उज्वेकिस्तानमा कफ सिरप सेवनबाट ६८ बालबालिकाको मृत्युको घटनामा भारतीयसहित २३ जनालाई सजाय

  २०८० फागुन १५ गते ८:०३     विकासन्युज


काठमाडौं । मध्य एसियाली देश उज्वेकिस्तानको सर्वोच्च अदालतले सोमबार भारतमा उत्पादित कफ सिरप पिएर ६८ बालबालिकाको मृत्यु भएको घटनामा २३ जनालाई सजाय सुनाएको छ ।

सजाय पाउनेमा एक भारतीय व्यापारी पनि परेका छन् । उज्वेकिस्तानमा २०२२ र २०२३ को बीचमा कम्तीमा ८६ बालबालिकालाई विषालु खोकीको सिरप खुवाइएको थियो । जसका कारण ६८ बालबालिकाको मृत्यु भएको थियो ।

भारतीय नागरिक सिंह राघवेन्द्र प्रताप उज्वेकिस्तानमा डक–१ म्याक्स सिरप आयात गर्ने कम्पनीका निर्देशक हुन् । त्यहाँको अदालतले उनलाई २० वर्षको सबैभन्दा कठोर सजाय सुनाएको छ । उज्वेकिस्तानको सर्वोच्च अदालतले राघवेन्द्र प्रतापलाई भ्रष्टाचार, जालसाजी र जालसाजी गरेको आरोपमा दोषी ठहर गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कप सिरपको नमूनाहरूले यो डाइथिलिन ग्लाइकोल वा इथिलीन ग्लाइकोलबाट दूषित भएको देखाएको थियो ।

उक्त मुद्दापछि भारत सरकारले कफ सिरप उत्पादन गर्ने कम्पनी मेरियन बायोटेकको उत्पादन अनुमतिपत्र खारेज गरेको थियो । सोही अवधिमा गाम्बियामा भारतबाट आयात गरिएको अर्को कफ सिरप प्रयोग गर्दा ७० बालबालिकाको मृत्यु भएको थियो । सबै बालबालिकाको मिर्गौला फेल भएको थियो ।

त्यस्तै, इन्डोनेसियामा पनि सन् २०२२ देखि २०२३ सम्ममा यस्तो कफ सिरप पिउँदा २०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । एजेन्सी