२०८० पुष १९ गते १२:४९ विकासन्युज
काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत रूपमा चुनिएदै छन् । यसै साता हुने साधारण सभापछि चौधरीले नाडाको जिम्मेवारी समाल्दै छन् । लामो समयदेखि अटो व्यवसायमा सक्रिय चौधरी सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्सका सञ्चालक पनि हुन् । उनै चौधरीसँग नाडा नेतृत्वका योजना, अटो क्षेत्रमा देखिएका समस्या, सरकारले अटो व्यवसायमा गर्नुपर्ने काम लगायतका सन्दर्भमा विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :-
प्रायः चुनावी प्रतिस्पर्धा नै हुने गरेको नाडामा यसपटक सर्वसहमतिमा नेतृत्व चयन भयो । यो कसरी सम्भव भयो ?
नाडाले विगतमा भएका गल्तीहरूलाई सच्याउँदै र सुधार्दै अघिबढी रहेको छ । अटो क्षेत्रमा आएका मन्दी, समस्या लगायतका सबै सिनारियोलाई हेर्दा अहिलेको समयमा हामी सर्वसहमतिमा नै अगाडि बढ्दा उपयुक्त हुने ठम्यायौं । र, सर्वसम्मतरूपमा अगाडि बढ्दा राम्रो हुन्छ भनेर सर्वसम्मत तरिकाबाट कार्यसमितिको चयन गर्ने निर्णय गर्यौं । नाडा नेतृत्वका लागि यसअघि पनि निर्वाचन भएको थियो । जसमा पनि उम्मेदवार थिए । त्यो चुनावले गर्दा नाडाका सदस्यहरूलाई बिचमा फाटो ल्याउन सक्ने स्थिति थियो ।
चुनाव गरेर नेतृत्व बनाउनु अहिलेको लागि उपयुक्त थिएन । त्यसैले चुनाव हुँदा खर्च गर्नु नगर्नुको ठूलो औचित्य थियो । त्यसैले खर्च नगरी सबैलाई समेटेर कसरी अगाडि लिएर जान सकिन्छ भनेर निर्वाचनलाई रूपान्तरण गरी सर्वसम्मत गरेका हौं । सबैको साथ समर्थनले हामी सर्वसम्मतरूपमा कार्यसमितिको चयन गर्नमा सफल भयौं ।
अटोमोबाइल्स बजार सुधारका लागि तपाईंको नेतृत्वमा नाडाले के-के काम गर्ने योजना बनाएको छ ?
मलाई अध्यक्ष बन्नका लागि छाडिदिनुभएको साथीले होस् या कार्यसमितिमा आउनुभएका साथी, सबैको प्रयास अटो क्षेत्र सुधारमा काम गर्ने योजना हुन्छ । तर, मेरो एजेण्डा के भन्दा पनि सहमतिमा गएपछि त्यो एजेण्डा टिमको हुन्छ । त्यसैले ति एजेण्डा अहिले बनाउन बाँकी छ । हामीले सहमति गरेर चुनाव नहोस् भन्ने वातावरण बनायौं । आउने दिनमा पुनः मिटिङ बसेर कसरी आजका दिनमा एजेण्डालाई प्रस्तुतीकरण गर्न सकिन्छ भनेर छलफल हुन बाँकी छ ।
ठूला साना सबै व्यवसायी मन्दीको मार खेपिरहेका छन् । बजारलाई मन्दीबाट उकास्ने वा व्यवसायीलाई राहत दिनेतर्फ नाडाले केही गर्न सक्छ ?
यो क्षेत्र ठूलो मन्दीको चपेटामा छ । अहिले यो क्षेत्रमा ६० प्रतिशतभन्दा बढीले गिरावट आउनु भनेको मान्छेको जीवनशैलीमा असर पुग्न सुरु भइसक्नु हो । ठूला/ठूला कर्पोरेट हाउस जसमा धेरै मान्छे कार्यरत छन् । जे जसो गरे पनि वित्तीय विवरण प्लस र माइनसको गेम हुन्छ । साना र मझौला व्यापारीहरूलाई अहिले धेरै कठिन छ । आम्दानी नहुँदा र घाटामा हुँदा आफ्नो खल्तीबाट पैसा जान्छ । व्यवसायीलाई आजको दिनमा कसरी उकास्ने भन्ने विषय एउटा प्रश्न बनेको छ । यसका लागि सबैसँग सल्लाह तथा सरोकारवालाहरूसँग छलफल गरी कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयलाई मान्यता दिनुपर्ने छ ।
अटो क्षेत्रमा राम्रा काम गरी एउटा सफल श्रेणीमा पुगेका जनशक्तिलाई विदेशबाट अफर आएर उतै बस्ने सिस्टमको विकास भएको पाइन्छ । यसलाई रोक्नका लागि तपाईंले कस्तो पहल गर्नु हुनेछ ?
