२०८० फागुन २४ गते १६:३९ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा काठमाडौं पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशल कजेजले सहकार्य गर्ने भएको छ । काठमाडौं महानगरपालिकासँग द्विपक्षीय सम्झौता गर्दै महानगरपालिकाले सञ्चालन गर्ने ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमसँग सम्बन्धित विभिन्न तालिम गराउने र दक्ष जनशक्ति उपलब्ध गराउने भएको हो ।
महानगरले गौरवको कार्यक्रमको रुपमा सञ्चालन गरिरहेको ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत कलेजले सफ्टवेर डेभलपमेन्ट, कन्ट्रक्सन लेवर तथा मिस्त्री, रेन वाटर हार्वेस्ट तथा रिभर, फास्ट फूड चाइनिज इन्डियन कुक, कौसी, वारिष्टा, बार टेन्डर वेटर, होम एप्लाएन्स तथा मर्मत, प्रोफेसनल अकाउन्टिङ, डिजिटल मार्केटिङ, मार्बल फिटर र एल्मुनियम युपीभीसी फेब्रीकेसन सम्बन्धी तालिम प्रदान गर्ने सम्झौता भएको छ । साथै, साइबर सेक्युरिटी, प्लान्ट टिस्यु कल्चर र अर्गानिक फर्टिलाइजर सम्बन्धी तालिम प्रदान गर्ने सम्झौता भएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले बताएका छन् ।
सम्झौता अनुसार कलेजले तालिमको लागि प्राविधिक सामग्री, जनशक्ति र स्थान उपलब्ध गराउने छ । सो सहकार्य तीन वर्षसम्म हुने सम्झौतामा उल्लेख गरिएको छ ।
काठमाडौं महानगरले ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमका लागि १२ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबारसम्म महानगरले सञ्चालन गर्ने विभिन्न तालिमका लागि ७ हजार बढीले आवेदन गरेको जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.