बागमती प्रदेश : चालु आर्थिक वर्षको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा आशंका

  २०८१ असार २ गते ६:४८     विकासन्युज

बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ ।

चालु आवकै हाराहारीमा बजेट ल्याउने अनुमान गरिरहेका बेला आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आव लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । जबकी चालु आवका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

कुल विनियोजितमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ रु ६३ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ १अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आवको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख, चालु आव २०८०÷८१ को अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तीबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार रुपैयाँ बेहोरिने अनुमान बजेटमा गरिएको छ ।

प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयका लागि रु २२ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ६ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो ।

कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रूपमा अगाडि बढाउने घोषणासहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि २ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशभित्र जग्गा भाडामा लिएर केराखेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने, उच्च प्रविधियुक्त च्याउ उत्पादनमा सहयोग गर्ने, पशुस्रोत केन्द्र विकासका लागि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री थपलियाले सभालाई जानकारी गराए ।

उपेक्षित, उत्पीडित तथा अतिसिमान्तकृत समुदायका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका लागि ३ अर्ब ९१ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ४६ करोड, वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब २१ करोड, रोजगार तथा यातायात मन्त्रालयका लागि ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि १० करोड बजेट विनियोजना गरेको सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ७४ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ४४ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्रका लागि २४ करोड २ लाख तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि ५० करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेशका सामुदायिक विद्यालयमा सञ्चालित एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले चालु आव २०८०÷८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

जनताको भावना र रोजगारी सृजना गर्ने खालको बजेट आएनन् स् प्रतिपक्षी दल

प्रतिपक्षी दलका नेताहरुले भने प्रस्तुत बजेटले जनताको इच्छा र चाहनालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरेका छन् ।

बजेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बजेट मनगढन्ते र दिशाहीन भएकाले यसले जनताको चाहना र भावनालाई सम्बोधन गर्न नसक्ने बताए ।

बजेटले रोजगारी अभिवृद्धि र आर्थिक समृद्धिमा टेवा पुर्‍याउन नसक्ने दाबी गर्दै उनले घाटा बजेटले समस्या थप बल्झिन सक्ने खतरा रहेको बताए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने बताए । ‘नाराहरू धेरै उपयुक्त छान्नु भएको छ, मेहनत धेरै गर्नुभएको छ तर बजेट वस्तुपरक छैन,’ नेता थापाले भने, ‘सङ्घीय सरकारबाट अनुदान घटेको बेला चालु आवको भन्दा ठूलो बजेट ल्याएको छ, जुन कार्यान्वयन हुननसक्ने अवस्थाको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.