।

त्यहाँका व्यापारीले एउटै सटरको मासिक भाडा १० देखि १५ लाख रुपैयाँसम्म बुझाउनुपर्ने सम्बद्ध व्यापारी बताउँछन् । तर, पसल खुले पनि व्यापार चाहिँ नभएको व्यापारी दुखेसो पोख्छन् ।

दरबारमार्गमा ‘फेसन मन्त्र’ नामक बुटिक चलाइरहेकी रजनी राणा पछिल्लो केही समयदेखि व्यापार चलायमान नभएको बताउँछिन् । ‘दसैँ/तिहारमा पनि सोचेजस्तो व्यापार भएन,’ उनी भन्छिन्, ‘ आधा पनि व्यापार छैन ।’

राणाका अनुसार तिहारका लागि भन्दै फाट्टफुट्ट कपडा किन्ने त आइरहेका छन् । तर, त्यस्तो व्यापारले मात्रै सटर भाडा तिर्न सकिने अवस्था छैन ।

‘पार्किङको व्यवस्था नभएकाले पनि आफ्ना सवारीसाधनमा आउने यहाँ रोकिन पाउँदैनन्,’ उनी गुनासो गर्छिन्, ‘अब पैदल आउनेले मात्रै यहाँको व्यापार धान्न सक्ने कुरा हुँदैन । सटर भाडा नै तिर्न नसक्ने अवस्था आएपछि पसल खोल्नुले मात्रै कुनै औचित्य पनि राख्दैन । यही व्यापार नै मान्छेको रोजीरोटीको विषय हो । रोजीरोटी नचल्ने अवस्था आएपछि अर्को विकल्प खोज्नुपर्ने हुन्छ ।’

त्यस्तै दरबारमार्गकै अर्का एक व्यापारी आफ्नो नाम उल्लेख नगर्ने सर्तमा पार्किङको असुविधाका कारण व्यापार खस्किएको बताउँछन् ।

‘अहिलेको अवस्था नियाल्दा दरबारमार्गका सडक सवारीसाधन आवतजावत गर्ने माध्यममात्र बनेका छन्,’ उनी काठमाडौं महानगरपालिकाप्रति आक्रोशित हुँदै भन्छन्, ‘पोहोरभन्दा अहिलेको व्यापारमा धेरै नै गिरावट आयो । यही कारण नै भनेर भन्न सकिने अवस्था छैन । सामान किन्न आउने ग्राहकले पनि सामानको मूल्य सोध्ने र मूल्यअनुसारको पैसा तिर्न नसक्ने बताउँछन् ।’

उनले पनि पसलको मासिक भाडा ८ लाख रुपैयाँसम्म तिनुपर्ने बताए । ‘अहिले पछिल्लो दुई महिनामा मैले ३ लाख रुपयाँको मात्रै व्यापार गरेको छु । अब भाडा कसरी तिर्ने ?,’ उनले गम्भीर हुँदै भने, ‘अब भाडा तिर्न पनि महिनाको ५ लाख आफ्नै गोजीबाट हाल्नुपर्छ । घाटाको व्यापार गर्न सकिँदैन । मैले पनि अर्को विकल्पका लागि अध्ययन गर्दैछु । तपाईंले यहाँ जति पनि कमर्सियल भवनमा टु लेट देख्नुभएको छ नि, यसको मुख्य कारण नै यही हो ।’

दरबारमार्गमै ३० वर्षदेखि गरगहना पसल सञ्चालन गरिरहेका एक व्यापारी निराश मुद्रामा देखिन्थे । ३० वर्षको अनुभवमा पहिलोपटक यस्तो गम्भीर समस्या देखापरेको उनी सुस्तरी बताउँछन् ।

