२०८१ वैशाख ३१ गते ७:२३ विकासन्युज
लक्ष्मी ग्रुपअन्तर्गत लक्ष्मी मोटर्स कर्पोरेशनले नवलपरासीकाे परासीस्थित रामग्राममा हुण्डाई ब्राण्डमा कार एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याएको छ । १० बिगाहा जमिनमा स्थापना भएको यो प्लान्टबाट तत्काल भेन्यू उत्पादन सुरु भएको छ । केही महिनामा आईटेन र क्रेटा उत्पादन गरिने र एक वर्षभित्र हुण्डाईका इलेक्ट्रिक कार पनि उत्पादन हुने जनाइएको छ । प्रारम्भिक लगानी करिब साढे २ अर्ब रुपैयाँ छ भने प्लान्टको एसेम्ब्ली क्षमता वार्षिक पाँच हजार यूनिट रहेको छ । यो उद्योगमा हुण्डाई मोटर्सको पनि लगानी हुने र त्यसमा ३० अर्ब रुपैयाँ लगानी हुन सक्ने लक्ष्मी मोटर्स कर्पोरेशनका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले बताएका छन् । प्रस्तुत छ आर्थिक मन्दीका बीच यति ठूलो परियोजना अगाडि बढाउँदै गरेका नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसमेत रहेका लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठसँग विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस:
नेपालमा कार उत्पादन जस्तो अत्यन्तै साहसिक र प्रशंसनीय कार्य थाल्नुभयो । कसरी सम्भव भयो ?
हामीले सन् २००९ बाट हुण्डाईको आधिकारिक बिक्रेताका रूपमा नेपालमा काम गर्दै आएका छौं । त्यतिबेलै कुनै दिन एसेम्ब्ली प्लान्ट सञ्चालन गर्ने मनमा थियो । त्यो उत्साह र कुतकुती सधैं रहिरह्यो । १५ वर्षपछि आज हामी सफल भएका छौं ।
हण्डाई कम्पनीको कार एसेम्ब्ली हुनु भनेको नेपालमा उद्यमीहरूको उत्कृष्ट नमुना हो । किनभने छोटो अवधिमा प्लान्ट तयार पार्नु आफैंमा चुनौतीको विषय हो । लक्ष्मी समूह ५० वर्ष पुग्दा एसेम्ब्ली प्लान्टको स्थापना भएको छ । ३ सय रुपैयाँ पुँजीबाट सुरु भएको लक्ष्मी समूहकाे व्यवसाय ५० वर्षमा एसेम्ब्ली प्लान्ट बनाउन सफल भएको छ । अथवा अटोमोबाइल बनाउने उद्योगमा पुगेको छ । साथै, नेपाल-कोरिया दौत्य सम्बन्ध ५० वर्ष पुगेकै वर्ष र लक्ष्मी समूह पनि ५० वर्ष पुगेको सुखद क्षणमा हुण्डाई गाडी स्वेदशमै उत्पादन सुरु भएको छ ।
नेपालमा सीयो पनि उत्पादन हुँदैन भनिन्थ्यो । तर, अहिले गाडी उत्पादन भइरहेका छन् । प्रविधि र अटोमोबाइल क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ । नेपाल सरकारले औद्योगिकीकरणको ४.० (औद्योगिकीरणका विभिन्न चरण मध्ये एउटा चरण) सुरुवात गरेको छ । अहिले विश्व औद्योगीकीकरणको चौथो चरणमा आइपुग्दा सरकारले घोषणा गरेबमोजिम हुण्डाई गाडी स्वदेशमै एसेम्ब्ली हुनु नेपालमा पनि ४.० सुरु भएको छ । अब अन्य उद्योग स्थापना गर्ने वातावरण सुरु भएकाले नेपालमा औद्योगीकरणको नयाँ आयाम थपिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग उद्घाटन तथा अवलोकन गर्नुभयो, चारैतिरबाट बधाई तथा शुभकामना पाइरहनुभएको छ । कस्तो अनुभूति भइरहेको छ ?
