२०८० मंसिर १४ गते १०:४५ सन्तोष रोकाया
काठमाडौं । जब देशलाई भयानक विपत् आइपर्छ, तब नेपालजस्तो सानो अर्थतन्त्र भएको देशलाई त्यो संकटबाट उठ्न ठूलो सकस पर्छ । त्यो सकस वि.सं २०७२ मा गएको विनाशकारी भूकम्प होस्, पछिल्लो समय महामारीकारूपमा फैलिएको कोरोना भाइरस होस् वा अहिले पश्चिम रूकुम र जाजरकोटमा गएको भूकम्पले नै किन नहोस्, देशले ठूलो क्षति बेहोर्यो । त्यो संकटबाट माथि उठ्न राज्य संयन्त्रले आफ्नो तहबाट काम गरिरहे पनि त्यो सकसको सारथी बन्दै पीडितको घाउमा मल्हम लगाउने काम सबैको हुन्छ ।
देश समस्यामा परेको बेला, हजारौं परिवारका लाखौं मानिसको मन दुःखेको बेला र सयौं घर भत्केको बेला सबैको हातेमालोले पीडितको घाउमा मल्हम लगाउने प्रयत्नहरू हुनु पर्ने हो । केहीले त्यो सहयोग, त्यो सद्भाव र त्यो उदारता नदेखाएका होइनन् । अझ, देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले त एकजुटका साथ अग्रपंक्तिमा देखिनु पर्ने हो ।
वि.सं २०७२ को विनाशकारी भूकम्पमा परी ५ हजार बढी मानिसले ज्यान गुमाए । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण १२ हजार बढीको मृत्यु भयो । केही साताअघि पश्चिम रूकुम र जाजरकोटमा गएको भूकम्पका कारण २ सय बढीले ज्यान गुमाए । यो दर्दनाक र भवभय अवस्थामा देशको महत्वपूर्ण वर्ग र अग्रणीरूपमा देखिएका र भनिएका ‘धनाड्यहरू’को मन भक्कानिएन । उनीहरूले पीडितका घाउमा मल्हम लगाउने विषय दिल्लगी ठाने ।
जब देशमा संकट पर्छ, पीडित, समाज र देशले पनि विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोगको अपेक्षा गर्छ । दानीले दान गर्छन्, धन नभएकाहरू मन फराकिलो पार्छन् । आर्थिक सहयोग गर्न नसके पनि पीडित कहाँ पुगेर सकेसम्मको सहयोग गर्छन् । तर, अथाह धन भएका धनाड्यहरूको मनले राहत दिनुपर्ने महसुस गरेन । जसले पीडितको पीडा, समाजको शोक र देशको दर्दनाक अवस्था टुलुटुलु हेर्दै बसे ।
विभिन्न देशमा यस्तो किसिमको संकट पर्दा त्यहाँका उद्योगी व्यवसायीहरूले हात फराकिलो पार्छन् । आफूले सकेसम्मको सहयोग सरकारलाई गर्छन् । केही वर्षअघि विश्वमहामारीका रूपमा फैलिएको कोरोना भाइरसको समयमा चिनियाँ अर्बपति ज्याकमाले चीनमा मात्रै नभई नेपालसहित एशियाका विभिन्न देशमा ठूलो आर्थिक तथा मेडिकल सामग्रीको सहयोग गरे । भारतका धनाड्यहरू रतन टाटा र मुकेश अम्बानीले पनि सहयोगका हातहरू फैलाए । पराेपकारी काममा विश्व धनाढ्य विल गेट्स विश्वका लागि पथ प्रर्दशक नै बनेका छन् । तर, नेपालका धनाड्यहरूले सहयोग नभई संकटमै सम्पत्ति जोड्ने उपाय खोज्न थाले । त्यसको एउटा नमिठो उदाहरण थियो, ‘थर्मल गनमा उद्योगी सुलभ अग्रवालको कालोबजारी ।’
अहिले पश्चिम रूकुम र जाजरकोटमा गएको विनाशकारी भूकम्पले पारेको मानवीय तथा भौतिक क्षतिबाट पीडित बनेका परिवारको उद्वार र राहतका लागि सरकारले विभिन्न व्यक्ति तथा संस्थाहरूसँग सहयोगको अपील गरिरहेको छ । पीडित परिवारहरूले पनि मद्दतको याचना गरिरहेका छन् । तर, त्यो अपील र याचनाको मुकदर्शक बनिरहेको छ, नेपालका ‘धनी समुदाय’ ।
सरकारले सहयोगको अपील गरेपश्चात् प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म १८ करोड ९१ लाख रुपैयाँ संकलन भएको छ । विभिन्न व्यक्ति तथा संस्था गरेर कुल ७३ सहयोगी मनहरूले कोषमा सहयोग गरेका छन् । तर, त्यो सहयोगको सूचीमा न ती धनाड्यहरूको नाम देखिन्छ न त तिनले नेतृत्व गरेका संघ संस्थाको ।
सरकार, निजी क्षेत्र र सर्वसाधारणले पनि सायदै नचिन्ने नाम हो विनोद चौधरी । नेपालका एक मात्रै डलर अर्बपति भनेर सञ्चार क्षेत्रले चिनाएको विनोद पुरानो व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष हुन् । दर्जनौं उद्योग व्यवसायका मालिक रहेका उनी प्रतिनिधिसभा सदस्य समेत हुन् । तर, अर्बपति चौधरीलाई यस्ता किसिमको संकटमा सहयोग गर्नु र देशलाई समस्या परेको बेला राहत उपलब्ध गराउनु एकादेशको कहानी जस्तै हो ।
संकटमा मात्र अनुदार हाेइनन्, व्यवसाय गरेर कर तिर्ने मामिलामा पनि उनी अलप हुने गरेका छन् । उनी आफूलाई नेपालको सबैभन्दा धनी भनेर समाचार लेखाउन खर्च गर्छन् । राेचक के छ भने नेपाल सरकारले हरेक वर्ष ठूला करदातालाई सम्मान गर्दछ । तर, विनोद चौधरी र उनको कम्पनीहरू नेपालका ठूला करदाताको सूचिमा कहिल्यै पनि पर्दैनन् ।