‘पछिल्लो समय आर्थिक मन्दीका कारण पनि गहनामा मानिसहरूको आकर्षण नबढेको हुन सक्छ,’ उनी भन्छन्, ‘तिहारको समय भएकाले फाट्टफुट्ट अर्डर त आएका छन् । तर, पछिल्लो तीन–चार महिनामा सोचेजस्तो व्यापार छैन । भूकम्प र कोरोना महामारीले पनि व्यापारलाई असर त गरेको थियो तर अहिलेजस्तो अवस्था आएको याद छैन ।’

पोहोरभन्दा यो वर्ष व्यापारमा उच्च घाटा बेहोर्नुपरेको उनी दुखी हुँदै बताउँछन् । ‘मेरो नाम नलेखिदिनुहोला है,’ उनको आग्रह थियो ।

०००

दरबारमार्ग विकास समिति अध्यक्ष सञ्जीव तुलाधर काठमाडौंको प्रमुख व्यापारिक केन्द्रको व्यापारमा गिरावट आउनु र व्यापारिक भवनहरू खाली हुँदै जानुको मुख्य कारण आर्थिक मन्दी नभई ‘पार्किङ’ हट्नु रहेको दाबी गर्छन् ।

धेरैजसो ग्राहक ‘दबारमार्गमा पार्किङ छैन’ भन्दै अन्यन्त्र किनमेल गर्न जान थालेको उनको भनाइ छ । ‘अब दरबारमार्गप्रति ग्राहकले गलत धारणा बनाइसके,’ अध्यक्ष तुलाधरले विकासन्युजसँग भने, ‘पार्किङको समस्या छ भनेर दरबारमार्ग आउने ग्राहकले अरू गन्तव्य रोज्न थालेका छन् । जसले गर्दा यहाँको व्यापारको आकार पनि सानो हुँदै गएको छ । धेरै व्यवसायी पलायन हुने अवस्थामा छन् । अहिले दरबारमार्गको व्यापार ५० देखि ६० प्रतिशत घटेको छ ।’

पहिला दरबारमार्गमा पार्किङ हुँदा व्यापार ७० देखि ८० प्रतिशत हुने गरेको तुलाधरको भनाइ छ । व्यापारमा कमी आएका कारण राजस्व पनि घटेको उनले बताए ।

दरबारमार्गमा पाँच लेनको सडक छ । ती लेनमध्ये दुई–दुई लेनमा गाडी आवतजावत गर्नुपर्ने र एक लेन पार्किङलाई दिनुपर्ने अध्यक्ष तुलाधरको भनाइ छ ।

‘पहिलेदेखि नै एक लेन चाहिँ पार्किङलाई भनेरै छुट्ट्याइएको थियोे,’ उनी भन्छन्, ‘काठमाडौं महानगरका मेयर बालेनजीले बुझेर पार्किङ हटाउनुभयो वा नबुझी हटाउनुभयो, त्यो थाहा भएन । तर, यही कारण दरबारमार्गका व्यापारीको बिजोग नै भयो । यसको अर्थ धेरैको रोजीरोटी र सरकारी राजस्वमा पनि असर गरेको छ ।’

पार्किङको विकल्पका लागि तुलाधर र उनको टिमले मेयर साहसँग बारम्बार अनुरोध गरिरहेको छ । ‘हामीले गरेको अनुरोधमा मेयरसाबका तर्फबाट कुनै जवाफ आएको छैन,’ अध्यक्ष तुलाधर निराश हुँदै भन्छन्, ‘अब त दरबारमार्गको व्यापारिक केन्द्रको ट्याग हट्ने निश्चितजस्तै भइसक्यो । तै पनि मेयर साबले कुरा बुझ्नुहुन्छ कि भन्ने झिनो आश भने बाँकी छ ।’

०००

काठमाडौं महानगरले २०७९ मंसिर दोस्रो साता दरबारमार्गका सडक छेउ हुँदै आएको गाडी तथा मोटरसाइकल पार्किङ हटाएको थियो ।

दरबारमार्ग मूलसडकका दुवैतर्फ पैदलयात्रीका लाग १०/१० फिटको सडक पेटी, कुल ७० फिट चौडाइको पाँच लेन सडकमध्ये एक लेन सवारी पार्किङमा प्रयोग भइरहेको थियो ।