राष्ट्र र समाजका लागि योगदान पुग्ने काम गरेको हुँदा मनमा छुट्टै किसिमको अनुभूति भइरहेको छ । मनमा उर्जा, उत्साह छाएको छ । ठूलो उपलब्धि प्राप्ति गरे सरह गर्व लागेको छ । लक्ष्मी समूह ५० वर्ष पुग्दा एसेम्ब्ली सञ्चालनमा सफल हुँदा गौरवको अनुभूति भइरहेको छ ।
सँगसँगै गाडी उत्पादन जस्तो ठूलो र निकै प्रतिस्पर्धात्मक उद्योगमा लगानी गर्दा मनमा डर पनि होला नि ?
गाडी एसेम्ब्लीका विभिन्न चरणहरू हुन्छन् । जसमध्ये अहिले हुण्डाईको एसकेडी प्लान्ट बनेको छ । एसकेडीबाट सीकेडी चरणमा जान्छौं । त्यसपछि सीबीयू (कम्पिलिट व्यूल्ट युनिट) प्लान्ट स्थापना गर्नेछौं । त्यसका लागि हुण्डाई कम्पनी पनि लगानी गर्न तयार छ । सीबीयू प्लान्ट स्थापना गर्ने चरणमा पुग्दासम्म करिब ३० अर्ब रुपैयाँ लगानी आवश्यक हुन्छ । ठूलो लगानी गर्न प्रोत्साहन गर्ने काम राज्यले गर्नुपर्ने हुन्छ । हाम्रो राज्यले बनाएका कानुनहरू कार्यान्वयन गर्दा विभिन्न कोणबाट व्याख्या गर्ने, त्यसको स्पष्टता र निरन्तरता नहुने, प्रक्षेपणयुक्त नहुने समस्याका कारण अलिकति मनमा शंका लाग्छ । तर, यतिको लगानी भएको वा अझै योभन्दा बढी लगानी हुन सक्ने गरी अगाडि बढिरहेको उद्योगलाई राज्यले पक्कै पनि सहयोग गर्छ भन्ने अपेक्षा छ । त्यसका लागि हामीले राज्यसँग पनि अनुरोध गरिसकेका छौं । राज्यप्रति विश्वास लिएर अगाडि बढिरहेका छौं ।
नेपालका व्यवसायीहरू ट्रेडिङ र सेवा व्यवसायमा बढी केन्द्रित छन् । ट्रेडिङ र सेवा व्यवसायमा जस्तो छिटो र उच्च दरको नाफा उत्पादन मुलक उद्योगमा हुँदैन भनिन्छ । तपाईंहरू हुण्डाईको आधिकारिक बिक्रेताका रूपमा काम गरिरहनुभएको छ । उद्योग सञ्चालन गर्नुपर्छ भनेर किन सोच्नुभयो ?
लक्ष्मी समूहको सुरुवात भनेको उत्पादनमुलक उद्योगबाट नै भएको हो, व्यापारमा हामीले पछि हात हालेका हौं । त्यसकारण उत्पादनमुलक उद्योगमा हाम्रो इच्छा बढी छ । हाम्रो धेरैभन्दा धेरै लगानी उत्पादनमुलक उद्योगमा नै छ । तर, अटोमोबाइल क्षेत्र ग्ल्यामर भएकाले यसले लक्ष्मी ग्रुपलाई बढी चिनायो । तै पनि हामी उत्पादनमुलक उद्योगमा काम गरिरहेका छौं । फूड प्रोसेसिङ, डेरी, प्लास्टिङ, प्याकेजिङ, स्टिल उद्योग अहिले पनि सञ्चालनमा छन् । त्यसमा अर्को नयाँ उद्योग कार एसेम्ब्ली प्लान्ट थपेका छौं ।
उद्योगको सुरुवात व्यापारबाटै हुने हो । किनभने, व्यवसाय ठूलो आकारमा हुन थाल्यो भने उद्योगमा रूपान्तरण हुने चाहना सबैको हुन्छ । तर, सरकारले औद्योगिकीकरणका लागि व्यापारको भन्दा फरक वातावरण बनाउनुपर्छ । अहिले व्यापार र उद्योगलाई हेर्ने नजर एउटै छ । यसलाई परिवर्तन गर्न जरुरी छ । र, फरक दृष्टिबाट हेर्नुपर्छ । सरकार, कर्मचारीतन्त्र, समाजले उद्योगलाई सकारात्मक कोणबाट हेर्नुपर्छ । उद्योग र व्यापारलाई दिने सहुलियत फरक हुनुपर्छ । उद्योग सञ्चालन गर्न लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ । किनभने, विगतमा उद्यमशीलता मर्ने गरी व्यवहार भएका प्रशस्त उदाहरण छन् ।
सरकारले उद्योगहरूका लागि बनाएको विशेष आर्थिक क्षेत्र घाम पानी खाएर बसिरहेको छ । तर, तपाईंले १० विगाहा जमिन किनेर प्लान्ट लगाउनुभएको छ । नेपालमा जग्गा महँगो भएकाले लगानी जुटाउन गाह्रो छ । जमिन टुक्राटुक्रा भएकाले फराकिलो क्षेत्रफलको जग्गा पाउन पनि कठिन छ । तपाईंहरूले निजी जग्गा किनेर प्लान्ट बनाउनुपर्ने अवस्था किन आयो ?
भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) १८/२० वर्ष अगाडि स्थापना भएको हो । सेजको आकार सानो छ भने अहिले पनि पर्याप्त पूर्वाधार छैनन् । अहिले पनि त्यस क्षेत्रमा पर्खाल लगाइएको छैन । उद्योगका लागि सामान्य घेरबार हुनुपर्छ । २० वर्ष हुँदा पनि अहिलेसम्म जग्गा घेरबार भएको छैन । र, विद्युतको सप्लाइ गर्न भरपर्दो माध्यम पनि बनिसकेको छैन । उद्योगलाई प्रोत्साहन कसरी गर्ने भन्ने पनि थाहा छैन । सेजले राज्यलाई कर संकलन र रोजगारी दिने हो । तर, भाडा संकलन गरेर नाफा मात्रै गर्ने मानसिकतामा सेज चलिरहेको छ ।
साथै, सेजका धेरै प्रावधानहरू निजी क्षेत्रका लागि परिवर्तन गर्नुपर्ने छन् । म सेजको बोर्डमा हुँदा दिएका सुझाव अहिले पनि लागु हुन सकेका छैनन् । त्यसकारण उद्योगहरू सेजमा जान नचाहेका हुन् । त्यस्तै, हामीलाई जग्गा बढी चाहिने भएकाले आफैं व्यवस्था गरेका हौं । आगामी दिनमा उद्योगको विस्तार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले अहिले नै बढी जग्गा लिएका हौं । केही उद्योगलाई सेजमा स्पेस नदिएका घटनाहरू पनि छन् । उद्योग सञ्चालन गर्दा ऋण लिनुपर्ने हुन्छ । तर, सेजको जग्गा सरकारी भएकाले उद्योग लगाउन बैंकबाट कर्जा पाउन पनि सहज छैन, किनकी जग्गा धितो राख्न मिल्दैन । औद्योगिक क्षेत्रमा कर्जा दिने व्यवस्थालाई सहजीकरण गर्नुपर्छ । एउटा मेसिन राख्न पनि लगानी गर्न गाह्रो छ । यस्तो अवस्थामा कसरी सेजभित्र उद्योग सञ्चालन गर्ने ? यसमा सेजले सहजीकरण वा ग्यारेन्टी बस्नुपर्छ । कर्जाका लागि ग्यारेन्टी बस्ने होइन कि कर्जा पाउने गरी व्यवस्थामा सहजीकरण गर्नुपर्छ । बङ्गलादेश, भारतको तुलनामा नेपालका सेजलाई धेरै सुधार गर्नुपर्ने छ । अहिले हाम्रो उत्पादन निर्यात गर्नको लागि होइन । तर, सेजमा सञ्चालन भएका उद्योगले ६० प्रतिशत निर्यात गर्नुपर्छ । पहिला ७५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था थियो । उद्योग सञ्चालन गर्ने बित्तिकै सुरुमै नै निर्यात हुँदैन । यसलाई सजिलो बनाउनुपर्छ ।
विगत २ वर्षमा बैंकको ब्याजदर उच्च बिन्दुमा थियो । बैंकबाट कर्जा लिन कठिन थियो । आर्थिक मन्दीका कारण कारोबार ठप्प थियो । उद्योगी व्यवसायीहरूले कर्जा लिएनन्, नयाँ व्यवसाय सुरु गरेनन् भन्ने सुनिन्थ्यो । यस्तो कठिन समयमा कसरी स्टिल उद्योग स्तरवृद्धि र कार एसेम्ब्ली युनिट स्थापाना गर्नुभयो ?
