२०८१ वैशाख ३० गते १०:५१ विकासन्युज
काठमाडौं । सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका व्यक्तिहरूले आईतबार काठमाडौंमा १५ मिनेट चक्काजाम गरी दवावपूर्ण र्याली निकालेका छन् । शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका छन् ।
तनहुँका दीपक भण्डारी शान्ति वाटिकामा आमरण अनसनरत छन् । उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमति भएको थियो । सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही वैशाख १ देखि सुरु गर्ने भनिएको थियो । यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि आमरण अनसन थालेका हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.