२०८१ वैशाख ३१ गते १८:०५ राधिका आचार्य
काठमाडौं । आइतबार विशेष आर्थिक क्षेत्र (सेज) ले सूचना जारी गर्दै उद्योग स्थापना, सञ्चालन र व्यवस्थापन गर्न इच्छुक लगानीकर्ता तथा उद्योगीहरूलाई आह्वान गर्यो । सूचनामा भनिएको छ ‘विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा ८ को उपदफा (१) तथा विशेष आर्थिक क्षेत्र नियमावली, २०७४ को नियम २४ तथा २५ बमोजिम विशेष आर्थिक क्षेत्रहरूमा उद्योग स्थापना, सञ्चालन र व्यवस्थापन गर्न इच्छुक लगानीकर्ता उद्योगीहरूलाई नियमावलीको अनुसूची ४ बमोजिमको आवेदन दिन यो सूचना आह्वान गरिएको छ ।’
यसरी सूचना आह्वान गरिरहेको भए पनि सेजमा नयाँ उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन् । शुक्रबार मात्रै हुन्डाईको एसेम्बल प्लान्ट सञ्चालनमा आयो । उक्त प्लान्ट निजी जग्गामा निर्माण भएर सञ्चालनमा आएको हो । दक्षिण कोरियाको गाडी निर्माता कम्पनी हुन्डाईको एसेम्बल प्लान्ट नेपालको नवलपरासीमा सञ्चालनमा आएको हो ।
लक्ष्मी मोटर कर्पोरेसनले २०७६ सालमा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो । १० बिगाहा जमिनमा स्थापना भएको यो प्लान्टबाट तत्काल भेन्यू उत्पादन सुरु भएको छ । केही महिनामा आईटेन र क्रेटा उत्पादन गरिने र एक वर्षभित्र हुण्डाईका इलेक्ट्रिक कार पनि उत्पादन हुने हुन्डाईले जनाइएको छ । केही वर्षभित्रै सीबीयू प्लान्ट सञ्चालनमा ल्याउने र हुण्डाईका कोरिया, भारतमा बन्ने गाडीहरू नेपालमा नै बनाउने लक्ष्मी मोटर्स कर्पोरेशनको योजना छ । प्रारम्भिक लगानी करिब साढे २ अर्ब रुपैयाँ छ भने प्लान्टको एसेम्ब्ली क्षमता वार्षिक पाँच हजार यूनिट रहेको छ ।
त्यस्तै सुरुवाती अवस्थामा सम्पूर्ण पार्टपुर्जा आयात गरेर नै कम्पनीले नेपालमा गाडी एसेम्बल गर्ने छ । तर, बिस्तारै नेपालमै कम्पनीले पार्ट्स पनि उत्पादन गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले सेजमा उद्योग खोल्नुको सट्टा निजी जग्गामा उद्योग खोल्नुको फाइदा धेरै रहेको बताउँदै आफूहरू सेजमा नगएको बताएको छ । सेजमा सञ्चालित उद्योगहरूले कम्तिमा ३० प्रतिशत सामान निर्यात गर्नुपर्ने प्रावधान छ । साथै, पानी, बत्तिलगायतका सुविधा पर्याप्त नभएको, भाडाबापत बुझाउनुपर्ने रकम महँगो भएको लगायतका गुनासो उद्योगीहरूले गर्दै आएका छन् । हुन्डाई एसेम्बल प्लान्ट पनि यिनै विभिन्न समास्याका कारण आफू सेजमा उद्योग नखोलेको सञ्चालक अञ्जन श्रेष्ठले बताए ।
