२०८१ जेठ २२ गते १९:३४ सीआर भण्डारी
काठमाडौं । भुक्तानी सेवालाई विस्तार र प्रभावकारी बनाउन एक दशकअघि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) खुल्यो । बैंकिङ क्षेत्रका लागि आवश्यक सूचना प्रविधि पुर्वाधार उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको नेप्स एक दशकपछि विलय भयो ।
सानो पुँजी र सहकारी मोडलमा १२ वटा बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनीको रूपमा सञ्चालित नेप्स भुक्तानी उद्योगमा बलियो र अब्बल कम्पनीका रूपमा उभिएको थियो । विभिन्न आरोह-अवरोहकाबीच नेप्सले इनोभेसन र विशिष्टीकृत सेवा प्रदान गर्दै भुक्तानी उद्योगमा विशेष र छुट्टै पहिचान बनाउन सफल थियो । तर, जेठ २१ गते (सोमबार)देखि भुक्तानी उद्योगका लागि नेप्स सम्झानामा मात्रै रह्यो ।
नेपालको डिजिटलाइजेशन यात्रामा अहम र परिवर्तनकारी भूमिका खेल्न सफल नेप्सले भुक्तानी प्रणालीलाई सुरक्षित, स्वस्थ, प्रभावकारी र डिजिटल साक्षरता बढाउन अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेको छ । आफ्नो एक दशक लामो इतिहासलाई बिट मार्दै नेप्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)मा विलय भएको छ ।
मुलुकभित्र अनलाइन भुक्तानी प्रणालीको पुर्वाधार निर्माण र सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको अगुवाईमा २३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीको संयुक्त लगानीमा वि.सं २०६५ पुस ८ गते एनसीएचएल सञ्चालनमा आएको थियो । पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) अवधारणा अन्तर्गत ९ करोडको प्रारम्भिक लगानीमा खुलेको एनसीएचएल १५ वर्षमा नेप्सलाई प्राप्ति गर्न सफल भयो ।
एनसीएचएल स्थापनाकालमा सञ्चालक समितिमा रहेर भूमिका निर्वाह गरेका महाप्रसाद अधिकारी हाल नेपाल राष्ट्र बैंकका गभर्नर छन् । एनसीएचएल र नेप्सको एकीकृत कारोबारमा गभर्नर अधिकारीले विगतमा खेप्नु परेकाे चुनौति र जाेखिमहरूको अनुभव सुनाउँदै मर्जरपश्चात् कम्पनीले सिनर्जी ल्याउने विश्वास व्यक्त गरे । गभर्नर अधिकारीले एनसीएचएल र नेप्स एकआपमा गाभ्ने र गाभिने सम्बन्धि आफूले निरन्तर दबाब दिएको कारण नतिजा आएको जानकारी दिए ।
‘मैले कतिपय साथीभाईहरूसँग क्षमा माग्नुपर्छ, किनभने डेपुटी गभर्नरहरू, मेरै टिमका साथीहरू, निलेशजी, पूर्व अध्यक्षलाई सुरु गरेको काम समयमै टुङ्ग्याउनुपर्छ है भनेर पटक-पटक छलफल र फ्लोअप गर्दा दबाब दिएको थिएँ,’ क्षमा माग्दै गभर्नर अधिकारीले भने, ‘यहाँहरू सबैसँग क्षमा माग्छु, हाम्रो कल्चरमा अलिकति दबाब नदिइ रिजल्ट नआउने रहेछ, त्यसकारण धेरै दबाब दिएँ हुँला। त्यसलाई रिजल्ट निकाल्न दबाब दिइएको थियो भन्ने हिसाबले बुझिदिनुहोला ।’
उनका अनुसार दबाब दिएकाले समयमा एकीकृत कारोबार र इएफटी कार्ड प्रडक्ट लन्च भयो । एनसीएचएल र नेप्सबीचको मर्जर केबल मर्जरको लागि नभई सिनर्जी ल्याउनका लागि भएको उनको भनाइ छ । सीमित संख्याका संस्थाहरू मात्रै टिक्ने अवस्थामा रहेकाले मर्जर गर्नु परेको उनले बताए ।