यो सबैभन्दा बढी सेमी स्किल लेभरतिर हुने गर्छ । विशेष गरी यहाँ मासिक ५० देखि ६० हजारभन्दा कम आम्दानी जसले गर्छ, ऊ सो प्रलोभनमा परेको हामीले नोटिस गरेका छौं । उहाँहरूलाई बाहिर बस्यो भने राम्रो काम र छिटो कमाइ हुन्छ भन्ने झुटो आश्वासन दिएर यहाँबाट मान्छेहरू उनीहरूले लिएर जान खोज्छन् । तर, त्यो उहाँहरूको बाध्यता हो । किनभने अहिलेको परिस्थितिमा यहाँको बिजनेस र कमाइ दुवै राम्रो छैन । उहाँहरूले आफ्नो आम्दानी पनि वृद्धि गर्न सक्नुभएको छैन । त्यसैले यहाँभन्दा विदेशमा दोब्बर कमाइ हुन्छ भन्ने आशामा हुनुहुन्छ । मान्छेमा एउटा लालच पनि हुन्छ । त्यसैले यसलाई रोक्नेका लागि विदेशमा भन्दा यही अवसर छ र सम्भावनाका पाटाहरू देखाउन जरुरी छ ।
नेपालमा पछिल्लो समय ईभी गाडीको आयात बढिरहेको छ भने बिस्तारै हाइड्रोजन सवारी विकास हुँदैछ । यसले फसिल फ्यूलमा आधारित गाडी बिक्रीमा कस्तो असर पुर्याएको छ ?
यी दुवैलाई समान स्तरको मैदानमा राख्ने हो भने ईभीलाई अहिले पनि प्रोत्साहन गर्न सक्ने स्तर बनिसकेको छैन । किनभने यसका लागि चाहिने आवश्यक पूर्वाधारहरू नै निर्माण हुन सकेको छैन । सरकारले पनि यसका लागि चाहिने पर्याप्त पूर्वाधारको विकास गर्न नसकिरहेको अवस्था छ । भ्यालु प्रपोजिसन देखाउन नसक्दा ईभीका आयातकर्ता कम्पनीहरूले पनि पूर्वाधारका काम गर्न सकिरहेका छैनन् ।
निजी क्षेत्रले पनि बाध्यात्मक परिस्थितिबाट ईभीका चार्जिङ स्टेसनहरू खडा गरिरहेका छन् । वर्तमान अवस्थामा फसिल फ्यूलका गाडीहरू पनि आयात भइरहेका छन् । गाडीको आयात बढ्दा विदेशी मुद्रा बाहिरिएको भन्ने सरकारको भनाइ छ । त्यसमा अटो मोबाइलले कति योगदान दिइरहेको छ भन्ने विषयको छुट्टै अध्ययन खाँचाे पर्नेछ । जुन मात्रमा डिजेल उद्योगमा उपभोग हुन्छ त्यो मात्रामा डिजेल गाडीमा उपभोग हुँदैन ।
पछिल्लो समय फसिल फ्यूलमा आधारित गाडी बिक्री हुन छाडेपछि स्थानीय डिलरहरूले लिडरसिप छाड्दै गएको र शोरुमहरू बन्द हुँदै गएको खबर आएका छन् । वास्तविक अवस्था के हो ?
सरकारले अटोमोबाइल क्षेत्रलाई निरुत्साहित गरेर राखेको छ । यसलाई उत्साहजनक कसरी बनाउन सकिन्छ भनेरमात्र पहल गर्न सकिन्छ । किनभने आजको दिनमा ईभीका गाडीमा भन्सार छुटदेखि सहज फाइनान्सको व्यवस्था आदि सेवा सुविधाहरू दिइको छ । तर, ति सुविधाहरू इन्धनबाट चल्ने गाडीमा दिइएको छैन । त्यसैले यसमा एउटा मात्र अप्सन छ । व्यवसायीहरूलाई उत्साहजनक बनायो भनेमात्र यो उद्योगलाई रिभाइभ गर्न सकिन्छ ।
ईभी गाडीको प्रयोगकर्ताहरू बढ्दै गएका छन् । सरकार तथा व्यवसायीले यसको पूर्वाधार विकासका लागि कस्ता कस्ता काम भइरहेका छन् ? यसतर्फ तपाईंको नयाँ सोच के छ ?