‘सेजमा उद्योग सञ्चालन गर्नको लागि धेरै सर्तहरू पुरा गर्नुपर्ने हुन्छ, पानी, बत्ती लगायतका सुविधा पनि प्रयाप्त मात्रामा छैनन् । भाडा पनि महँगो छ, अनिवार्य निर्यात गर्नुपर्ने प्रावधान छ, त्यति मात्रै होइन आफ्नो उद्योग रहेको जग्गा बैंकमा राखेर कर्जा लिन्छु भन्दा त्यो पनि पाइँदैन,’ उनले भने ।
यस्ता थुप्रै समस्याकै कारण सेजमा उद्योग खोल्न नसकेको उद्यगीहरूको भनाइ छ । हाल नेपालमा भैरहवा र सिमरामा मात्रै सेज सञ्चालनमा छन् । अन्य सेजहरू सञ्चालनमा ल्याउनका लागि तयारी भइरहेका छन् भने कुनै निर्माणाधीन छन् ।
भैरहवा सेज ५२ बिगाह क्षेत्रफलमा फैलिएको छभने ६८ वटा प्लाट छन् । भैरहवा सेजलाई पाइलट प्रोजेक्टका रूपमा लिइएको छ । त्यस्तै, सिमरा सेज ८३३ बिगाहा क्षेत्रफलमा रहेको छ । जसमा विभिन्न ब्लकहरू छुट्याइएको छ । हाल १८३ बिगाहामा फैलिएको ‘ब्कल ए’ मात्रै सञ्चालनमा रहेको सेजले बताएको छ ।
भैरहवामा ७ वटा र सिमरामा ३ वटा गरी हाल १० वटा उद्योगहरू सेजमा सञ्चालन भइरहेको छन् । हाल सञ्चालित १० वटा उद्योगले भने उत्पादन दिइरहेका छन् । अन्य केही उद्योगहरू सञ्चालन गर्नको लागि सम्झौता भइसकेका छन् भने केही सुरुवात हुने प्रक्रियामा रहेको सेजले बताएको छ ।
निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने महत्वाकांक्षी उद्देश्यसहित सरकारले १५ माघ २०६० मा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने निर्णय गरेको थियो । राजनीतिक अस्थिरता र अलमलका कारण पटक-पटक निर्माण रोकिएको भैरहवा सेजको २०७१ मंसिरमा उद्घाटन भयो ।
विशेष आर्थिक क्षेत्र ऐन-२०७३ अनुसा २०७३ असोजमा प्राधिकरण स्थापना भयो । त्यसपछि मात्रै विशेष आर्थिक क्षेत्रले नेतृत्व पायो । निर्यात प्रवर्द्धन गर्ने, व्यापार घाटा कम गर्ने, विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी सिर्जना गर्ने, विदेशी लगानी र प्रविधि भित्र्याउने मूल उद्देश्य लिएको छ ।
सेजको पूर्वाधार बनाउन मात्रै १४ वर्ष लाग्यो । पूर्वाधार अभाव, नीतिगत अस्थिरता र नेतृत्वमा हेरफेरजस्ता कारण उद्योगीहरू आकर्षित हुन नसकेको बताउँछन् ।
सेजमा सञ्चालित उद्योगले कच्चा पदार्थ ल्याउँदा सेज प्रशासनको स्वीकृति चाहिन्छ । सेजमा उचित सुरक्षाको प्रबन्ध नभएको, प्रशासनिक भवन जीर्ण भएको, विद्युत आपूर्तिमा फिडर लाइन अभाव रहेको, प्लटहरू रुख र झारले झाँगिएको जस्ता समस्या रहेको उद्योगीहरू बताउँछन् । यिनै समस्याका कारण उद्योगीहरू सेजमा उद्योग खोल्न नचाहेका हुन् भन्ने प्रश्नमा सेजका सूचना अधिकारी तुलसीराम मरासिनी भन्छन्, ‘सुरु-सुरुमा भएकोले विगतमा त्यस्तो समस्या थियो, तर अहिले धेरै समस्याहरू समाधान भइसकेका छन् ।’
