सर्वोत्तम सिमेन्टमा ३६ लाख कित्ता सेयर माग, कट अफ मूल्य ४०१ नजिक

  २०८० मंसिर ११ गते १०:४८     विकासन्युज

काठमाडौं । पहिलो पटक बुक बिल्डिङमार्फत् निष्काशन गरिएको सर्वोत्तम सिमेन्टको आईपीओमा ३६ लाख कित्ता सेयरका लागि आवेदन परेको छ । सोमबार बिहान ८ बजे खोलिएको बोलपत्रमा ४१ वटा योग्य संस्थागत लगानीकर्तारूले ३६ लाख १९ हजार १९० कित्ता सेयरका लागि आवेदन दिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

साथै, नेप्सेका अनुसार बोलपत्र पेश गरेका संस्थागत लगानीकर्ताहरूमध्ये सबैभन्दा बढी मूल्य प्रतिकित्ता ४०६ रुपैयाँसम्म परेको छ । कुमारी क्यापिटल र कुमारी क्यापिटलले संचालन गरेका २ वटा म्युचुअल फण्डले सबैभन्दा ४०६ रुपैयाँमा बोलपत्र पेश गरेको नेप्सेले जनाएको छ । कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ता सेयरका लागि बोलपत्र पेश गरेका छन् ।

यस्तै, नागरिक लगानी कोषले प्रतिकित्ता ४०५ रुपैयाँमा ४ लाख कित्ता सेयरका लागि बोलपत्र पेश गरेको छ । नेप्सेका अनुसार अधिकांश योग्य संस्थागत लगानीकर्ताहरूले प्रतिकित्ता ४०१ रुपैयाँमा नै बोलपत्र पेश गरेका छन् । पछिल्लो विवरण अनुसार ४०१ रुपैयाँ कट अफ मूल्य पर्याे भने सर्वसाधारणलाई प्रतिकित्ता ३६१ रुपैयाँमा आईपीओ निष्काशन गरिनेछ । किनभने संस्थागत लगानीकर्तालाई तोकिएको कट अफ मूल्यभन्दा १० प्रतिशत घटाएर सर्वसाधारणलाई बिक्री गरिने छ ।

कम्पनीले मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूका लागि जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बोलकबोलमार्फत् बिक्री खुला गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म तोकिएको थियो ।

बोलपत्रलाई रुजु गर्ने काम भइरहेको छ । सबै जाँच प्रक्रिया सकिएपछि कट अफ मूल्य तोकिने नेप्सेले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार प्रतिकित्ता ४०१ रुपैयाँ कटअफ मूल्य तोकिने सम्भावना रहेको नेप्सेले जनाएको छ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र बाँडफाँट गरिने छ । कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कममा आवेदन दिएका योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.