२०८० मंसिर ४ गते १७:१६ राजिव न्यौपाने
काठमाडौं । यस वर्षको दशैं/तिहारमा ठूला सवारी साधनको व्यापार उल्लेख्य रूपमा वृद्धि भएको छ । लामो समयसम्म कोरोना महामारी, अर्थतन्त्रसको सुस्तता र आयातमा गरिएको कडाइले मारमा परेको अटोमोबाइल्स क्षेत्रलाई थोरै भए पनि चाडपर्वले राहत मिलेको हो । अटो व्यवसायीहरू दशैं/तिहारमा गाडीकाे व्यापार वृद्धि हुँदा केही राहत महसुस भएको बताएका छन् ।
नाडा अटोमोबाइल्स एशोसिएसन नेपालका अध्यक्ष ध्रुब थापाले चाडपर्वको समयमा चार पाङग्रे सवारीको व्यापार सन्तोषजनक भएको बताएका छन् । उनका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्षको दशैं/तिहारमा ठूला सवारी साधनको व्यापार बढेको हो ।
‘विगतको तुलनामा यसपटकको दशैं/तिहारमा ‘प्यासेन्जर सेग्मेन्ट’का गाडीहरूको बिक्रीमा वृद्धि भएको छ, गाडी बिक्री हुँदा अटो व्यवसायीहरू पनि खुसी हुनु भएका छन्,’ उनले भने ।
उनका अनुसार यसपटकको चाडपर्वमा दोब्बरले व्यवसाय बढेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीको तुलनामा विद्युतीय सवारी साधनहरू बढी बिक्री भएको उनको भनाइ छ ।
‘नेपालमा ईभीको व्यापार राम्रो छ, यसपटकको चाडपर्वमा ईभीकै सवारी बढी बिक्री भएका छन्,’ उनले विकासन्युजसँग भने, ‘चाडपर्वले गर्दा इन्धनबाट चल्ने सवारीको बिक्री पनि बढेको छ, गाडीका शोरुममा गाडी बुक गर्ने तथा बुकिङको गाडी डेलिभरी गर्ने कार्य कम्पनीहरूबाट भइरहेको छ ।’
अटो बजारलाई नाडा अटो शोले चलायमान गर्न मद्दत पुर्याएको थापाको भनाइ छ ।
दशैं तिहारमा चार पाङग्रे सवारीको बिक्री बढ्दै गर्दा कमर्सियल भेहिकल तथा दुई पाङग्रे सवारीको बिक्री भने गिरावट आएको उनको भनाइ छ । उनका अनुसार दुई पाङग्रे सवारीको बिक्री दर ५० प्रतिशतले घटेको छ ।
नेपालबाट बढ्दो संख्यामा युवा विदेसिएकोले मोटरसाइकल चढ्ने मान्छे घट्दै गएको र व्यापार पनि घटेको हुन सक्ने उनको विश्लेषण छ । उनका अनुसार विगतको तुलनामा अहिले ईभीका दुई पाङग्रे सवारीको व्यापार केही मात्रामा कम छ ।
यसअघि गाडी व्यापारले सुस्त बनेका व्यवसायीहरू चाडपर्वमा भएको गाडी खरिदबिक्रीले हौसिएका हुन् । अहिले गाडीको विभिन्न सोरूमहरूमा नयाँ सवारी साधन खरिद गर्नेहरूको संख्या बढ्दा व्यवसायीहरू खुसी भएका हुन् ।
सुजुकी गाडीको बिक्रेता कम्पनी नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप कुमार बरालले दशैं/तिहारमा गाडीको व्यापार राम्रो भएको सुनाउँछन् । ‘गाडीको व्यापार हुँदै नभएको अवस्थाबाट अहिले राम्रो देखिन्छ, यसले हामीलाई सकारात्मक सन्देश प्रवाह गरेको छ, विगत २ वर्ष देखिको शून्य सेल्सलाई दशैं/तिहारले खुसी प्रदान गरेको छ,’ उनले भने ।
दशैं/तिहारमा सुजुकी गाडीको व्यापार पनि सन्तोषजनक भएको बरालको भनाइ छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले सहजै ऋण प्रदान गरेकोले पनि गाडीको व्यापार बढेको हुन सक्ने उनको तर्क छ ।
यस्तै, नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटका सेल्स म्यानेजर महेन्द्र श्रेष्ठले दशैं/तिहारमा टोयोटा गाडीको बिक्री सामान्य नै रहेको सुनाए ।
‘अहिले बजारमा ईभी गाडीको बाहुल्यता बढी छ, इन्धनबाट चल्ने गाडीको भन्दा कम मूल्यमा ईभी पाइन थालेको छ जसले इन्धनबाट चल्ने गाडीको व्यापारमा धक्का दिएको छ, तथापि, दशैं/तिहारमा टोयोटाको गाडीको बिक्री अवस्था राम्रो नै रह्यो,’ उनले भने ।
श्रेष्ठले दशैं/तिहारमा आफ्नो कम्पनीको करिब ४०/४५ वटा गाडी बिक्री भएको बताए । ‘गाडीको मूल्य फरक-फरक हुन्छ, एउटै गाडी करोडौं रुपैयाँ पर्छ, त्यसले गर्दा दशैं–तिहारमा ८०/८५ करोड रुपैयाँको कारोबार भयो,’ उनले भने ।
नेपालका लागि टाटा माटर्सको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिंगले पनि राम्रै व्यापार भएको बताएको छ । कम्पनीका अनुसार दशैं/तिहारमा टियागो ईभी गाडीको बिक्री राम्रै भएको छ ।
कम्पनीले दशैं/तिहारमा नेक्सन ईभी एक्स जेड प्लस तथा अन्य मोडलका गाडीको बिक्री उल्लेखनीय भएको बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.