‘राष्ट्र बैंकले ल्याएको नीति यत्तिकै ल्याउँदैन । १० वटा पीएसओ र २७ वटा पीएसपी छन् । तर, ती संस्थाहरू सस्टेन हुन धेरै गाह्रो छ । सीमित संस्थाहरू मात्रै टिक्ने अवस्थामा छन् । संस्था टिक्न, स्वस्थ प्रतिस्पर्धा गर्न र पुर्वाधारमा अनावश्यक स्रोत साधन छर्नबाट जोगाउन एकीकृत हुनु परेको हो,’ उनले भने ।
अन्य देशको तुलनामा नेपालको फिनटेक उद्योग बलियो रहेको उनले बताए । क्रस बोर्डर लगायतको काम समेत सुरु भइसकेको हुँदा राष्ट्र बैंकले काम गर्ने वातावारण बनाइरहेको उनको भनाइ छ । साथै, डिजिटलको विकाससँगै जोखिम पनि बढेकाले त्यसतर्फ काम गरिरहेको उनले बताए ।
एनसीएचएलका अध्यक्ष रामु पौडेल नेप्सलाई प्राप्तिपश्चात् कम्पनीको पुँजी वृद्धिका साथै पहुँच, अनुभव र क्षमताको आधारमा सरकार र राष्ट्र बैंकको दीर्घकालीन उद्देश्य प्राप्त गर्न सहयोग पुग्ने बताउँछन् । एनसीएचएललाई कार्ड र गैर-कार्ड भुक्तानी पुर्वाधारमा पहुँच पुग्ने उनको भनाइ छ । साथै, नेप्सले प्रदान गर्दै आएको कार्ड सम्बन्धि सेवा यथावत रहने उनले बताए ।
प्राप्तिपश्चात् कम्पनीको पुँजी १ अर्ब ६ करोड र रिजर्भ १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म एकीकृत कारोबार संख्या १३ करोड छ भने कुल कारोबार रकम ११३ खर्बभन्दा बढी पुगेको छ । प्राप्तिपश्चात् कम्पनीमा १३२ जना कर्मचारी रहनेछन् ।
‘कर्मचारीहरूको अनुभव र विशेषज्ञताले व्यवसायमा थप गुणस्तर, भुक्तानी क्षेत्र विस्तार तथा सुदृढ हुने र नेपालमै कार्ड कार्यान्वयन नेप्स प्राप्तिले उल्लेखनीय भूमिका खेल्नेछ,’ उनले भने, ‘पुँजी र रिजर्भ वृद्धिले पुर्वाधार, जोखिम नियन्त्रण, सुरक्षामा जोड र नवीनतम अनुसन्धानमा लगानी गर्न र सेवाको गुणस्तरमा सुधार गर्न मद्दत पुग्नेछ ।’
उनका अनुसार नेपालको आफ्नै कार्ड नेपाल पे कार्ड र नेशनल कार्ड स्वीच कार्यान्वयनको चरणमा छन् । सीमापार वित्तीय भूक्तानीको कारोबार भारतबाट सुरू भइसकेको छ भने अन्य देशहरूसँग पनि छलफल भइरहेको उनको भनाइ छ ।
एनसीएचलका सञ्चालक महेश शर्मा ढकालका अनुसार एनसीएचएल र नेप्सको मर्जर प्रक्रिया भुक्तानी क्षेत्रको पहिलो भएको बताए । नेप्स प्राप्तिबाट भुक्तानीको पुर्वाधार विकास, समग्र प्रणाली प्रतिस्पर्धात्मक, व्यवस्थित र प्रभावकारी बन्ने विश्वास रहेको उनको भनाइ छ ।
६ महिनामा मर्जर सम्पन्न
एनसीएचएल र नेप्सबीच वि.सं २०८० पुस ६ गते प्रारम्भिक सम्झौतापत्र (एमओयू) भएको थियो । एमओयूपश्चात् दुवै संस्थाको प्रतिनिधित्व रहने गरी सञ्चालक ढकालको संयोजकत्वमा संयुक्त मर्जर कमिटि गठन भयो र डीडीए प्रतिवेदनका लागि जोशी एण्ड भण्डारीलाई छनोट गरी जिम्मेवारी दिइयो । दुवै कम्पनीको २०८० असार मसान्तको लेखापरीक्षण सम्पन्न वित्तीय विवरणको आधारमा वित्त, सञ्चालन, कानुनी, प्राविधिक र नियामक विषय समेतलाई मध्येनजर गर्दै सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन गरी डीडीए रिपोर्ट तयार भयो ।
