बैंक मर्जरले मर्कामा परेका बैंकर्स

  २०८० मंसिर ५ गते १५:५६     विकासन्युज

काठमाडौं । वर्षौंदेखि संघर्ष गर्यो । संघर्षले सफलता पनि हात लाग्यो । त्यही सफलताको स्वाद चाख्नै लाग्दा त्यो पदबाट बाहिरिनुको बाध्यता, पीडा र सकस कस्तो हुन्छ होला ? एउटा संस्थालाई सुरूवाती दिनदेखि हुर्कायो, सानो संस्थाबाट देशभर शाखा सञ्जाल फैलायो, काम गर्ने कर्मचारीहरूलाई दक्ष बनायो अनि तिनै सहकर्मी साथीहरूको साथ एक्कासी छोडेर जाँदा कसको मन नदुख्ला ?

अहिले बैंकिङ क्षेत्रमै यो परिस्थिती सिर्जना भएको छ । वर्षौंदेखि मेहनत गरेर बैंकमा जागिर खायो । जागिरपछि पनि बैंकले दिएको एकपछि अर्को ‘टार्गेट मिट’ गर्नुपर्ने दबाब, त्यो सकसकाबीच बढुवा भएर माथिल्लो पदमा पुग्यो । तर, माथिल्लो पदमा पुगेको केही वर्षमै काम छोड्नु पर्ने बाध्यता अहिले बैंकिङ क्षेत्रमा व्याप्त छ ।

बैंक तथा वित्तीय संस्थाहरूको नियामक नेपाल राष्ट्र बैंकले मर्जरको नीतिअघि सारेसँगै वित्तीय क्षेत्रमा कार्यरत ठूलो जनशक्ति बेरोजगार बन्न पुग्यो । यो बिचमा धेरै बैंकरहरू विदेसिए । कतिले आफ्नै व्यवसाय सुरु गरे भने कति बेरोजगार नै बस्नु पर्ने बाध्यतामा छन् । ठूलो जनशक्ति मर्जरको मर्कामा परेको छ ।

दुई संस्था मर्जरपछि ठूलो संस्थाका कर्मचारीले सानो संस्थाका कर्मचारीलाई गर्ने व्यवहारले धेरैको मन दुख्छ । मर्जरकै चपेटामा परेर बैंकिङ छोडेका एक पूर्व बैंकरले नाम नराख्ने सर्तमा भने, ‘बाहिर देख्दा बैंकर भनेर चिन्छन्, भित्र काम गर्दाको पीडा सौतेनी व्यवहारझैं हुन्छ, ठूलो संस्थाले सानो संस्थाका कर्मचारीलाई गर्ने व्यवहार असह्य भए पनि काम गर्नै पर्ने बाध्यतामा धेरै बैंकर छन्,’ उनले प्रश्न गर्दै गुनासो गरे तर, ती बैंकरको पीडा कसले सुनिदिने ?’

ती बैंकरकोजस्तै अनुभव अहिले धेरै बैंकरले गरेका छन् । त्यस्तै व्यवहारले कतिपयका सम्बन्धहरू टुटेका छन्, मनहरू फाटेका छन् । तर, विवश भएर काम गर्नु पर्ने बाध्यतामा उनीहरू छन् । कतिपय बैंकर त्यो सकस र त्यो पीडा सहन नसकेर बिचमै काम छोडेर बाहिरिएका छन् भने कतिपय त्यो हेपाई सहेर काम गर्नु पर्ने बाध्यतामा छन् ।

कर्मचारी मात्रै होइन बैंकको उच्च तह अर्थात् प्रमुख कार्यकारी अधिृकत (सीईओ) भएर काम गर्दै गरेका व्यक्ति सोही पीडा सहन नसेर बाहिरिएका छन् । उनीहरू पनि मर्जरको मर्कामा परेका छन् । ठूलो संस्थामा कार्यरत कर्मचारीहरूको व्यवहारसँगै बोर्डको दबाब सहन नसकेर पद त्याग्दै घर फर्केका छन् । आज हामी ती बैंकर्स जो मर्जरपछि पद त्यागेर घर फर्के, उनीहरूको विषयमा चर्चा गर्दैछौं ।

रमेशराज अर्याल

कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका रमेशराज अर्याल केही दिनअघि मात्रै बैंकबाट बिदा भए । उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै सीईओबाट राजीनामा दिएको बताए पनि भित्री कथा भने बेग्लै भएको बैंक स्रोतको भनाइ छ । भित्री कहानी जेजस्तो भए पनि उनको बहिर्गमन भने दुःखदायी र नमिठो बन्यो ।

