२०८० मंसिर ४ गते १५:३३ विकासन्युज
एजेन्सी । अनेक प्रयास गर्दा पनि पाकिस्तानको अर्थतन्त्रमा सुधार आएको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोग होस् वा काम चलाऊ सरकारको प्रयास होस्, उनीहरूले जनतालाई महँगी (मुद्रास्फीति) को भुंग्रोबाट बाहिर निकाल्न सकेका छैनन् ।
सरकारले जारी गरेको पछिल्लो तथ्यांक हेर्दा पाकिस्तानमा अल्पकालीन मुद्रास्फीति ४२ प्रतिशत उचाइमा पुगेको छ । ग्यासको मूल्य मुद्रास्फीतिले सबैभन्दा बढी मारमा परेको छ र गत वर्षको तुलनामा ११ सय प्रतिशतले महँगो भएको छ ।
डनको रिपोर्टअनुसार पाकिस्तानको छोटो अवधिको मुद्रास्फीति ४२ प्रतिशतमा रेकर्ड गरिएको छ, जुन पछिल्लो चार महिनामा सबैभन्दा उच्च हो।
प्रत्येक हप्ता जारी हुने छोटो अवधिको मुद्रास्फीतिको तथ्याङ्कले पाकिस्तानको अवस्था अझै खराब रहेको स्पष्ट पार्छ।
ग्यासको मात्रै नभई अन्य खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र जनताको पहुँचभन्दा बाहिर बन्दै गएको छ । जसमा पिठो, चिनी, चिया, कुखुरा, चामललगायत अत्यावश्यक वस्तुको मूल्य हप्तादिनै बढिरहेको छ ।
पाकिस्तान ब्यूरो अफ स्ट्याटिस्टिक्स (पीबीएस) द्वारा जारी छोटो अवधिको मुद्रास्फीति दर तथ्याङ्कअनुसार पाकिस्तानको मुद्रास्फीति दर नोभेम्बर १६ मा समाप्त भएको हप्तामा ४१.९ प्रतिशत रेकर्ड गरिएको थियो।
पाकिस्तानमा ग्यासको मूल्य १ हजार १ सय प्रतिशतले बढेको छ भने चुरोटको मूल्य ९४।५ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा गहुँको पिठो ८६।४ प्रतिशतले महँगो भएको छ भने टुक्रे बासमती चामलको मूल्य ७६।७ प्रतिशतले बढेको छ ।
यसबाहेक खुर्सानीको धुलोमा ८१.७ प्रतिशत, चियामा ५४.६ प्रतिशत र गुँद र चिनी क्रमशः ५१ र ५० प्रतिशतले महँगो भएको छ ।
पीबीएसको तथ्यांक हेर्दा गत साताको तुलनामा पाकिस्तानमा २५ अत्यावश्यक वस्तुको मूल्य बढेको छ भने दैनिक उपभोग्य १३ वस्तुको मूल्य घटेको देखिन्छ ।
साता अवधिमा मूल्यवृद्धि भएका सामानमध्ये ग्यासको मूल्य ४ सय ८० प्रतिशत, चियाको प्याकेटमा ८.९ प्रतिशत, कुखुराको मासु ४ प्रतिशत, नुनको धूलो २.९ प्रतिशत, गहुँको पिठोमा २.६ प्रतिशत र आलुको मूल्य २ प्रतिशतले बढेको छ ।
यसविपरीत प्याजको मूल्य सबैभन्दा बढी ३६ प्रतिशतले घटेको छ भने टमाटर १४ प्रतिशत, तोरीको तेल ४ प्रतिशत र घ्यु २ प्रतिशतले सस्तो भएको छ ।
उल्लेखनीय यो छ कि वार्षिक आधारमा एसपीआई मुद्रास्फीति २०२३ सुरुमा ४८.३५ प्रतिशतको रेकर्ड स्तरमा पुगेको थियो। तर, त्यसपछि भने यसमा गिरावट आएको थियो ।
लामो समयदेखि मुद्रास्फीति मारमा परेका पाकिस्तानी जनतालाई देशको कार्यवाहक सरकारले एकपछि अर्को गर्दै अनेकौं झट्का दिएको छ । यसै महिना सुरुमै अर्थात मंसिर १ गते सरकारले ग्यासको मूल्य १ सय ९४ प्रतिशतले बढाएको सूचना जारी गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.