२०८० फागुन १५ गते १८:०४ इन्द्रसरा खड्का
काठमाडौं । रौतहटका छोट्टु राउत कुर्मी सोमबार भृकुटीमण्डपमा भेटिए । २३ दिन लगाएर रौतहटबाट पैदल हिँडेर आएका उनी साहुले कब्जा गरेको घडेरी फिर्ता पाउनुपर्ने माग बोकेर काठमाडौं पुगे । तराइको फाँटमा हिँडेका उनी काठमाडौं पुग्दा पहाड चढ्नु पर्यो, खुट्टा दुखिरहेका छन्, जिउ लतरक्कै गलेको छ । तर, साहुले दिएको पीडासामु यो दुखाइको अर्थ छैन ।
६ वर्षअघि गाउँकै उमेश पण्डितबाट कुर्मीले ३५ हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको एक वर्षपछि ५५ हजार रुपैयाँ बुझाए । तर, साहुले त्यतिले नपुगेको भन्दै भएको १० धुर घडेरी पनि लगिदियोे । साहुले भएको घडेरी नै लिएपछि अहिले उनको परिवारको विचल्ली छ । घरमा ऋण लागेपछि उनका छोरा मजदुरी गर्न भारतको पञ्जाब गएका छन् । घरमा बुढी श्रीमती बुहारी र नातिनातिना छन् ।
‘साहुले लिएको जग्गा फिर्ता नपाए त हाम्रो बिचल्ली हुनेभयो ’उनी निराश हुँदै भन्छन,’ प्रहरी कहाँ जाँदा प्रहरीले सुन्दैन, प्रशासन जाँदा सिडिओले सुन्दैनन्, न्याय नपाएर बाध्य हुँदै काठमाडौं आएँ । ’
सुर्खेतको लेकबेसी नगरपालिकाकी शान्ति छन्तेललाई आफ्नो पीडा त छँदै थियो । त्यसमाथि आफ्नै आफन्तले थपिदिएको पीडाले घरको न घाटको बनाएको छ । उनको दुई वर्षको छोरा खेल्नेक्रममा चक्कु आँखामा लागेर आँखामा चोट लाग्यो र आँखा नदेख्ने भए । उनका श्रीमान वैदेशिक रोजगारीमा भएकाले छोराको आँखाको उपचार गर्ने जिम्मेवारी उनको काँधमा आइपर्यो ।
छोराको आँखा अप्रेसन गर्दा उनले गाउँकै साहुबाट ५ लाख रूपैयाँ ऋण लिइन् । त्यो ऋणले छोरालाई आँखा देख्न सक्ने त बनाइन् । तर, त्यही ऋणको पासोले अहिले पल-पल आँसु दिएको छ ।
उही साहुसँग उनका थप तीन आफन्तले पनि शान्तिलाई जमानीमा राखेर २ लाख रुपैयाँ ऋण लिए । ऋण लिएपछि उनीहरू कहाँ गए शान्तिलाई नै थाहा छैन । उनीहरूले लिएको ऋणको भारी पनि शान्तिको थाप्लोमा आइलाग्यो ।
उनले पाँच लाख लिएको ६ महिनामा आफन्तको २ लाख पनि साहुले जोडेर १२ लाखको कागज हातमा थमाइदियो ।
त्यही ऋणले गर्दा उनी श्रीमान र घरपरिवारबाट हेला भएकी छन् । वैदेशिक रोजगारिमा गएका उनका श्रीमान केही समय सम्पर्कविहीन नै भए । उनकी सासुले पनि उनलाई ‘मेरो छोराको सबै सम्पत्ति सकिदिइस्’ भनेर ताना मारिरहन्छिन् ।
साहुले भएको घरजग्गा नै लिलामी गर्न थालेपछि शान्तिका जेठाजुले तै पनि रोक्न सकिन्छ कि भनेर साहुलाई तीन लाख रुपैयाँ तिरिदिए । तर, साहुले भने त्यो पैसा त साँवाको ब्याज हो भन्दै शान्तिको ७ कट्ठा जग्गा कब्जा गरिदियो ।
‘यही कारणले गर्दा मैले सबैको हेला सहनु परेको छ,’ उनी भन्छिन्, ‘आफ्नैहरूलाई सहयोग गर्दा आफैं डुब्नु पर्ने रहेछ, अहिले मर्नु र बाँच्नु भएको छ, १२ लाख तिरेपछि जग्गा फिर्ता गर्छु नभए दिँदैन भन्छ, अब मैले यत्रो पैसा कहाँबाट ल्याउनु ?’
