२०८१ असार १६ गते ११:४९ विकासन्युज
काठमाडौं । याे समय वर्षायामको हो । वर्षायाममा विभिन्न किसिमका सरुवा रोगहरूको जोखिम हुन्छ । झाडापखाला, आउँ, हैजा जस्ता रोग पनि यही समयमा देखिन्छन् । यस्तै, लामखुट्टेको टोकाइबाट लाग्ने, डेंगी, मलेरिया, कालाजार लगायतका रोगहरू पनि यही समयमा बढी लाग्छन् ।
हाम्रो जस्तो वातावरणको सफाइ राम्रो नभएको देशमा वर्षाको समयमा झन विभिन्न रोग सार्ने माध्यम बाहकको संख्या पनि बढ्ने र त्यसका कारण रोग पनि विभिन्न राेगहरू पनि थपिँदै जाने हुन्छ । यस्ता रोगहरू कतिपय खानाबाट, पानीबाट र रगत चुस्ने जिवहरूको टोकाइबाट सर्ने हुन्छन् । डेंगीको कुरा गर्ने हो भने अहिले नेपालमा यसको संक्रमण फैलिसकेको छ ।
रैथाने हिसाबमा लगातार हाम्रो देशमा पनि यो सिजनमा बढी देखिन्छ । यसको निगरानीका लागि इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गरिरहेको छ । हामीले प्रदेश र स्थानीय तहमा यस विषयमा छलफल गरिरहेका छौँ । यतिखेर हाम्रो मुख्य ध्यान डेंगीमा गइरहेको छ ।
डेंगी किटजन्य रोग हो । एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । यो हाम्रो देशमा सन २००४ देखि फाट्टफुट्ट देखा परेको थियो । २००९ पछि देशका विभिन्न ठाउँमा फैलन सुरु गरेको थियो ।
अहिलेसम्म आइपुग्दा डेंगीको संक्रमण भेटिन थालेको छ । तर, ७७ जिल्लामै यो रोग सार्ने लामखुट्टे देखा परेको छ कि छैन भन्ने विषयमा अध्ययन हुन सकेको छैन । अन्तबाट संक्रमण भएर रिपोर्ट भएको पनि हुन सक्छ । तर, धेरैजसो जिल्लामा रैथाने अर्थात त्यही ठाउँमा टोकेर त्यही ठाउँमा बिरामी भएर त्यही ठाउँबाट अरु स्वस्थ मान्छेलाई सारेको प्रमाण देखिएको छ र महामारी भएको पनि छ ।
काठमाडौ, चितवन, पोखरा, धरानमा महामारी नै भएको छ । यी ठाउँहरूमा रैथाने रूपमै रहेको छ । र, यी ठाउँमा यस्तो समस्या आउँछ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । यस्तो महामारी ति ठाउँमा आउँछ कि आउँदैन भनेर हामी चनाखो पनि भएका छौँ । यस्तो हुन नदिन सबैभन्दा महत्वपूर्ण रोकथामका कुराहरूमा ध्यान दिएका छौँ ।
त्यो भनेको बाहिरी वातावरण व्यवस्थापन हो । लामखुट्टेले फुल पार्ने, लर्भा निकाल्ने जुन ठाउँ छन् त्यस्तो ठाउँलाई नियन्त्रण गर्न सक्यौँ भने यसको नियन्त्रण हुन्छ । घरभित्र वरिपरि पनि यसको जोखिम हुन्छ । घरभित्र रहेको थोरै पानीमा पनि लामखुट्टेले अण्डा पार्न सक्छ । कुलर, गमला, एसीको पानी,ट्वाइलेट, बाथरुममा रहेको पानीमा पनी लामखुट्टेले अण्डा पार्छ ।
यस्ता विषयमा जानकारी गराउन हामीले स्वास्थ्यकर्मीलाई तालिम पनि दिरहेका छौँ । स्वास्थ्यकर्मीसहित जनसमुदायलाई सचेत गराउन अभियान नै सञ्चालन गर्ने योजना छ । लार्भा नष्ट पार्ने, रोग परीक्षणका कुरा र बिरामीको व्यवस्थापनका कुरामा हामीले ध्यान दिएका छौँ ।
यो वर्ष ७२ जिल्लामा डेंगी फैलिसकेको रिपोर्ट भएको छ । कुनै जिल्लामा भयावह अवस्था अहिले सम्म आएको छैन । यो वर्षको अहिलेसम्म १ हजार २ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । यसको मतलब नेपालमा यति जनामा मात्र संक्राण छ भन्ने होइन । कतिपय लक्षणबिहीन पनि हुन्छ । लक्षण देखा नपरेर पनि संक्रमण भएको हुन सक्छ ।