तत्कालीन एनसीसी बैंकमा दुई कार्यकाल सीईओ भएर काम गरिसकेका उनी कुमारी बैंकसँग एनसीसी मर्जर भएपछि पनि उनी नै कुमारी बैंकको सीईओ नै बने । मर्जरपछि बनेको कुमारी बैंकमा अनुभवी बैंकर अर्यालको नेतृत्वले थप उचाइ हाँसिल गर्ने अपेक्षा धेरैको थियो । तर, त्यो अपेक्षा पुरा नहुँदै उनले बैंकबाट बाहिरिनु पर्यो ।

उनले एनसीसी बैंकमा तीन दशक लामो समयसम्म काम गरे । साढे तीन दशक बढी बैंकिङ अनुभव भएका उनले वि.स २०७२ देखि एनसीसी बैंकको नेतृत्व पनि गरे । तर, उनी मर्जरको चपेटामा परे । उनको नेतृत्वको कुमारी बैंकमा आन्तरिक कलह बढेपछि उनले बैंकबाट बिदा हुनु पर्यो । अहिले कुमारी बैंकको नेतृत्व रामचन्द्र खनालले गरिरहेका छन् ।

सुमन शर्मा

बैंक बिग मर्जरको मर्कामा परेका अर्का एक अनुभवी बैंकर हुन सुमन शर्मा । नेपाली बैंकिङ क्षेत्रमा शर्माको नाम पनि अग्रणी रूपमा आउँछ । तर, उनलाई पनि बैंक मर्जरले बेरोजगार बनायो । वि.सं २०७७ माघमा तत्कालीन सनराइज बैंकको सीईओ बनेका उनी सनराइज बैंक लक्ष्मी बैंकसँग मर्ज भएपछि शर्मा बैंकबाट नै बाहिरिए । उनलाई बैंकले मर्जरपछि बन्ने लक्ष्मी सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिृकत बनाउने प्रस्ताव गरेपनि उनले सो प्रस्तावलाई अस्वीकार गर्दै बैंकबाट नै बिदा भए ।

करिब साढे तीन दशक बैंकिङ अनुभव भएका शर्माले माछापुच्छ्रे बैंकमा पनि सीईओ भएर काम गरे । तर, सनराइज बैंकको सीईओका लागि अफर आएपछि उनी २१ महिनामै पदबाट राजीनामा दिएर माछापुच्छ्रे बाट सनराइजको सीईओ बन्न पुगेका थिए । तर, कार्यकाल पुरा गर्न नपाउँदै उनले सनराइजमा पनि बिचमै हात धुनु पर्यो । उनले अब अध्ययन/अध्यापनमा व्यस्त हुने बताएका छन् । उनीसँग ग्लोबल आइएमई, नेपाल एसबिआई र एनएमबि बैंकमा पनि काम गरेको अनुभव छ । शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता समेत हुन् ।

श्रवणलाल मास्के

बैंकर श्रवणलाल मास्केका लागि पनि बिग मर्जर फलामको चिउरा बन्यो । तत्कालीन बैंक अफ काठमाण्डूको सीईओ भएर काम गरिरहेका उनी सो बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि उनी वरिष्ठ डीसीईओ बने । तर विडम्बना, डीसीईओ बनेको ७ महिनामै उनी बैंकबाट बाहिरिए । उनले पनि आफ्नो स्वास्थ्य अवस्था कारण देखाउँदै राजीनामा दिए पनि ग्लोबल आइएमई बैंकमा आफ्नो भूमिका नदेखिएपछि बाहिरिएको बैंक स्रोतको दाबी छ । बैंकिङ क्षेत्रमा साढे तीन दशक समय बिताएका उनको बहिर्गमन पनि नमिठो बन्यो ।

मास्केले नबिल बैंकबाट बैंकिङ करिअर सुरु गरेका हुन् । उनले नबिल बैंकमा २१ वर्ष, लुम्बिनी बैंकमा १० वर्ष र बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक)मा ७ वर्ष काम गरेर बैंकिङबाट बाहिरिए । मास्केले बिकमसम्मको अध्ययन पुरा गरेका छन् ।

सुनिल पोखरेल

तत्कालीन सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि सीईओको रूपमा काम गरिरहेका सुनिल पोखरेल नेपाली बैंकिङ क्षेत्रबाटै बाहिरिए । उनलाई हिमालयन बैंकको डीसीईओ बनाउने प्रस्ताव गरे पनि उनले त्यो प्रस्ताव अस्वीकार गर्दै बैंक छाडे । पछि सिभिल बैंकबाट हिमालयनमा जाने कर्मचारीमध्येबा सिनियर बने सचिनजंग रायमाझी । तर, रायमाझीका लागि पनि हिमालयन फापेन । उनी पनि केही महिनापछि हिमालयन बैंक छाड्न बाध्य भए ।

