२०७३ माघ ९ गते १८:१३ नारायण पौडेल
काठमाडौं, ९ माघ । पश्चिमाहरुले नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाहलाई रुचाउँदैनन् भन्ने तथ्य नौलो रहेन् । तर चिनियाँहरुको भने उनै पृथ्वीनारायण शाहसँग राम्रै लगाव रहेको देखिन्छ । भूकम्पले क्षति पुर्याएको सम्पदा मध्ये पृथ्वी नारायण शाहसँग जोडिएका अधिकांश पुरातात्विक सम्पदाको निर्माणमा चिनले हात अघि सारेको छ ।
चीनले नुवाकोटको ७ तले दरबार क्षेत्रमा सबै जसो संरचनाको पुननिर्माण गरिदिने भनेको छ । त्यसको प्रक्रिया समेत अघि बढिसकेको छ । ‘नुवाकोट दरबार क्षेत्रको भैरवी मन्दिर बाहेकका सबै सम्पदाको निर्माण चीनले गर्ने भनेको छ र त्यसको प्रक्रिया समेत अघि बढिसकेको छ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरले विकासन्युजसँग भने ।
उता, चीनले बसन्तपुर दरबार परिसरमा रहेको नौ तले दरबार पनि बनाउँदैछ । त्यसको अध्ययन सम्पन्न गरेर चिनियाँ टोली गएको छ । ‘हनुमानढोका दरबार परिसरमा रहेको ९ तले दरबार चिनले बनाउँदैछ, त्यसको अध्ययन सम्पन्न भैसकेको छ, केहि समयमै सम्झौता हुन्छ’, हनुमानढोका दरबार पुर्ननिर्माणको नेतृत्व गरिरहेका पुरातत्व विभागका इञ्जिनियर गोपाल झाले विकासन्युजसँग भने ।
चीनले गोरखा दरबारको पुर्ननिर्माणका लागि पनि चासो देखाएको छ । ‘गोरखा दरबारको पुर्ननिर्माणका लागि धेरै मुलुकले इच्छा देखाएका छन, तीमध्ये चीनियाँहरुको पनि चासो छ, हामीले कसलाई दिने भन्नेबारे अध्ययन गरिरहेका छौं’, पुरातत्व विभागका सिडिई घिमिरेले भने ।
चीनले पृथ्वी नारायण शाहले बनाएका संरचनाहरुको निर्माणमा किन बढि चासो देखायो भन्ने सन्दर्भ भने अब ऐतिहासिक दृष्टिकोण्बाट अध्ययनको बिषय नै बनेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.