विगतका वर्षहरूमा भएको वित्तीय विवरण अर्थात् कार्यसम्पादन, व्यवसायीक अवस्था र पाइपलाइनमा रहेका नयाँ परियोजना, राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा प्राप्ति सम्बन्धी विनियमावली, प्राविधिक विषयमा यस क्षेत्रका विज्ञहरूले दिएको सुझावलाई आधार मानि मूल्याङ्कन गरिएको थियो ।
साथै, व्यवस्थापन तहमा एचआर, फाइनान्सतर्फ एकाउन्ट, आईटी एण्ड सिस्टम र पोलिसी एण्ड स्ट्राटेजी लगायतका विषयत तथा उपसमिति गठन गरी विस्तृत अध्ययन प्रतिवेदन, एमओयूमा उल्लेखित शर्तमा रही संयुक्त मर्जर तथा प्राप्ति समितिले स्वाप रेसियो १ः०.२८ अनुपात अर्थात् नेप्सको १ सय कित्ता बराबर एनसीएचएलको २८ कित्ता कायम हुने निर्णय भएको ढकाल बताउँछन् ।
साथै, दुवै कम्पनीको वि.सं २०८० चैत २२ गते अन्तिम सम्झौता, वि.सं २०८१ बैशाख १३ गते छुट्टाछुट्टै सम्पन्न विशेष साधारण सभाले स्वाप रेसियो पारित गरेको थियो । जेठ २ गते राष्ट्र बैंक र जेठ १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्ति गरी एकीकृत कारोबार सम्पन्न भएको उनको भनाइ छ । एकीकृत कारोबारपश्चात् नेप्सको कार्ड प्रोसेसिङ सिस्टम लगायतका सेवाहरू एनसीएचएलमार्फत् इफटी कार्ड सेवाको नामबाट कुनै अवरोध नहुने गरी यथावत सञ्चालनमा हुनेछन् । साथै, कर्मचारीहरूको तह मिलान र सेवा सुविधालगायत खाइपाइ आएको तलबभत्ता नघट्ने कर्मचारी व्यवस्थापन गरिएको उनले बताए ।
साविक नेप्सका अध्यक्ष विश्वम्भर न्यौपाने विभिन्न आरोहअवरोह खेप्दै आएको नेप्स एनसीएचएलमा विलय भएपछि बलियो बनेको बताउँछन् । वार्षिक २०/२५ प्रतिशत प्रतिफल दिन सक्ने नेप्सको योगदानलाई भुक्तानी उद्योगले सम्झिरहने उनको भनाइ छ । नेप्सका भावी योजनालाई एनसीएचएलले अझै शसक्त रुपमा अगाडि बढाउने उनले बताए ।
‘ऐतिहासिक मर्जरपछि नेप्स एनसीएचएलमा विलय भएको छ । अब हामी दुवै संस्थालाई एनसीएचएलले प्रतिनिधित्व गर्नेछ । नेप्स विलय भएतापन हामी सबैको मानसपटलमा नेप्सको योगदान, इनोभेसन, सेवा सदैब स्मरणीय छन्,’ उनले भने, ‘दुइटा पीएसओको एकीकरणले सिनर्जी ल्याउनेछ । डिजिटल पेमेन्ट सर्भिस डोमेस्टिक बाउन्ड्रिमा मात्रै सीमित रहने छैन । अब दायरा बढ्नेछ ।’
साविक नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्जिब सुब्बा प्राविधिक कारणले प्राप्ति भएपनि एनसीएचएल र नेप्सको मर्जर भएको बताउँछन् । बैंकिङ क्षेत्रलाई प्रविधिले डोर्याउँदा नेप्सको भूमिका उल्लेखनीय रहेको उनको भनाइ छ । नेपालका फिनटेक कम्पनीहरूका काम र प्रडक्टहरू विश्वस्तरीय रहेको उनले बताए ।
‘वान प्लस वान २ होइन, ११ हुनुपर्छ । ४ वर्ष अगाडि नेप्सको जिम्मेवारी सम्हाल्दा चुनौति थिए । ती सबै चुनौती पार गरी कम्पनीलाई सफल बनाइयो । वित्तीय क्षेत्रमा अब्बल र सम्भावना बोकेको नेप्सलाई एनसीएचएलमा हस्तान्तरण गर्न सफल भयौं ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.