२०८० मंसिर १२ गते १७:५३ विकासन्युज
काठमाडौं । नेपाल-दुबई व्यावसायिक सम्मेलन यही मंसिर १४ गते अर्थात बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने भएको छ । उक्त व्यावसायिक सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोग एवं सहकार्यमा हुन लागेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहने छन् । सम्मेलनमा दुबै देशका करिब १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने छ ।
उक्त सम्मेलनमा दुबै देशबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ ।
व्यावसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरूमा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे । सम्मेलनबाट उर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको छ ।
महासंघले प्रधानमन्त्रीको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यावसायिक सम्मेलनको आयोजना गरिसकेको छ । त्यस्तै, महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अवुधाविमा आयोजना हुने जलवायुसम्बन्धी विश्व सम्मेलन कोप-२८ मा भाग लिने कार्यक्रमसमेत रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.