२०८० चैत २३ गते १३:५१ विकासन्युज
काठमाडौं । मारूती सिमेन्टको व्यापार ७१ करोड १० लाखले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०२३ मा कम्पनीको व्यापार सो मात्रा अर्थात १४ प्रतिशतले घटेको हो ।
आर्थिक वर्ष २०२३ मा कम्पनीले ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी २०२२ मा ५ अर्ब ५ करोड र २०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको व्यापार कम्पनीले गरेको थियो । विगत दुई वर्षको तथ्यांकअनुसार कम्पनीको व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिन्छ ।
सन् १९९४ मा स्थापना भएको मारूती सिमेन्टलाई हालको व्यवस्थापनले सन् २००५ मा लिएको थियो । हाल कम्पनीलाई राथी ग्रुप र गोयल ग्रुपका उद्योगी तथा व्यवसायीहरुले व्यवस्थापन गर्दै आएका छन् । कम्पनीको व्यवस्थापकीय टीममा नन्द किशोर राथी, सुनिल खेम्का, दिनबन्दु गोयल, अनुज राथी र शरद गोयल गरी पाँच जना रहेका छन् । कम्पनीमा यी पाँचै जनाको सेयर स्वामित्व बराबर रहेको छ ।
कम्पनीले हाल उत्पादन र १५ सय एमटीपीडीको क्लिंकर क्षमता र २ हजार एमटीपीडीको ग्रिनडिङ क्षमता भएको सिमेन्ट बिक्री गर्दै आएको छ ।
नेपालको सिरहाको मिर्चियामा रहेको उक्त कम्पनीले आफ्नो क्लिंकर र ग्रिनडिङ क्षमतालाई वृद्धि गर्दै लैजाने योजना बनाएको छ ।
कम्पनीले ५ अर्ब ५५ करोड ६५ लाखको ऋणको लागि रेटिङ्ग गराएको छ । कम्पनीले रेटिङ्ग एजेन्सी केयर रेटिङ नेपालमा दीर्घकालीन कर्जाको लागि तीन अर्ब ६५ करोड ८४ लाख र अल्पकालीन कर्जाको लागि एक अर्ब ८९ करोड ८१ लाख रुपैयाँ बराबरको रेटिङ्ग गराएको छ । तर केयर रेटिङले दुबै कर्जाको रेटिङ्गलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेशन’ मा राखेको छ । जसले क्रेडिट मूल्याङ्कनमा डाउनग्रेड हुने सम्भावना बढी रहेको बुझाउँछ । यससँगै कम्पनीको उक्त साढे ५ अर्बको ऋण दबाबमा रहेको देखिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.