२०८० माघ १७ गते १८:५४ विकासन्युज
काठमाडौं । संयुक्त राष्ट्र संघले सन् २०२४ को मानवीय आवश्यकता तथा प्रतिक्रिया योजना सार्वजनिक गरेको छ । यसमा ५२ लाख सोमालियालीहरूलाई सहयोगका लागि १.६ अर्ब अमेरिकी डलर माग गरिएको छ ।
‘विश्व निकायले आफ्ना साझेदारहरू र सोमालियाको संघीय तथा राज्य सरकारहरूसँग मिलेर प्रयास गर्यो,’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले नियमित पत्रकार सम्मेलनमा भने ।
गत वर्ष, सोमालिया विनाशकारी खडेरी भारी वर्षा, बाढीका कारण प्रभावित भएको थियो । सोमालियामा लाखौं मानिसहरू भोकमरी र कुपोषणबाट पीडित रहेको प्रवक्ता दुजारिकले बताए ।
प्रवक्ताका अनुसार देशको जनसंख्याको लगभग एक चौथाई (४० लाख) भन्दा बढी मानिसहरूले हाल खाद्य असुरक्षाको सामना गरिरहेका राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले जानकारी गराएको छ ।
तथ्यांक अनुसार ६ वर्ष मुनिका प्रत्येक पाँचमध्ये दुई जना बालबालिका तीव्र कुपोषणबाट पीडित रहेको संकेत गरेको दुजारिकले बताए । सोमालिया आन्तरिक विस्थापनको गम्भीर समस्यासँग जुझिरहेको छ । लगभग ३८ लाख व्यक्तिहरू विभिन्न सङ्कटका कारण आन्तरिक रूपमा विस्थापित भएका छन् ।
सोमालियाले हाल हैजाको प्रकोपको सामना गरिरहेको बताउँदै हैजा तीव्र गतिमा फैलिरहेको उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.