कुनै पनि व्यक्तीलाई एक पटक संक्रमण भएपछि चार किसिमको सेरोटाइप हुन्छ । नेपालमा कुन कुन टाइपको सेरोटाइप छ भन्ने गहन अध्ययन पनि भएको छैन । अहिलेसम्मको अध्ययन अनुसार एकजना मान्छेमा चार पटक सम्म चारवटा सेरोटाइप भएपछि एकपटक संक्रमण भएपछि त्यसलाई जीवनभरिलाई प्रतिरक्षा प्रणाली विकास हुन्छ । तर, यहाँ चार वटै सेरोटाइप छ या छैन भन्ने एकिन छैन ।
जनसमुदायमा धेरै व्यक्तिलाई विगतका वर्षमै संक्रमण भइसकेको छ । हाम्रो तयारी र नेपालमा भएको विगतको संक्रमणदर हेर्दा ठूलो महामारी होला भन्ने देखिँदैन । विशेषगरी प्रदेशले पनि यो विषयमा तयारी गरिरहेको छ । हामीले तीनै तहलाई जिम्मेवारी तोकेर रणनीति बनाइएको छ ।
लामखुट्टेजन्य रोग पहाडमा पनि सर्दै
१० वर्ष अगाडि र अहिलेको तापक्रम फरक छ । पहिलो चिसो हुने ठाउँमा अहिले गर्मी हुन थालेको छ । तातो भइसकेपछि लामखुट्टेको लागि उपयुक्त ठाउँ हिमाल पहाड पनि हुन थाले । हामीले हिमाल पहाडमा डेंगी देखियो भन्छौ त्यहाँ पनि कुन ठाउँमा देखिएको हो भन्ने कुरा हुन्छ ।
मनाङ, मुस्ताङमा पनि कतिपय ठाउँ यस्ता छन् जहाँ गर्मी हुन्छ । रुकुमको चौरजहारी तराई जस्तै छ । यस्ता ठाउँ हिमाल पहाडका धेरै ठाउँमा छन् । ति ठाउँमा लामखुट्टे देखिने र यसको टोकाइबाट डेंगी देखिन्छ भने अर्को अब लामखुट्टले पनि कुन ठाउँमा कसरी बाँच्ने भन्ने कुरा सिकिसक्यो ।
वातावरण परिवर्तन भयो अर्को त्यही वातावरणमा कसरी बाँच्ने भन्ने कुरा लामखुट्टेले पनि जान्यो यिनै कारण हिमाल पहाडमा पनि यसको संक्रमण फैलियो । कतिपय कुराहरू पत्ता नलागेको पनि हुनसक्छ साँचो कुरा के हो भने लामखुट्टे नभएको ठाउँमा पनि पुगेका छन् ।
वषौँसम्म अण्डा जिवित रहन्छ
अचम्मको कुरा के छ भने लामखुट्टेले यो वर्ष पारेको अण्डा वर्षौँसम्म जिवित रहन्छ । पाइप, टायर,गाडी र सामानको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँसम्म पुगेका अण्डा पानी परेपछि फेरि लामखुट्टेमा परिणत हुन्छन् ।
यो वर्ष लामखुट्टेले अण्डा पारेको ठाउँमा अर्को वर्ष पानी पर्दा त्यसबाट पनि बच्चा बन्न सुरु हुन्छ । यसको साइकल १० दिनसम्म हुन्छ । तीन–चार दिनमा फुलबाट लार्भा बन्छ, लार्भाबाट प्युपा बन्छ र त्यसबाट एडल हुन्छ ।
यसरी १० दिनमा लामखुट्टे बन्छ । त्यसरी बनेको लामखुट्टे त्यो ठाउँ उसका लागि सुहाउँदो छ भने बाँच्छ र छैन भने मर्छ ।
यो सरुवा रोग पनि हो
डेंगी सरुवा रोग हो कि हैन भन्नेमा धेरै मान्छे अनविज्ञ छन् । यो एक प्रकारको सरुवा रोग नै हो । सरुवा रोग फरक फरक किसिमका हुन्छन् । एउटा मान्छेबाट मान्छेमा स्वासप्रस्वासको माध्यमबाट सर्छ भने अर्को सार्न माध्यम चाहिन्छ ।
डेंगी एकबाट अर्कोमा सर्न माध्याम चाहिन्छ । यो एकबाट अर्को मान्छेमा सर्न लामखुट्टे चाहिन्छ । एउटा डेंगी संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोक्यो भने डेंगी सर्छ । यसलाई हामी किटजन्य सरुवा रोग भन्छौँ ।
अध्ययन भएको छैन