सुर्खेतकै सह कार्कीले तीन लाखमा जग्गा धितो राखेर २ लाख ६५ हजार ऋण निकालिन् । वैदेशिक रोजगारीमा जान उनले गाउँकै नमराज कडेँलसँग पैसा लिइन् । तर,अहिले साहुले उनको जग्गा नै आफ्नो नाममा बनाइ ३५ लाखमा बेचिदियो । विदेश गएर कमाएर तिर्ने सर्तमा पैसा लिएकी थिइन् । तर, विदेश सोचे जस्तो कहाँ हुँदो रहेछ र ! जुन पैसा कमाउने सपनाले उनी ऋण लिएर गइन् । उनै सपनाले दलालको फन्दामा फसायो।
उनका श्रीमान राम्रोसँग बोल्न सक्दैनन् । श्रीमान शारीरिक रुपमा अपांगता हुँदा छोराछोरीको पढाइ खर्च सबै उनैले बेहोर्नु पर्थ्याे । ‘पढेलेखेको छैन, गाउँमा अरू काम पनि पाइदैन,’ उनी भन्छिन्, घरमा पैसा कमाउन समस्या भयो, अनि विदेश लागेँ ।’
सुर्खेतकै चिनजानको एउटा दिदीले उनलाई विदेश जाँदा राम्रो कमाइ हुने भन्दै विदेश जान सल्ला दियो । उनले विदेश पठाइदिने व्यक्तिसँग चिनजान पनि गराइदियो । काठमाडौंको गौशालाका रामबहादुर भन्नेसँग उनको कुरा हुन थाल्यो । रामबहादुरले उनलाई फ्री भिसामा फ्री टिकटमा भन्दै जोर्डन पठाइदियो ।
गाउँमा बस्दा विदेशमा पैसाको बोट हुन्छ जस्तो लाग्थ्यो । तर, सबैलाई विदेश कहाँ राम्रो हुँदो रहेछ र ! उनले विदेशमा पाएको दुःखकाे फेहरिस्त सुनाइन् ।
उनी जसोतसो जोर्डन त पुगिन् । तर, त्यहाँ उनले सोचे जस्तो काम थिएन । काम घरको सरसफाइ गर्नु थियो । तर, त्यो भन्दा पनि उनले केटामान्छेसँग सुत्न जानु पर्थ्याे ।
शरीरमा भएका निलडाम देखाउँदै उनले भनिन्, ‘घरमा पाहुना आउँदा मालिक्नीले स्वागत गर भन्थि त्यो त ठिकै थियो । तर, राती उनैसँग सुत्न लगाइन्थ्यो, नाइ भन्दा मर्ने गरेर पिट्थी सहेर बस्नु पर्थ्याे ।
घरेलु कामदारमा जाँदा उनले मुम्बइको कोठीमा गएको जस्तो भयो, उनी भन्छिन्, ‘कोठीमा यस्तै काम गर्न लगाइन्छ भन्ने सुनेको थियो तर,आफैले यस्तो बेहोर्नुपर्यो ।’
उनले आफ्ना दुःख घरमा भदेनीसँग भनिन् । उनले घरमा ऋण खोजेर पैसा पठाइदिएपछि उनी नेपाल फर्केर आइन् ।
‘त्यो डर लाग्दो ठाउँबाट त फर्केर आएँ । तर, घरमा साहुले भएको जग्गा जमिन हडपेर परिवारको बिचल्ली बनाएको रहेछ,’ उनी भन्छिन,‘म घरमै गएको छैन, अहिले सुर्खेतमा कोठामा बसिरहेकी छु, अब मैले न्याय खोज्न कहाँ जानु ’
२०७५ सालमा लिएको दुई लाख ६८ हजार रुपैयाँ उनले एक वर्षपछि २ लाख ४० हजार फिर्ता गरेकि थिइन् । जम्मा रहेको बाँकी पैसा पनि तिर्ने भनेकै थियो । तर, साहुले भएको जग्गा जमिन नै लगिदियो । अहिले उनी न्याय माग्न मिटर व्याजीसँग काठमाडौं पुगेकी छिन् ।
यी त केही प्रतिनिधि पात्रमात्रै हुन् । विभिन्न जिल्लामा सयौं यस्ता मिटरब्याज पीडित छन् । देशका विभिन्न २८ बढी जिल्लाबाट हिँडेर न्याय माग्दै काठमाडौं आइपुगेका छन् मिटरब्याजपीडितहरू ।
