अडानी समूहले विमानस्थल व्यवसायमा थप ६ खर्ब लगानी गर्ने, यस्तो छ पूरा योजना

  २०८० फागुन २९ गते ८:४२     विकासन्युज

काठमाडौं । भारतीय व्यावसायिक घराना अडानी समूहले विमानस्थल (एयरपोर्ट) व्यवसायमा वृहत् लगानी गर्ने योजना बनाएको छ । आगामी १० वर्षमा अर्बपति व्यवसायी गौतम अडानीको नेतृत्वमा रहेको समूहले एयरपोर्टसँग सम्बन्धित व्यवसाय विस्तार गर्न ६ खर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ ।

समूहले भारतमा सञ्चालित सात विमानस्थलको आम्दानी थप वृद्धि गर्न यो ठूलो लगानी गर्न लागेको बताइएको छ । यो रकमको करिब आधा अर्थात् ३ खर्ब पाँच वर्षमा विमानस्थल टर्मिनल र धावनमार्ग सुधार गर्न खर्च हुनेछ ।

बाँकी ३ खर्ब रुपैयाँ आगामी १० वर्षमा विमानस्थल वरिपरिका सहरहरूमा पूर्वाधार विकास गर्न प्रयोग गरिने छ । समूहले कुल ६ खर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । यद्यपि, न्यु मुम्बई एयरपोर्टको पहिलो चरणका लागि पहिले नै विनियोजन गरिएको १८ खर्ब रुपैयाँ योबाट अलग छ ।

यो विमानस्थल मार्च २०२५ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेड (एएएचएल) का प्रमुख कार्यकारी अधिकृत अरुण बंशलले कम्पनीले आफ्नो नाफाबाट यो परियोजना सम्पन्न गर्ने बताए ।

लखनऊ एयरपोर्टको नयाँ टर्मिनलको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेपछि भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै अरुण बंशलले भने, ‘यो ठूलो रकम हो, तर अडानी इन्टरप्राइजेज लिमिटेड (एईएल) ले आफ्नो नाफाबाट यसलाई पूरा गर्न मद्दत गर्नेछ । हामी अझै प्रारम्भिक चरणमा छौं र अदानी इन्टरप्राइजेज लिमिटेड हाम्रो मूल कम्पनी हो, त्यसले नै फन्डिङ गर्ने छ ।’

हाल देशका ६ विमानस्थल अडानी समूहको व्यवस्थापनमा छन् । ती विमानस्थलमा लखनऊ, अहमदाबाद, जयपुर, गुवाहाटी, तिरुवनन्थपुरम र मंगलुरु पर्छन् ।

सन् २०२१ मा जीवेके ग्रुपबाट मुम्बई एयरपोर्ट लिएर न्यु मुम्बई एयरपोर्ट खरिद गरेपछि यो संख्या बढेर सात पुगेको छ । सन् २०४० सम्ममा विमानस्थलको यात्रु क्षमता २५ देखि ३० करोड हुने अनुमान छ । एजेन्सी