२०८० चैत १३ गते ८:४८ विकासन्युज
काठमाडौं । यदि तपाईं केही गर्न दृढ हुनुहुन्छ भने जतिसुकै समस्या आए पनि आफ्नो लक्ष्य प्राप्त गर्नुहुन्छ ।
भारतका सुरेश पुजारीले कर्नाटकको सानो गाउँबाट आएर २२ वटा रेस्टुरेन्टको मालिक बन्छु भनेर कहिल्यै सोचेका थिएनन् ।
परिवारिक अवस्था सुरेशको पढाइलाई निरन्तरता दिन सक्ने थिएन । उनले बाल्यकालमै काम गर्न थाल्नुपर्यो । उनले १० वर्षको उमेरमा मजदुरका रूपमा काम गर्न थाले । गाउँमा धेरै विकल्प नभएपछि मजदुरी गर्न उनी मुम्बई आए ।
मुम्बई नयाँ सहर थियो, उनलाई चिन्ने जान्ने त्यहाँ कोही थिएनन् । उनीसँग काम थिएन र पनि उनी हार नमान्न कटिबद्ध थिए । रेलवे स्टेसनको छेउमा एउटा सानो ढाबामा काम पाए उनले । त्यहाँ दिनभरि काम गरेबापत महिनाको चार रुपैयाँ पाउने गरी काम गर्न थाले ।
त्यहाँ उनले चार रुपैयाँ तलबमा दुई वर्ष काम गरे । पछि उनलाई चिनेका आफन्तले जुस पसलमा जागिर लगाइदिए । त्यहाँ पनि उनको तलब खासै बढेन, तर उनले त्यहाँको काम राम्रोसँग सिके ।
जुस पसलमा काम गर्न थालेको केही दिनमै उनले एउटा क्यान्टिनमा जागिर पाए । उनको तलब बढेर ६ रुपैयाँ पुग्यो । शिक्षा विना प्रगति गर्न गाह्रो छ भन्ने उनले राम्ररी बुझेका थिए ।
त्यसपछि दिनको १८–१८ घण्टा काम गरेर सुरेश राति स्कुल जान थाले । सुरेशलाई पढ्न मनपर्ने भएकाले उनले पढाइलाई निरन्तरता दिए ।
९ कक्षासम्म पढेपछि उनले अगाडि पढ्न सकेनन् । अलिकति पैसा जोगाएर गिरगाउँ चौपाटी नजिकै एउटा सानो पाउभाजी पसल खोले सुरेशले ।
पाउभाजीको स्वाद यस्तो थियो कि उनको पसल चल्न थाल्यो । तत्कालीन ट्रेड युनियनका अध्यक्ष र दिग्गज नेता जर्ज फर्नान्डिसले एकपटक उनको पसलमा पाउभाजी खाएका थिए ।
उनलाई स्वाद यति मन पर्यो कि उनी त्यहाँ बारम्बार आउन थाले । जर्ज फर्नान्डिस र सुरेश साथी बने । उनको पाउभाजी पसल राम्रै चल्न थाल्यो । बिस्तारै उनले व्यवसाय विस्तार गर्न थाले । केही वर्षमै उनको पसल देशका धेरै ठाउँमा पुग्यो । अहिले ‘सुख–सागर’ को भारतमा २२ भन्दा बढी रेस्टुरेन्ट शाखाहरू छन् ।
उनको रेस्टुरेन्ट साउथ इन्डियन, पाउभाजी, पञ्जाबी खानाका लागि प्रसिद्ध छ । उनी आइसक्रिम पार्लर, सपिङ मल र तीन तारे होटलको मालिक बनेका छन् ।
सुख–सागर रेस्टुरेन्ट भारतबाहेक मध्यपूर्वी देशहरूमा समेत पुगेको छ । अमिताभ बच्चनसहित धेरै स्टारले उनको रेस्टुरेन्टमा खाना खाइसकेका छन् । सबै कठिनाइका बाबजुद सुरेशले सफलता हासिल गरे । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.