२०८१ असार २२ गते १६:५७ विकासन्युज
बलेवा । अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरिएको छ । जैमिनी–१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो ।
कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पु¥याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले बताए। पहिरोका कारण बाँध पुरिँदा विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको उनले जानकारी दिए । उनले १.५ मेगावट विद्युत उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताए ।
पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मिसेराबाट सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जैमिनीको केन्द्रविन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन् ।
उपप्रमुख शर्माले भने, ‘यसै वर्ष स्तर वृद्धि गरेर कालेपत्र र ढलान गरिएको कुश्मिसेरा–सर्कुवा–व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तारोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन ।’
जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकांश सडक पहिरोले अवरुद्ध बनेका उनले जानकारी दिए । उपप्रमुख शर्माका अनुसार कालिगण्डकी करिडोर खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले करिडोर अवरुद्ध बनेको छ ।
वर्षाका कारण जिल्लाको गलकोटबाट हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने खण्डअन्तर्गत बागलुङ नगरपालिका–४ बान्द्रेमा सडक माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.