यस्तै, नेपालको पुरानो व्यावसायिक घराना ज्योति ग्रुपका लागि पनि संकटमा राहत दिनु तथा आर्थिक सहयोग गर्नु दिवास्वप्न हो । नेपालको ठूलो भनिएको गोल्छा ग्रुपले पनि संकटमा समस्यामा परेकाहरूको घाउमा मल्हम लगाउने प्रयत्न गर्न सकेको छैन । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष समेत हुन् । तर, उनले पनि संकटकाे समयमा समस्यामा परेकाहरूको उद्वारको लागि काम गर्नुपर्छ भन्ने विषय गौण बनिरहेको छ ।
यस्तै, नेपालको ठूलो व्यावसायिक घराना विशाल ग्रुप, शंकर समूह, खेतान समूह, मुरारका ग्रुप, शारदा ग्रुप, बैद्य अर्गनाइजेसन, पञ्चकन्या समूह, गोल्यान ग्रुप, दुगड ग्रुप, एमएस समूह, एनई समूह, एमएडब्लू ग्रुप अफ कम्पनिज, गोयन्ता ग्रुप लगायत ठूला व्यावसायिक घरानाहरूको नाम देश संकटमा परेको बेला सहयोग गर्नेको सूचिमा छैन ।
बैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्य हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका उनी भिजिट नेपाल २०२० का संयोजक समेत भएर काम गरिसकेका छन् । तर, उनका लागि पनि देश समस्यामा परेको बेला सरकारलाई सहयोग गर्नु पर्छ भन्ने विषय गौण बनिरहेको छ ।
नेपालको पुरानो र ठूलो व्यावसायिक घराना पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक हुन् प्रदिप कुमार श्रेष्ठ । उनी महासंघको पूर्वअध्यक्ष समेत हुन् । सो ग्रुपको अध्यक्ष छन् उनका पिता प्रेमबहादुर श्रेष्ठ । तर, पञ्चकन्या ग्रुपले पनि संकटमा सहयोग गर्नु पर्छ भन्नेलाई खासै प्राथमिकता दिँदैन । बरू, सरकारबाट पाउने कर छुट तथा आफू अनुकलको नीतिका लागि श्रेष्ठले कतिसम्म लाग्छन् भन्ने विषय बेखाबखत देखिन्छ ।
नेपाल बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्ष भएर काम गरिरहेका गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान, एमएडब्लू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक भएर काम गरिरहेका नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका मुरारका ग्रुपका अध्यक्ष पशुपति मुरारका लगायतहरूले पनि देशका सयौं परिवारहरू ठूलो समस्यामा परेको बेला सहयोगका हात अघि सार्न सकेनन् ।
६० को दशकपछि उदाएका नौला व्यावसायिक घरानाहरूले भने यो सकसमा साथ दिएको देखिन्छ । पछिल्लो समय विभिन्न उद्योग व्यवसायमा लगानी गरेर आक्रामक बिजनेस रणनीति बनाएको आइएमई ग्रुपले सरकारलाई सकेसम्मको सहयोग गरेको छ । आइएमई ग्रुपले आफ्नो लगानी रहेको विभिन्न कम्पनीहरूबाट एक करोड ५० लाख सहयोग गरेको छ ।
यस्तै, भाटभटेनी सुपरमार्केटले पनि सरकारको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ करोड ११ लाख बढी सहयोग गरेको छ भने हवाइ क्षेत्रमा नमूना बनिरहेको बुद्ध एयरले पनि १ करोड सहयोग गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले सरकारको यो अभियानमा स्वस्फूर्त रूपमा सहयोग गर्दा देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको भनेर गफ दिने उद्योगी व्यवसायीहरूले सहयोग गर्न सकेनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्ट ठूला व्यावसायिक घरानाहरूबाट अपेक्षाअनुसारको सहयोग प्राप्त नभएको धारणा राख्छन् । उनले यो संकटको समयमा उद्योगी व्यवसायीबाट धेरै सहयोग हुने अपेक्षा सरकारको भएपनि त्यो किसिमको सहयोग नमिलेको भनाइ उनको छ ।
‘अहिले विभिन्न व्यक्तिले स्वस्फूर्तरूपमा सहयोग गरेका छन्, बैंकहरूले पनि राम्रै सहयोग गरेका छन्, केही व्यावसायिक घरानाबाट राम्रै सहयोग प्राप्त भएको छ, उहाँहरूको सहयोगले पीडितको उद्वारको लागि ठूलो सहयोग पुग्छ, सरकारले यति नै सहयोग गर्छ भनेर अनुमान गरेको छैन, तर व्यावसायिक घरानाबाट भने अपेक्षाकृत ढंगको सहयोग मिलेन,’ उनले विकासन्युजसँग भने ।
यी हुन् हालसम्म सहयोग गर्ने व्यक्ति तथा संस्थाहरू
Copyright © 2024 Bikash Media Pvt. Ltd.
ENOUGH CASH TO REBUILD THAT AREA.
All leading billinors are marwadi and their moto is only earning not social works.