२०८० चैत १८ गते ११:४० विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन् ।
शनिबार पोखरामा भएको गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि ढकाल थिए । गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले बताए । महासंघको विधानमा बार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे ।
ढकालले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासंघको वार्षिक साधारण सभा आयोजना गर्ने बताए । उनले महासंघको अध्यक्षको हैसियतमा पहिलो वर्ष नै संकटग्रस्त अर्थतन्त्रको सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्रलाई प्रतिष्ठा प्रदान गर्न धेरै पहल गरेको बताए ।
महासंघका अध्यक्ष ढकालले विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्ने बताए । ढकालले लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको बताए । ‘उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नु परेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने कुरा सम्बन्धित निकायले बुझेका छैनन्’, उनले भने ।
राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थालेको अध्यक्ष ढकालले बताए । बजार अनुगमन बढेको गुनासो आइरहेको उनले बताए । उनले नियमविपरीत काम नगर्न व्यवसायीलाई आग्रह गर्दै निजी क्षेत्रलाई आतंकित नगर्न सरकारसँग आग्रह गरे ।
निजी क्षेत्रको आत्तिइरहने हो भने राजस्व सङ्कलन प्रभावित हुने र सरकार चलाउन गाह्रो हुने उनले बताए । ‘यस वर्षको वार्षिक साधारण सभामा हामीले सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई आमन्त्रण गरेका छौं र राम्रो व्यापारिक वातावरणका लागि हामी उहाँहरूको प्रतिबद्धता खोज्नेछौं’, उनले भने ।
अध्यक्ष ढकालले महासंघले चाँडै लगानी कम्पनी खोल्ने तर त्यो महासंघको स्वामित्वमा नहुने जानकारी दिए । हामी लगानी कम्पनी स्थापना र प्रवर्द्धन गर्न प्रारम्भिक पहल मात्र गर्नेछौं। मुलुकभरका व्यवसायीलाई एकै ठाउँमा ल्याउने पहल भएको र पछि व्यावसायिक रूपमा सञ्चालन गरिने उनले जानकारी दिए । गैरआवासीय नेपाली तथा अन्य निजी क्षेत्रका संस्थाले पनि यसमा लगानी गर्न सक्ने उनले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.