दरबारमल १, दरबारमल २, अन्नपूर्ण होटललगायतमा भएको पार्किङ दरबारमार्गको व्यापारका लागि अपुग हुने अध्यक्ष तुलाधर बताउँछन् ।

अहिले दरबारमार्ग क्षेत्रको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ भएकाले महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्ने उनको माग छ ।

दरबारमार्ग सामान किनबेच गर्ने ठाउँमात्रै नभएको अध्यक्ष तुलाधरको तर्क छ । ‘दबारमार्ग व्यापारिक केन्द्रमात्रै नभएर मनोरञ्जन र पर्यटन गन्तव्य पनि हो,’ उनी भन्छन, ‘दरबारमार्गलाई सरकारले प्राथमिकतामा राख्नैपर्छ ।’

००००

पछिल्लो समय भाटभटेनी, सेल्सबेरी, बिगमार्टजस्ता आधुनिक र विकेन्द्रित मार्टको भने व्यापार बढेको छ र उपभोक्ताको आकर्षण पनि त्यतातिर बढेको देख्न सकिन्छ ।

भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार भाटभटेनी सुपरमार्केटले एक वर्षमा २९ अर्ब ७० करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २६ अर्ब ९३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

ठमेलमा पनि अधिकांश सटर बन्द

पछिल्लो समय पर्यटन गन्तव्य ठमेलको अवस्था पनि दरबारमार्गको जस्तै छ । अहिले ठमेलमा व्यापारिक भवनका दोस्रो तलादेखि माथिका अधिकांश सटर (कोठा) खाली देख्न सकिन्छ ।

ठमेलका घरधनीहरूले पनि २५ देखि ३० प्रतिशतसम्म छुट दिएर सटर भाडामा लगाउन चाहेका छन् । तर, पनि भाडामा लिने मान्छे पाउन मुस्किल देखिने उनीहरूको गुनासो छ ।

विगतमा दरबारमार्ग, ठमेल, न्यूरोड, पुतलीसडकमा सटर वा वा कोठाहरू लाखौं रुपैयाँ ‘सलामी’ लिएर किनबेच हुने गर्थे भने हाल त्यो पनि असम्भव देखिएको छ । यी ठाउँहरूमा कोरोना महामारीअघि व्यापारका लागि महँगै भाडा तिरेर व्यापार गर्न पनि व्यापारी पछि पर्दैनथे । अहिले घरधनीलाई पनि सटर खाली राख्नुभन्दा भाडा घटाएरै दिनुपर्ने दबाबजस्तै देखिन्छ ।

ठमेलमा अहिले पनि मासिक २० हजारदेखि ५० लाखसम्म घरभाडा बुझाउने व्यवसायी छन् । घरधनीले घरभाडा छुट दिए पनि ठमेलमा पसल, अफिस, रेष्टुरेन्ट बन्द हुने क्रम रोकिएका छैनन् । ठमेलका रात्रि क्लब पनि यसबाट प्रभावित नै छन् । उनीहरू फ्याट्टै व्यवसाय बन्द गरेर हिँडिहाल्ने अवस्थामा पनि छैनन् ।

ठमेलमा अहिले पर्यटक सिजन भए पनि व्यापार भने घटेको ठमेल पर्यटन विकास परिषदका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया बताउँछन् ।

‘अहिले ठमेल सिजनमै छ, अफ सिजन त होइन,’ पूर्वअध्यक्ष थपलिया भन्छन्, ‘पर्यटक आगमन सन्तोषजनक भए पनि व्यापार छैन ।’ अहिले व्यापारिक केन्द्र ठमेलको दोस्रो, तेस्रो तलामात्र नभई भुइँतला पनि खाली हुँदै गएको उनी बताउँछन् ।