यसमा दुइटा विषय छन् । एउटा सरकारले र अर्को प्राइभेट कम्पनीले नीतिमा काम गर्नुपर्ने छ । सरकारले जति पूर्वाधारको विकास गर्न सक्छ त्यो काम गर्यो भने त्यही नै ठूलो उपलब्धि हुन्छ । सरकारले चाहेको खण्डमा यहाँ ठूला/ठूला चार्जिङ स्टेशनको पनि निर्माण हुन्छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी छ । हामीले जुन बिजुली किन्छौं र जुन बिजुली ग्राहकलाई बेच्छौं, त्यो स्प्रेड बढाउनु पर्छ । त्यो नबनाएको खण्डमा चार्जिङ स्टेशन पोसाउने वाला छैन ।
जबसम्म केही चिज पोसाउँदैन त्यो क्षेत्रमा नीजि क्षेत्रले हात हालेपछि कर्पोरेट सामाजिक उत्तरदायित्वको रूपमा हेर्न थाल्छन् । त्यो कति समयसम्म गर्ने भन्ने विषय पनि उठ्छ । सुजुकीको हकमा कुरा गर्दा सुजुकीको ईभी गाडीहरू पनि नेपाली बजारमा आउँदै छ । सुजुकीले पनि ईभीका गाडी आएपछि अवश्य चार्जिङ स्टेशनको निर्माण गर्ने नै छ । तर, चार्जिङ स्टेसनमा निजी क्षेत्रले कति लगानी गर्ने भन्ने विषय पनि आउँछ । त्यसो हुनाले सरकारको लगानी ईभीको पूर्वाधार विकासमा हुनु अपरिहार्य छ ।
तपाईंले अटो क्षेत्र धराशायीमा रहेका विषयको उल्लेख गर्नुभयो । तपाईंले नेपाली अटोमोबाइल्स क्षेत्रको भविष्यलाई कसरी निहाल्नु भएको छ ?
सरकारले हामीप्रति राखेको सोचले गर्दा यो क्षेत्रमा समस्या चुलिएको हो । जब अटो क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण बदलिन्छ त्यो दिने यो क्षेत्रलाई उकास्न सक्ने वातावरणको सिर्जना हुन्छ ।
दुई पांग्रे सवारीका एसेम्बल उद्योगहरू क्रमशः बढ्दै गएका छन् । तर, चार पांग्रे सावारिको एसेम्बल उद्योगहरू खुल्न सकेनन्, किन ?
आजको दिनमा चार पांग्रे सवारीको एसेम्बल उद्योगहरू खोल्ने हो भने एउटा सस्टेनेबल भोलुमको जरुरी छ । नत्र भने एउटा सर्भिस सेन्टरमा गएर गाडी जोडेर बनाएर दिन मात्र पनि सकिन्छ । सरकारले देशमा रोजगारीका क्षेत्र विस्तार होस् स्वदेशी उत्पादन र उपभोग बढाेस् भन्ने चाहेको छ । सरकारले कसरी अटो मोबाइललाई प्रोत्साहन गर्ने, नीतिगत स्पष्टता गरेर १० वर्षे निति बनायो भने पहिलो एसेम्बल उद्योग सुजुकीले नै खोल्छ होला । नीतिगत विषय स्पष्ट र दूरदर्शी हुन जरुरी छ । करको दरमा मैले सुझाव दिन चाहन्नँ । किनभने मैले सुझाव दिँदा परिणाम निराशाजनक आउँछ । करका दरलाई यति वर्षसम्म निश्चित बनाएर नचलाइ राख्छु भनेर सरकारले पहल गर्यो भने सरकारलाई हामी सहयोग गर्न तयार छौं ।
सवारीका पार्टस् पुर्जा एवं सहायक पदार्थहरूको उत्पादनतर्फ के कति काम भइरहेको छ ?
पार्टस् पुर्जा यहाँ धेरै उत्पादन भएको पाइँदैन । यहाँ टायर, ब्याट्री तथा लुब्रिकेन्टका उद्योगहरू सञ्चालनमा आइरहेका छन् । यिनै कुरा हेर्दै सोच्दै अगाडि बढ्दै जान सक्छ भन्ने मेरो आशा हो ।
अटो व्यवसायीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण छैन भन्छन् व्यवसायीहरू नै । विभिन्न ब्राण्डको लिडरसिप खोसाखोस भइराखेको हामीले नै देखिरहेका छौं । फेयर ट्रेडको वातावरण बनाउन नाडाले केही गर्न सक्दैन ?