समुदायमा कति जनामा संक्रमण देखिएको छ । त्यसमध्ये कस्ता व्यक्तिमा यसको लक्षण देखपर्छ र कस्तो व्यक्तिमा लक्षण देखा पर्दैन । कुन सेरोटाइप नेपालमा छ भन्ने विषयमा गहन अध्ययन हुन सकेको छैन । यसका लागि ठूलो लगानी चाहिन्छ । र आवश्यक जनशक्ति पनि । हामीसँग दुवैको अभाव छ । सरकारले पनि सिमित मात्रामा बजेट छुट्याएको हुन्छ ।
यसका लागि हामीले विभिन्न अन्तरार्ष्ट्रिय संघसस्था सम्म पनि सहयोग माग्न कुरा गरिरहेका छौँ । डेंगी नियन्त्रणका लागि मुख्य कुरा भनेको सरसफाइ र जनचेतना हो । जनचेतनाको काम मुख्यतया स्थानीय तहको हो । यसमा कस्ता मापदण्ड बनाउने भन्ने विषयमा हामीले सहयोग गर्छौ र प्रदेशले यसमा समन्यवको भूमिका निर्वाह गर्छ । संविधानले नै यस्ता विषयमा संघ, प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै अधिकार दिएकाे छ ।
यसमा हाम्रो काम भनेको नीति निर्माण र मापदण्ड बनाउने , प्रदेशको काम उपचार कहाँ पुगेको छ , छैन, नपुगेको ठाउँमा के गर्ने, केन्द्र र सथनीयसरकारसँग कसरी सहकार्य गर्ने भन्ने हो भने, स्थानीय तहको काम भनेको नागरिकको घरदैलोमा पुगि कहाँ के छ , के गर्नुपर्छ भनेर सचेतना जगाउने काम हो ।
हामी तयारी अवस्थामा छौँ
लामखुट्टेसँग जोडिने अनयरोग मलेरिया, कालाजार देखापर्छ । यी रोगहरूबाट बच्न एउटै विधि अपनाउनुपर्छ । त्यो हो लामखुट्टेको टोकाइबाट जोगिने ।
त्यसको लागि घरभित्र बस्दा जाली, झुलको प्रयोग गर्ने घर विरिपरि पानी जम्न नदिने, सरसफाइ गर्ने, बाहिर निस्कदा लामो बाउला भएको लुगा अथवा पुरै जिउ ढाकिने गरक कपडा लगाउनुपर्छ । यति गर्न सक्यो भने यि र यस्ता रोगहरूबाट बच्न सकिन्छ । त्यसैले हामीले यस्ता विषयमा चेतना जगाउन कार्यक्रम गर्ने भन्ने योजना अनुसार काम गर्ने तयारी गरेका छौँ ।
उपचार विधि के हुन्छ ?
यो एक किसमको भाइरसबाट लाग्ने भाइरल रोग हो । भाइरस स्पेसेफिक खालको उपचार हुँदैन । यसले धेरै किसिमका समस्या ल्याउँछ । ति समस्यालाई हामीले विशेषगरी हेर्छौ यसका लागि यो नै उपचार हुन्छ भन्ने हुँदेन ।
यसले ल्याएको समस्या र जटिलतालाई हेरेर उपचार गरिन्छ । तर एउटा महत्वपूर्ण कुरा के हो भने स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाह बेगर औषधी खान हुँदैन । टायर, बट्टा, थोरै पनि पानी जम्ने आर्टिफिसियल भाँडामा यो रहन्छ । यस्ता चिज घरपरीपरी हुन्छन् । यस्तोमा हप्तामा एक पटक त्यो पानी फाल्नुपर्छ ।
इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको काम देशभरि फैलिएका विभिन्न किसमका रोग नियन्त्रण गर्ने हो । यसका लागि कस्ता नीति नियम र मापदण्ड आवश्यक पर्छन भन्ने विषयमा हामी काम गर्छौं।
म यो महाशाखाको प्रमुख भएर आएको केही समयमात्र भएको छ । अहिले कस्ता रोगको संक्रमण फैलिरहेको छ यसको नियन्त्रणका लागि के गर्ने भन्ने विषयमा म छलफल गरिरहेको छुँ । काम गर्न दक्ष जनशक्ति चाहिन्छ ।
तर, हामीसँग जनशक्ति अभाव छ । यो महाशाखामा मात्र हैन । स्वास्थ्य क्षेत्रमै जनशक्तिको अभाव भएका बेला काम गर्न चुनौती पक्कै छ तर कुनै पनि रोग नियन्त्रणका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयासरत रहने छु ।
(इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेसँग गरिएको कुराकानीमा आधारित)
Copyright © 2024 Bikash Media Pvt. Ltd.