मिटरब्याजीहरूको जालोमा परेर घरबारविहीन बनेका उनीहरू लामो समयदेखि न्याय मागिरहेका छन् । तर, न्याय पाउनु त कहाँ हो कहाँ उनीहरूले उल्टै धम्की र यातनाको सामना गरिरहनु परेको छ । उनीहरूको रोदन, क्रन्दन सुनिदिने कोही छैन । राज्यलाई झकझकाउन पीडित सडकमै आउनुपर्ने बाध्यता छ । चर्को स्वरमा चिच्याउँदा राज्यले सम्झौता गरे पनि कार्यान्वयन हुँदैन ।
उनीहरूले न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका हुन् । गएको माघ १६ गते सहिद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सुुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । मधेसका २० जिल्ला र अरु आठ जिल्लाका पीडित न्याय मार्चामा छन् ।
सरकारले यसअघि मिटरब्याज पीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः न्याय माग्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले आइतबारदेखि उत्पयका केन्द्रित आन्दोलन सुरु गरेका छन् ।
मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण भएको भन्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सरकारले आइतबार पत्र पठाउँदै वार्तामा बोलाएको थियो ।
गृह मन्त्रालयले सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली बनाएर आन्दोलनरत पीडितहरूलाई वार्ताका लागि बोलाएको थियो ।
आइतबार साँझ ७ बजेदेखि डेढ घण्टासम्म भएको वार्तामा मिटरब्याज पीडितको मागहरू आफूहरूले सुनेको सरकारी वार्ता टोलीले बताए पनि फेरि सोमबार बिहान ११ बजे छलफलमा बस्ने गरी वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।
वार्ता टोलीमा पीडितको नेतृत्व गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष कुशवाहले अहिले भएका कानुनी व्यवस्था मिटरब्याज पीडितको समस्या समाधानका लागि पर्याप्त नभएको बताएका छन् ।
सोमबार लघुवित्त तथा मिटरब्याजपीडित समूहले आफ्ना माग सम्बोधन नभएको भन्दै संघीय संसद् भवन परिसरमै छिरेर प्रदर्शन गरे । संसद् भवन सुरक्षार्थ तैनाथ प्रहरीलाई छक्याउँदै प्रदर्शनकारीले सोमबार नयाँ बानेश्वर पानीट्यांकीतर्फको गेटबाट भित्र छिरेर नाराजुलुस गरेका थिए ।
प्रहरीलाई ठेलेर भित्र छिरेका लघुवित्त तथा मिटरब्याज पीडितमध्येका ४८ महिला र १ जना पुरुष पक्राउ परेका छन् ।
२३ दिनमा १ हजार १ सय ७५ किलोमिटर यात्रा गरेका उनीहरूले न्याय नपाई काठमाडौंबाट नफर्किने बताइरहेका छन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले ८ महिना अध्ययन गरेर सुझाव र निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।
प्रतिवेदनअनुसार यस अवधिमा आयोगमा परेका करिब २८ हजार उजुरीमध्ये ५ हजारमा मिलापत्र भइसकेको छ । बाँकी २३ हजार उजुरीको छिनोफानो गर्ने जिम्मा राज्यले लिएको छ । तर, आयोगले सिफारिस गरे पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडित फेरि काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.