किन बढ्यो भारतमा लक्जरी र प्रिमियम घरको माग ?

  २०८१ वैशाख २९ गते ११:३०     विकासन्युज

काठमाडौं । भारतमा लक्जरी र प्रिमियम घरहरूको मागमा पछिल्लो पाँच वर्षमा ठूलो परिमाणले वृद्धि भएको छ ।

सन् २०१९ को पहिलो त्रैमासिकमा बिक्री भएका घरहरूमध्ये विलासी घरको संख्या ७ प्रतिशत थियो, जुन २०२४ को पहिलो त्रैमासिकमा बढेर २१ प्रतिशत पुगेको छ ।

यस अवधिमा बजेट घर वा किफायती घरको बिक्रीमा २० प्रतिशतले कमी आएको छ । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा यो जानकारी आएको हो ।

तीन गुणा बढ्यो विलासी घरको माग

भारतीय सम्पत्ति परामर्शदाता फर्म एनारकको प्रतिवेदनमा जनवरीदेखि मार्चसम्मको अवधिमा देशका सात ठूला सहरमा १ लाख ३० हजार घर बिक्री भएको थियो जसमध्ये २७ हजार ७० युनिट (२१ प्रतिशत) विलासी घर थिए ।

त्यसैगरी, २०१९ को पहिलो त्रैमासिकमा यो संख्या ७ प्रतिशत थियो अर्थात् पछिल्लो ५ वर्षमा ३ गुणाले बढेको छ ।

२०२४ को पहिलो त्रैमासिकमा २६ हजार ५ सय ४५ किफायती घर बिक्री भएका थिए, जुन कुल घर बिक्रीको २० प्रतिशत थियो । पाँच वर्षअघि यो संख्या ३७ प्रतिशत थियो ।

किन बढ्यो प्रिमियम अपार्टमेन्टको माग ?

अन्तरिक्ष इन्डियाका सीएमडी राकेश यादवले कोरोना महामारीपछि ठूला आकारका घरहरू मानिसको पहिलो रोजाइ बनेको बताए ।

जसका कारण राम्रो सुविधा भएका ठूला अपार्टमेन्ट र प्रिमियम, लक्जरी घरको माग धेरै गुणा बढेको छ ।

घरको मूल्यको कुरा गर्ने हो भने १ करोड वा त्यसभन्दा बढी मूल्यका घरको बिक्री २० प्रतिशतबाट ३० प्रतिशत पुगेको छ ।

घर खरिदकर्ताको माग पूरा गर्न निर्माण व्यवसायीले ठूला घर निर्माण गरिरहेका छन् । जसका कारण देशका सात प्रमुख सहरमा फ्ल्याटको औसत आकार ११ प्रतिशतले बढेको छ ।

दिल्ली-एनसीआरमा लक्जरी घरहरूको बम्पर बिक्री

पहिलो त्रैमासमा दिल्ली(एनसीआरमा कुल १५ हजार ६ सय ४५ घरहरू बिक्री भएका थिए, जसमध्ये ६ हजार ६० युनिट वा ३९ प्रतिशत लक्जरी घर थिए र जसको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा माथि थियो ।

पाँच वर्षअघि दिल्ली(एनसीआरमा कुल १३ हजार ७ सय ४० घरहरू बिक्री भएका थिए, जसमध्ये ४ प्रतिशत मात्र विलासी थिए ।

२०२४ को पहिलो तीन महिनामा मा बेंगलुरु, मुम्बई महानगर क्षेत्र, चेन्नई, पुणे र हैदरावादमा बेचिएका घरहरू मिडरेन्ज र प्रिमियम सेगमेन्टमा ४० लाखदेखि डेढ करोड रुपैयाँसम्मका थिए । एजेन्सी