२०८० पुष २२ गते १४:०१ विकासन्युज
काठमाडौं । भारतीय चामल बजारमा राजा बनेको ‘इण्डिया गेट’ बासमती चामलको सफलताको कथा कम्ता चाखलाग्दो छैन । सम्भवतः यसका पारखी करोडौं उपभोक्तालाई यो चामलको इतिहास थाहा छैन ।
भारतमा चामलको राजा ब्राण्डमा दरिएको इण्डिया गेट बासमती चामल कुनै समय पाकिस्तानबाट भारतमा आएको थियो भन्ने पत्याउन धेरैलाई मुस्किल पर्छ ।
यो इण्डिया गेट बासमती चामलको सफलताको कथा हो। करिब १ सय ३४ वर्षअघि पाकिस्तानमा सुरु भएको यो कम्पनीको संस्कृति पेशावर सहरको थियो, तर यसलाई सफल हुन छिमेकी भारतको राजधानी नयाँदिल्ली आइपुग्नुपरेको थियो ।
अब लागौं यसको इतिहासतिर । सन् १८८९ मा खुसीराम र बिहारीलाल नामका दुई दाजुभाइले पाकिस्तानको ल्यालपुरमा आफ्नो सानो व्यवसाय सुरु गरे । यो व्यवसाय तेल, गहुँ र चामलको थियो । स्वतन्त्रतापछि दुवै दाजुभाइ भारत आएर बसे ।
दिल्ली आएपछि उनीहरूले फेरि आफ्नो व्यवसाय स्थापना गर्ने प्रयास सुरु गरे । यसका लागि उनीहरूले खुसीराम बिहारीलाल (केआरबीएल) नामको कम्पनी खोले । यही कम्पनीमार्फत दाल, चामल, तेलजस्ता खाद्य सामग्री बेच्न थाले ।
धेरै वर्षको मिहिनेतपछि अन्ततः उनीहरूको बासमती चामल (इण्डिया गेट बासमती राइस) ले ठूलो पहिचान पाउन थाल्यो । दिल्लीको लाहोरी गेटबाट एउटा सानो कम्पनी सुरु भएको थियो। जुन आज इण्डिया गेट बासमती राइस नामको वृहत ब्राण्ड बनेको छ ।
यो चामल भारतका हरेक कुनामात्र नभई विदेशी बजारमा पनि उपभोक्ताको रोजाइ बनेको छ । सन् १८८० मा पहिलोपटक यो बासमती चामल पाकिस्तानको रुक बजारमा आएको थियो । आज यो कम्पनीको कमाण्ड परिवारको पाँचौं पुस्ताकी प्रियंका मित्तलको हातमा छ ।
इण्डिया गेट बासमती चामलले पनि करिब ९५ हजार किसानलाई आफूसँगै जोडेको छ । कम्पनीले किसानबाट सिधै धान खरिद गर्छ । जसले गर्दा किसानले प्रत्यक्ष नाफा पाउन सक्छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.