अहिले विश्व नै आर्थिक मन्दीमा रहेकाले नेपाल त्यसबाट अछुतो रहन नसकेको थपलियाको भनाइ छ । ‘हामीकहाँ म्यानपावर कम छ । यहाँका जनशक्ति कुनै एउटा पसलमा आएर काम गर्छन्, केही समयपछि विदेश पलायन भइहाल्छन्,’ उनी भन्छन्, ‘अर्को कुरा, तलब समयमा हुँदैन । सञ्चालकले आम्दानी नभएपछि नियमित तलब दिन सक्दैन । अब सञ्चालक नै पलायन हुने अवस्था आइसक्यो ।’

अहिले पर्यटक सिजन भए पनि विगतकै दाँजोमा आम्दानी नभएको उनको भनाइ छ । ‘हामीले विभिन्न स्किम ल्याएर व्यापार बढाउन पनि नखोजेका होइनौं,’ थपलिया थप्छन्, ‘तर, कुनै परिवर्तन भएन । के नपुगेर परिवर्तन भएन भन्नेमा हामीले समीक्षा पनि गर्न खोजेनौं ।’

ठमेलको व्यवसाय धान्न पर्यटक संख्या नै बढाउनुपर्ने पूर्वअध्यक्ष थपलिया बताउँछन् । ‘पर्यटक नै आएनन् भने ठमेलको सटर स्वदेशी पर्यटकबाट एकदमै कम चल्छ,’ उनी भन्छन्, ‘नेपालीले पनि खर्च गर्न नसक्ने भन्ने त छैन । तर, सामान्य खाना खाने, सपिङ गर्नेले मात्रै ठमेल चल्न निकै गाह्रो छ ।’

अहिले ठमेलमा स्वदेशी र विदेशी पर्यटक संख्याबराबरजस्तै भएको पूर्वअध्यक्ष थपलिया बताउँछन् । ‘ठमेलमा नेपालकै महँगो घरभाडा छ । हिजोको दिनमा राम्रो व्यापार थियो । व्यापार राम्रो भएकाले व्यापारीलाई पनि चल्न सहज थियो,’ उनी भन्छन्, ‘एउटा व्यापारीले व्यवसाय छाडिहाले पनि अर्को तुरुन्तै आएर व्यापार सुरु गरिहाल्थ्यो । अहिले व्यापार शून्य र भाडा चर्को हुनाले धमाधम व्यवसायी सटर छाड्न बाध्य छन् ।’

हाल बैंकले सहजै लगानी नगरेकाले व्यापारीहरू मारमा परेको पनि थपलिया बताउँछन् । ‘धेरै बैंकले ऋण दिएका छैनन्,’ उनी भन्छन्, ‘ऋण दिए पनि ब्याज तिर्न सक्ने व्यापारीको अवस्था छैन । बैंकले असुल नगरी छाड्दैन ।’

पछिल्लोपटक मुलकमा आयात परिमाण बढेको छ भने उपभोक्ता खपत पनि सोहीअनुसार बढिरहेको छ । तर, राजधानी सहरका प्रमुख व्यापारिक केन्द्रमा रहेका अधिकांश सटरको व्यापार कम भएको थपलिया बताउँछन् ।

००००

सन् १९९५ मा विश्वव्यापीरूपमा इन्टरनेट सुरुवात भएपछि संसारभरि अनलाइनबाट हुने व्यवसाय सुरु भएको थियो । विश्वबजारमा अमेजनजस्ता ठूला अनलाइन सपिङ प्लेटफर्म कम्पनीले आफ्नो बजार स्थापना गरेपछि पछिल्लो दशकमा नेपालमा पनि ई–कमर्स फस्टाएको छ ।

नेपालमा पनि मार्केटप्लेसका रूपमा दराज, हाम्रो बजार, सस्तो डिल, युवामञ्च डटकमजस्ता प्लेटफर्महरूले व्यापारको परिचयमा नयाँ आयाम थपेका छन् ।