भैरहवा सुरुवाती प्रोजेक्ट भएका कारण सबै समस्या एकै पटक समाधान गर्न नसकेको जिकिर उनको छ ।
‘सुरुवाती चरण भएकोले नीति नियम, कानुन र केही व्यवस्थापकीय पक्षहरूमा हामी कमजोर भएका थियौं,’ उनी भन्छन्, ‘यद्यपि, हामीले सुरक्षाको विषय चाहीँ अझै सुल्झाउन सकेका छैनौं, गृहमन्त्रालयसँग सहकार्य भइरहेको छ, चाँडै समाधान गर्ने प्रयासमा छौं ।’
उनका अनुसार हाल कानुन संशोधन भएर ३० प्रतिशत सामान निर्यात गर्नुपर्ने व्यवस्था छ । ‘पहिले ६० प्रतिशत सामान निर्यात गर्नुपर्ने हुन्थ्यो, हाल कानुन संशोधन भएर ३० प्रतिशतमा झरेको छ,’ उनी भन्छन्, ‘चार वर्षसम्म १५ प्रतिशत र त्यसपछि ३० प्रतिशत भनेर कानुन परिमार्जन भएको हो ।’
सेजले दिने सुविधामा कच्चा पदार्थमा कर नलाग्ने, ५ वर्षसम्म आयकरमा छुट, भाडामा पहिलो वर्ष ५० प्रतिशत छुट र त्यसपछि नियमअनुसार क्रमशः छुट कम हुँदै जाने लगायतका सुविधा दिएको छ । सेजमा हाल भाडा भने प्रतिस्क्वायर फिट २० रुपैयाँ रहेको उनले बताए ।
‘विगतमा निर्यातको प्रतिशत केही धेरै थियो, त्यसैले पनि उद्योगहरूले भने जति निर्यात गर्न सकिँदैन कि भनेर पनि सेजमा उद्योग खोल्न मान्नुभएन,’ उनी भन्छन्, ’तोकिए बमोजिमको मात्रामा निर्यात नगरे बिगो तिर्नुपर्ने कानुनका कारण पनि सेजमा आकर्षण भएन, तर हाल यी समस्याहरू बिस्तारै समाधान हुँदै गइरहेका छन्, अब सेजमा ठूला उद्योगहरू बढ्छन् ।’
यद्यपि, हाल भैरहवा सेजमा ६८ वटा प्लटहरूमध्ये २० वटा खाली छन् । त्यस्तै, सिमरामा पनि ६९ प्लटमध्ये ३२ वटा खाली रहेको सेजले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्ममा सेजबाट ३४ करोड १४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान निर्यात भइसकेको छ । सेज सञ्चालनमा आएको ५ वर्ष पूरा भइसकेको छ । यस अवधिमा सेजबाट १ अर्बभन्दा बढीको सामान निर्यात भएको सेजको तथ्यांकले देखाउँछ । निर्यात गर्ने उद्योगहरू सबै भैरहवामा सञ्चालित हुन् । सिमरामा भएका उद्योगहरू भने भर्खरै उत्पादन सुरु गरेको सेजले बताएको छ ।
नेपालबाट निर्यात हुने मुख्य वस्तुका उद्योग भने सेजमा खुल्न नसकेको विज्ञहरू बताउँछन् । त्यस्तै, भारत बाहेकका अन्य मुलुकमा तयारी पोशाक, उनका गलैंचा, पस्मिना, प्रशोधित तथा तयारी छाला, चाँदीका गरगहना, हस्तकलाका सामान, नेपाली कागज र चिया लगायतका वस्तु निर्यात हुने गरेका छन् । सेजमा अहिले शक्ति मिनरल्स, ब्रिलियन्ट लाइटनिङ इन्डस्ट्रिज प्रालि, भिस्टार ग्लोबल प्रालि, पञ्चकन्या एसएस एक्स्पोर्ट, एस पोलिफर्म, जय बुद्ध मेटल क्राफ्ट प्रालि लगायतले उत्पादन सुरु गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.