२०८० चैत २४ गते १०:१२ विकासन्युज
काठमाडाैं । किसान देशका मेरुदण्ड हुन् । तर, अहिलेकाे अवस्थामा कृषिमा आबद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ कृषिको लागि त्यति नै कठिन छ ।
यसकाे कारण कृषिप्रतिको अविश्वास तथा व्यवसायी कृषि प्रणालीको अभाव हो । अर्को कुरा सरकारको उदासिनता पनि । किसान लाखौं लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर, वस्तुको बजार सिमित छ । निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ ।
गर्मी सुरु भएको छ । गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यतिबेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान ।
तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा भेटिन्छन् । हुनतः खेतीपातीको काम गर्ने किसानलाई गर्मी र जाडोको छुट छैन । समयमा गर्नु परिहाल्छ नै । असरल्ल काम छोडेर गर्मी र जाडो भन्दै बस्ने छुट किसानलाई हुँदैन ।
लगाएको खेतीपाती समयमै भित्र्याएर नयाँ सिजनको खेती गर्नमै किसान रमाउँछन् । यतिबेला उनीहरूलाई नयाँ वर्षको रमझमभन्दा खेतीपाती नै प्यारो छ ।
न्युज एजेन्सी नेपाल
Copyright © 2024 Bikash Media Pvt. Ltd.