पसलसम्म गएर सामान खरिद गर्ने ग्राहक यतिबेला ई–कमर्स कम्पनीका मोबाइल एप र वेबसाइटमा सामान रोज्ने र आफूले खोजेजस्तो ब्राण्ड र मूल्यमा सहजै अर्डर गर्न पाइने भएपछि अनलाइन सपिङमा ग्राहकको आकर्षण नजानिँदो पारामा बढिरहेको छ ।

पछिल्लो समय विश्वप्रख्या सामाजिक सञ्जाल एपहरू टिकटक, फेसबुक र इन्स्टाग्राम पनि आफ्ना व्यवसायको विज्ञापन गर्ने राम्रो माध्यम बनेका छन् । टिकटक, फेसबुक, इन्स्टाग्राम वा कम्पनीको वेबसाइट नै बनाएर पनि व्यवसाय भइरहेका छन् ।

साना–साना खुद्रा पसल, कपडा पसल, जुत्ता, ब्याग, कस्मेटिक, ब्युटीपार्लर, बुटिक, गरगहना पसल, रेस्टुरेन्ट, सामान्य खाजा खाने पसल, नर्सरीदेखि ठमेल, दरबारमार्ग, न्यूरोड, बानेश्वरजस्ता व्यापारिक केन्द्रमा करोडौं लगानीमा खुलेका ठूला पसल, मल, सपिङ कम्प्लेक्समा रहेका पसलहरूले टिकटक, फेसबुक, इन्स्टाग्राम वा अन्य सामाजिक सञ्जालमार्फत व्यापार गर्दै आएका छन् ।

यस्ता सामाजिक सञ्जालमा आफ्नै एकाउन्ट वा ह्यान्डल खोलेर भिडियोमार्फत सामान बेच्न धेरै नै सजिलो भएको छ । अनलाइन सपिङ गर्न रुचाउने ग्राहक वा उपभोक्ताले व्यापारी तथा पसलका त्यस्ता एकाउन्ट वा ह्यान्डललाई चौबिसै घन्टा पछ्याइरहेका हुन्छन् ।

नयाँ सामान वा नयाँ उत्पादन बजारमा ल्याउनुपरे त्यस्ता व्यापारिक एकाउन्ट वा ह्यान्डलबाट सार्वजनिक हुने गरेका छन् । जसले गर्दा कुनै पनि सञ्चारमाध्यम (टेलिभिजन, पत्रपत्रिका, अनलाइन समाचार पोर्टल) मा महँगो रकम तिरेर विज्ञापन गर्नु पनि नपर्ने हुँदा व्यापारीलाई राम्रै फाइदा हुने गर्छ ।

त्यतिमात्र होइन, यसरी सामाजिक सञ्जाल फेसबुक, टिकटक वा इन्स्टग्राम जेबाट आफ्ना सामान वा उत्पादनबारे भिडियो सार्वजनिक गर्नासाथ एकैपटक हजारौं, लाखौं वा करोडौं ग्राहकमाझ पुग्ने गर्छ । त्यस्ता भिडियोमा सामान खरिद अर्डर गर्नका लागि सम्पर्क ठेगाना, मोबाइल वा ल्यान्डलाइन टेलिफोन नम्बर दिइएको हुन्छ ।

यसबाट ग्रााहकलाई पनि कति सजिलो भएको छ भने सामान किन्न बजार गइरहनै पर्दैन, जसबाट समयको बचत छँदैछ, यातायात खर्च पनि जोगिन्छ । ग्राहकले त्यही भिडियोमा हेरेर आफूलाई मनपर्ने सामान खरिद अर्डर गर्न सक्छन् । प्रविधिले त्यसमाथि यति सजिलो बनाइदिएको छ कि सामान खरिद अर्डर गरेपछि पैसा पनि सिधै अनलाइनमार्फत तिरे हुन्छ ।

