२०७३ माघ ३ गते २१:१४ रामकृष्ण पाैडेल
काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको शुभ विवाह सोमबार राष्ट्रपति भवनमा भव्यताका साथ सम्पन्न भएको छ । साथै यो विवाह ऐतिहासिक महत्वको भएको छ ।
गणतन्त्र स्थापनापछि राष्टपति भवनमा आयोजित यो पहिलो विवाह हो । जहाँ राष्टपति विद्यादेबी भण्डारी, पूर्व राष्टपति डा रामवरण यादव र पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति थियो । सत्ता गुमाएका राजा र राष्ट्रपतिबीच प्रत्यक्ष भएको सम्भवत यो पहिलो भेट हो ।
रोचक पक्ष के देखिएको छ भने उक्त विवाह समारोहमा प्रथम राष्ट्रपति डा रामवरण यादव, प्रथम महिला राष्ट्रपति विद्यादेबी भण्डारी भन्दा पुस्तौली सत्ता गुमाएका पूर्व राजा ज्ञानेन्द्र शाह प्रशन्न्, प्रफुलित र हँसिला देखिन्थे ।
पूर्वराजा शाहले बरबधुलाई शुभकामना तथा बधाई दिदै दुई हात जोडेर नमस्कार गरेको दृष्यले धेरैलाई आश्चर्य बनाएको थियो ।
राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिएकी थिइन् ।
विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास पुगेका थिए ।
विवाह समारोहमा राष्ट्रपति भण्डारी एवम् उनका परिवार र आफन्तजनको सहभागिता थियो ।
सो अवसरमा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावको समेत उपस्थिति थियो ।
राजनीतिमा तराई र पहाडबीच तिक्तता देखिए पनि राष्ट्रपतिकी छोरी भण्डारी र पूर्व राष्ट्रपतिका नाति यादवबीच चलेको अन्तरजातिय प्रेम ऐतिहासिक विवाह हुँदै दाम्पत्य जीवनमा परिणत भएको छ ।
दुबै जनाले राष्ट्रपति भवनको विवाह मण्डपमा आगो साक्षी राखेर जीवनभर साथ दिने प्रण गरेका छन् । उनीहरुबीच विगत सात वर्षदेखि प्रेम सम्बन्ध रहेको बताईएको छ ।
(तस्बिरः रोशन सापकोटा र राष्टपति कार्यालय, रासस)
Copyright © 2024 Bikash Media Pvt. Ltd.