स्टिल उद्योगमा त बाध्यात्मक रूपमा लगानी गर्नुपरेको हो । कसरी लगानी गरेको र कसरी जोहो गरेको हो भन्ने विषय हामीलाई मात्रै थाहा छ । एसेम्ब्लीमा बैंकहरूले सहयोग गरेका छन् । स्टिल उद्योगमा बैंकहरूले सहयोग गरेका हुन् । तर, कर्जाको ब्याज उच्च छ । यो उद्योग दगो बनाउन असहज स्थिति छ । अहिले बैंकको ब्याज एकल अंकमा झरेको छ । नयाँ कर्जा मात्र सस्तो छ । आधार दर पनि ८ प्रतिशतमा झरिसकेको छ । तर, पुरानो कर्जामा ब्याज अझै महँगो परेको छ । यसमा राष्ट्र बैंकले नीति ल्याएर सहज व्यवस्था गर्नुपर्छ । किनभने पुराना व्यवसायहरू धस्सिएका छन् । उनीहरू तंग्रिन सकिरहेका छैनन् ।
विगतमा बजारको डिमाण्ड र सप्लाइको कारण ब्याजदर उच्च नभई राष्ट्र बैंकको नीतिका कारण बढेको हो भन्ने त सबैलाई छर्लङ्ग छ । बैंकले ब्याज घटाउनेभन्दा पनि उद्योगलाई दिगो हुने गरी कायम गर्नुपर्छ । किनभने, पुरानो कर्जाहरू सस्टेन हुन सक्ने स्थितिमा छैनन् । त्यसकारण पुराना कर्जाहरू बारम्बार रिस्ट्रक्चरिङ गर्नुपरेको छ । पुस र चैतमा रिस्ट्रक्चरिङ भयो । र, अब असारमा पनि गर्नुपर्ने अवस्था छ । त्यसकारण एक्जिस्टिङ कर्जामा पनि ब्याजदर घट्नुपर्छ ।
नेपालको पहिलो कार उत्पादन प्लान्ट सञ्चालन गर्दै गर्दा उद्घाटनको दिन प्रधानमन्त्रीले कुनै प्रोत्साहन दिने, सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ?
हामीले ४ बुँदामा माग राखेका छौं । प्रधानमन्त्रीले यस विषयमा छलफल गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
के छन् ती बुँदामा ?
उद्योगलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने नै हो । उद्योगमैत्री वातावरण हुनुपर्यो । सरकारको नीति स्थिर हुनुपर्यो । व्यापार घाटा कसरी कम गर्न सकिन्छ भनेर सरकारले पनि सोच्नुपर्यो ।
नेपालमा एसेम्ब्ली भइसकेपछि कारको मूल्य घट्छ भन्ने धेरैको अपेक्षा छ । मूल्य कति घट्छ ?
लागतको विषयमा हिसाबकिताब भइरहेको छ । एक/दुई दिनमा मूल्य सार्वजनिक हुन्छ । मूल्य सार्वजनिकसँगै हामी सकारात्मक सन्देश दिनेछौं ।
अबका योजना के-के छन् ?
अब आइटेन क्रेटा एसेम्ब्ली गर्ने तयारी छ । अर्को वर्षदेखि हुण्डाईको इलेक्ट्रिक कार पनि एसेम्ब्ली गर्छौं । त्यो हुण्डाई डेडिकेडेट प्लान्ट हो । हुण्डाइका कोरिया, भारतमा बन्ने गाडीहरू सबै निर्माण हुन्छन् । अहिलेसम्म हामीले मात्रै लगानी गरेका छौं । हुण्डाई मोटर्स पनि लगानी गर्न इच्छुक छ । प्लान्टलाई अर्को चरणमा लैजाने विषयमा छलफल भइरहेको छ । अहिले एसकेडी प्लान्ट हो । एसकेडीबाट सीकेडी प्लान्ट गर्ने र सीकेडी प्लान्टबाट सिबियू (कम्प्लिट व्यूल्ट युनिट) प्लान्ट बनाउने लक्ष्य छ । सीबीयू प्लान्ट बनाउन करिब ३० अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ । अहिलेसम्म साढे २ अर्बदेखि ३ अर्ब रुपैयाँ मात्रै लगानी भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.