सिभिल बैंक छाडेपछि पोखरेल हाल पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंकको सीईओ भएर काम गरिरहेका छन् भने रायमाझी पनि पछि सोही बैंकमा काम गर्न गए । पोखरेल र रायमाझीका लागि मर्जर मर्का बन्यो । नेपाली बैंकिङ क्षेत्रका सम्भावित दुई बैंकर विदेशी बैंकमा गएर काम गर्न बाध्य भए । त्यो मर्जरले उनीहरूका लागि विदेशी बैंकमा काम गर्ने अवसर मिले पनि मर्जरकै कारण बैंक छोड्नु परेको पीडा भने स्वयम् पोखरेल र रायमाझीलाई थाहा छ । यसअघि पनि म्यानमारको युनाइटेड अमरा बैंक र एजीडी बैंकमा काम गरिसकेका पोखरेललाई धेरैले विदेशी बैंकिङ सम्बन्धि राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिन्छन् ।

अनुपमा खुञ्जेली

नेपाली बैंकिङ क्षेत्रको पहिलो महिला सीईओको परिचय बनाएकी अनुपमा खुञ्जेलीलाई धेरैले ठूलो सम्भावना भएको ‘लेडी बैंकर’ को रूपमा हेरेका थिए । तर, उनले पनि बैंक मर्जरको पीडा भोग्नु पर्यो । मेगा बैंकको सीईओ भएर काम गरिरहेकी खुञ्जेलीले बैंकमा दोस्रो कार्यकालका रूपमा दोहोरिन खोजे पनि बैंक सञ्चालक समितिले उनको दोस्रो कार्यकाल नथप्ने निर्णय गरेपछि उनी बिचमै राजीनामा गरेर बैंकबाट बाहिरिन् ।

मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा थियो । त्यसैले पनि बैंक् सञ्चालक समितिले उनलाई दोहोर्याउन नखोजेको हो । करिब तीन दशक लामो समय बैंकिङ क्षेत्रमा बिताएकी खुञ्जेलीले तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन् ।

मनोज न्यौपाने

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका मनोज न्यौपाने अहिले प्रभु बैंकको वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन् । युवा पुस्ताका सफल बैंकरको परिचय बनाएका उनलाई पनि मर्जरकै कारण डीसीईओमा चित्त बुझाउनु पर्ने बाध्यता आयो । दुई दशक बैंकिङ अनुभव भएका न्यौपानेलाई धेरैले अब प्रभु बैंकको सीईओका रूपमा हेरेका छन् । प्रभु बैंकका सीईओ अशोक शेरचनको कार्यकाल सकिएपछि न्यौपाने नै सीईओ बन्ने लाइनमा देखिन्छन् ।

तत्कालीन लक्ष्मी बैंकबाट बैंकि करिअर सुरु गरेका न्यौपानेसँग हिमालयन र तत्कालीन सनराइज बैंकमा पनि काम गरेको अनुभव छ । उनले काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

भुपेन्द्र पाण्डे

तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकका सीईओ भुपेन्द्र पाण्डे सो बैंक नबिलमा गाभिएपछि उनी पनि नबिलको डीसीईओ बने । युवा पुस्ताका बैंकरमध्ये उनलाई पनि ठूलो सम्भावना भएको बैंकरका रूपमा चिनिन्छन् । एनबी बैंकमा जानुअघि उनी नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को डेपुटी सीईओ थिए । एनबी बैंकको सञ्चालक समितिले उनलाई सीईओ बनाउने योजनाका साथ नियुक्त गरेको थियो । र, सीईओ पनि बने । तर, सीईओ बनेको केही महिनामै बैंक नबिलसँग गाभियो र उनी पनि नबिल बैंकको डीसीईओ बने । विडम्वना, सीईओ बनिसकेका पाण्डे अहिले नबिल बैंकमा पाँचौं वरियतामा छन् ।

राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनी लामो समयसम्म सोही बैंकको विभिन्न पदमा रही काम गरे । निफ्रा खुलेपछि उनी त्यहाँ डीसीईओको रूपमा प्रवेश गरे । सञ्चालक समितिले निफ्राको नयाँ सीईओमा रामकृष्ण खतिवडालाई भित्र्याएपछि उनी असन्तुष्ट हुँदै एनबी बैंक पुगेका थिए । त्यहाँ पनि उनले लामो समय काम गर्न सकेनन् र अन्ततः नबिल बैंकको डीसीईओकै रूपमा काम गर्न बाध्य भए ।

अनलराज भट्टराई

कमर्स एन्ड ट्रस्ट बैंक ग्लोबल आइएमई बैंकसँग मर्जर भएपछि सीईओका रूपमा काम गरिरहेका अनलराज भट्टराई पनि बैंकिङ क्षेत्रबाटै बिदा भए । त्यतिबेला उनले बैंक छाड्न नै खोजेको धारणा राखे पनि उनी पनि मर्जरको मर्कामा परे । धेरैले मर्जरकै कारण उनी बेरोजगार भएका टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.