नेपाल प्रहरीले माग्यो १ हजार ९५० जना नयाँ प्रहरी

  २०८० माघ २६ गते ७:२३     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा नयाँ भर्ना लिने भएको छ । नेपाल प्रहरीले शुक्रबार एक सूचना प्रकाशन गरी १ हजार ९५० जना प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरिएको हो । जसअन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ ।

खेलाडीतर्फ एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन् ।