ग्राहकले आफूलाई मनपरेका लुगा, जुत्ता, कस्मेटिक, घडी, ब्याग, सारी, कुथौ, पाइन्ट, सर्ट, टिसर्ट वा अन्य जुनसुकै सामान अर्डर गरेको केही समयमै घरमै आइपुग्छ । कुनै नाम चलेकै रेस्टुरेन्ट होस् वा सामान्य खाजा पसल वा ठूलै होटलबाट आफूलाई मन लागेको खानेकुरा मगाउन पनि सिधै अनलाइबाट सकिन्छ । प्रविधि र सामाजिक सञ्जालले ग्राहकलाई धेरै नै सहज बनाइदिएका छन् ।

बजारमा आर्थिक मन्दी या विविध कारण सटरहरू खाली गर्नुपर्ने बाध्यता आइलाग्दा पसल छाड्न बाध्य भइरहेका व्यापारीहरूले यी माध्यममबाट पनि आफ्नो व्यापारलाई अगाडि बढाइरहेको पनि देख्न सकिन्छ ।

महँगो सलामी दस्तुरका कारण व्यापारिक केन्द्रका मुख्य सडकमै सटर भाडामा लिन नसक्ने अवस्था भएपछि व्यापार गर्न चलाखी गर्नेहरूले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको व्यापक उपयोग गरिरहेका छन् । उनीहरू मुख्य सडकमा पसल नराखी भित्री सडकमा स्टोर खोलेर राम्रै आँकडामा व्यापार गरिरहेका छन्, तर यसमा सबै तिनै अनलाइन प्लेटफर्मको उपयोग भइरहेको छ ।

सीमित खर्च, सीमित स्रोत र सीमित साधनबीच कसैले कुनै नयाँ व्यवसाय सुरुवात गर्छु भन्ने सोच बनाएमात्र हुने वातावरण पछिल्लोपटक प्रविधिमा भएको विकासले तयार पारिदिएको छ । अहिलेका यस्ता डिजिटल प्लेटफर्मले पनि सानादेखि ठूला आकारका व्यापार गर्न राम्रै साथ दिइरहेका छन् ।

संघीय राजधानीमात्र नभई मुलुकका धेरै सहरबजारका सटर खाली हुँदै गएका देखिन्छन् । यसको प्रमुख कारण महँगो भाडा वा महँगो सलामी दस्तुर रहेको व्यवसायी बताउँछन् । त्यसमाथि पछिल्लो दशक त अनलाइन सपिङको बढेदो क्रेजले त्यस्ता व्यापारिक केन्द्रका सटरमा टु–लेट (भाडामा छ) लेखिएका बोर्ड झुन्ड्याइनु अब नौलो नहुने अवस्था सिर्जना भइसकेको दरबारमार्गका एक व्यापारीले बताए ।

संघीय राजधानी काठमाडौंको कुरा गर्दा विगतमा असन, इन्द्रचोक, भोटाहिटी, न्यूरोड, दरबारमार्ग, ठमेल, नयाँबानेश्वरलगायत मात्र बजारका रूपमा चिनिन्थे । तर, अहिले बजार धेरै नै विस्तार भइसकेको छ । चक्रपथ (रिङरोड) क्षेत्र वरपार र त्यसभन्दा बाहिर पनि प्रशस्त बजार खुलेका छन् । त्यसको असरले पनि मुख्य बजारमा व्यापार घटेको व्यापारीको अनुभव छ ।

रिङरोड बाहिर पनि भाटभटेनी, बिगमार्ट, केके मार्टजस्ता ठूला सपिङ मलहरू भटाभट खुल्न थालेपछि व्यापारिक केन्द्रमा महँगो भाडामा सटर लिएर बसेका व्यापारीको लगभग बिचल्ली भएको छ भन्दा अतिशयोक्ति नहोला ।

त्यसमाथि संघीयतासँगै प्रदेश मुकाम र पालिका मुकाममा नयाँ बजार बसेका छन् । त्यसले पनि मुख्य बजार सुनसान बनाउन सहयोग पुगेको छ ।

सम्बन्धित शिर्षक
सहरमा व्यापार बढेकै छ, घटेको सटरमा मात्र हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.