यसमा यहाँको आयातकर्ता र प्रिन्सिपल दुवैको बिचमा समझदारी हुन्छ । उहाँले त्यो समझदारी कतिको सुदृढ बनाउन सक्नुहुन्छ । जुनदिन सुदृढ हुन्छ त्यो दिन आफै यी समस्या समाधान हुँदै जानेवाला छ । जबसम्म आफ्नो समस्याको समाधान दिन गाह्रो छ तबसम्म यस्ता किसिमको खबर सुनिरहेकै हुन्छौं ।
तपाईं अटो व्यापारमा नै जन्मे हुर्केको मान्छे । विश्व परिवेश र नेपालको परिवेश पनि तपाईंलाई थाहा छ । नयाँ सवारी किन्दै गरेको उपभोक्तालाई तपाईंको सुझाव के छन् ? सामान्य उपभोक्ताले थोरै मूल्यमा तिरेर दीर्घकालीन लाभ कसरी लिन सक्छन् ?
अहिलेको सरकारको नीति, समय र यो परिस्थितिमा त्यो असम्भव छ । किनभने सकारकाले जससम्म हाम्रो देशमा मुभिलिटी महत्वपूर्ण छ भनेर सोच्दैन तबसम्म हामीलाई यो समस्या सधैं रहने छ । उपभोक्ताले सहुलियतभन्दा पनि धेरै मूल्य तिरेर गाडी तथा बाइक लिनुपर्छ । कुनै एउटा सानो ढुवानी उद्योगमात्र सुरु गर्याे भने पनि ढुवानीका सवारीहरू सडकमा थन्किरहेका हुन्छन् । कारण हो, भारतीय गाडीले सामान ठाउँसम्म पुर्याउनु। त्यसमा सरकारले नीतिगत सुरु गर्याे भने यहीका मान्छेले रोजगारी पाउँछन् । सानासाना विषयलाई सुधार गर्न सकियो भने देशलाई ठूलो राहत हुन्छ ।
निजी सवारी साधनामा उपभोक्ताको रूचि र प्राथमिकतामा कस्तो परिवर्तन आइरहेको छ ?
निजी सवारी साधनामा उपभोक्ताको रुचि र प्राथमिकतामा ठूलो मात्रमा परिवर्तन आउनुपर्ने हो । तर, त्यो आउन सकेको छैन । १० वर्षअघि र अहिले हेर्नुभयो भने केही न केही परिवर्तन आएको छ । किनभने मान्छेहरूको परिवार वृद्धि हुँदैछ । परिवार वृद्धि भएपछि बाइकभन्दा अरू अप्सन रोजिरहेको पाइन्छ । त्यसमा धेरै थोरै गरेर बिस्तारै बढ्दै छ । सरकारले जुन स्केलमा सोच्नुपर्ने हो त्यो स्केलमा चाहिँ भएको छैन ।
सार्वजनिक यातायात सेवा पनि गुणस्तरीय छैन । निजी सवारी पनि ज्यादै महँगो छ । ट्राफिक जामको समस्या त्यस्तै छ । यस्तो समस्याबाट मुक्ति दिलाउने उपाय के हुन सक्छन् ?
ट्राफिक जामको कारण हामी नै हौं । गाडी चलाउँदा ट्राफिक नियम कतिको पालना गर्छौं भन्ने विषयको विश्लेषण आफैं गर्न सक्नुपर्छ । जुनदिन हामी त्यो गर्न थाल्छौं ट्राफिक जाम आफैं कम भएर जाने छ । ट्राफिक जाम न्यूनीकरणका लागि धेरैले पब्लिक ट्रान्सपोटेसनको प्रयोग गर्नुपर्छ भन्छन् । त्यसमा म पनि सहमत छु । तर, पब्लिक ट्रान्सपोटेसन भएपछि सफा, सुरक्षित हुनुपर्यो, समयमा पुग्ने हुनुपर्यो । तबमात्र कसैले त्यसको प्रयोग गर्छ । रोजगारीमा जो-जो लाग्नुभएको छ उहाँहरूलाई त अफिस समयमा पुग्नु छ । अनि पब्लिक ट्रान्सपोटेसनमै समस्या आयो भने त्यसप्रति मान्छेले गर्ने विश्वास गुम्छ ।
विकसित देशमा आज ठूलाठूला मान्छे पनि पब्लिक ट्रान्सपोटेसनको प्रयोग गर्छन् । किनभने त्यहाँको ट्रान्सपोटेसन एकदमै सुरक्षित छ । त्यसैले यहाँ पनि प्रविधिको प्रयोग गरी सोही किसिमको ट्रान्सपोटेसनको सुरुवात गर्न सक्छौं ।
अन्त्यमा, तपाईंले कार्यभार समालेर काम गर्दै गर्दा र कार्यभार सकिँदै गर्दासम्मको अवधिमा अटो क्षेत्रमा के सुधार आएको व्यवसायीले अनुभूति गर्न पाउने छन् ?
अहिले व्यवसायीहरूमा जुन निराशा छ । त्यसमा थोर बहुत मलमपट्टी लगाएर भए पनि आशा जगाउने छु ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.