सेयर बजारका हटकेक, राष्ट्र बैंकभन्दा बलिया !

  २०८१ असार २४ गते १५:५४     विकासन्युज

काठमाडौं । जुनसुकै लगानीकर्ताले प्रतिफल पाउने उद्देश्यले लगानी गर्छन् । कम्पनीले दिने प्रतिफल सबैभन्दा महत्वपूर्ण विषय हो । तर, पुँजी बजारमा अधिकांश लगानीकर्ताहरूले जोखिम मोलेरै अर्बाैं लगानी गरिरहेको देखिन्छ । मनग्य कमाउने र उच्च दरको प्रतिफल पाउने अपेक्षाले लगानीकर्ताहरूले विभिन्न कम्पनीमा आफ्नो लगानी गर्छन् । तर, पुँजी बजारमा यस्ता कम्पनी छन्, जुन कम्पनीमा लगानी गर्दा प्रतिफलको सुनिश्चितता छैन ।

पछिल्लो तथ्यांकअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७२ वटा छन् । सूचीकृतमध्ये अधिकांश कम्पनीहरू बलियो र प्रभावकारी नियामक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र (लाइसेन्स) प्राप्त छन् । पुँजी बजारमा केही सूकीकृत कम्पनीहरूको आफ्नै नियामक नहुँदा बेलाबखत तिनीहरूको नियमनमा प्रश्न उठ्ने गर्छ । तर, राष्ट्र बैंक जस्तो प्रभावकारी नियामकबाट नियमन भइरहेका कम्पनीमा समेत लगानीकर्ताहरूले लामो समयदेखि ठूलो धोका पाउने गरेका छन् ।

राष्ट्र बैंकको नियमन भित्र रहेका केही विकास बैंक र वित्त (फाइनान्स) कम्पनीका लगानीकर्ताहरूले विगत लामाे समयदेखि प्रतिफल पाएका छैनन् । लाभांश कमाउने उद्देश्यले पुँजी बजारका यी कम्पनीमा लगानी गरेका लगानीकर्ताहरूले रित्तो हात बनाउनु परेको छ । लाभांशसँगै ती कम्पनीले वार्षिक रुपमा गर्नु पर्ने साधारणसभा तथा लेखापरीक्षण समेत हुन सकेको छैन । कम्पनीहरुले वार्षिकरुपमा साधारणसभा गर्नु पर्ने प्रावधान भएपनि नीतिको अटेर गर्दै राष्ट्र बैंकलाई समेत गुमराहमा राख्ने कम्पनीको संख्या लामै छ । जसले न कम्पलायन्स पालना गर्छन् नत लगानीकर्ताई प्रतिफल दिन्छन् । तर, तिनै कम्पनीको सेयर मूल्य भने उच्च छ ।

विगतमा संस्थागत सुशासन र खराब कर्जा अत्यधिक भएपछि समस्याग्रस्त घोषणा गरिएको कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५८८ रुपैयाँ छ । यस बैंकको सेयर मूल्य विकास बैंक समूहमा उच्च हो । बैंकले एक पटक आर्थिक वर्ष २०७८/७९ मा ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता बैंकले सेयरधनीहरूलाई कुनै प्रतिफल वितरण गर्न सकेकाे छैन । तैपनि लगानीकर्ताहरूले बैंकको सेयर सहज रूपमा खरिदबिक्री गरिरहेका छन् । यस बैंकले आफ्नो वार्षिक साधारण सभा समेत नियमित गर्न सकेको छैन । यस विषयमा राष्ट्र बैंक समेत मौन छ ।

यस बैंकमा ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी र १७ करोड ५४ लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ । चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म बैंकले ८७ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने प्रतिसेयर आम्दानी १.६६ रुपैयाँ छ । चैतसम्म बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरूलाई ६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसअघि र त्यसयता बैंकले सेयरधनीहरूलाई प्रतिफल वितरण गरेकाे कुनै तथ्याङ्क छैन । तर, बैंकको सेयर प्रतिकित्ता ४२२ रुपैयाँमा कारोबार भइरहेको छ । सेयरधनीहरूलाई प्रतिफल बाँड्न नसक्ने यस बैंकले आफ्नो वार्षिक साधारण सभा पनि समयमा गर्न नसकेको देखिन्छ । गत २०८० पुस २९ गते सम्पन्न १४औँ वार्षिक साधारण सभाले एकै पटक आर्थिक वर्ष २०७७/७८, २०७९ र २०८० साल वित्तीय विवरण पारित गर्‍यो ।

८३ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी र २० करोड ५६ लाख रुपैयाँ जगेडा कोषमा रहेको यो बैंक गत चैतमा ७ करोड ३१ लाख रुपैयाँ खुद नोक्सानीमा छ । गत वर्षको सोही अवधिमा २७ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । बैंकको प्रतिकित्ता सेयर आम्दानी ११.६८ रुपैयाँ ऋणात्मक छ भने खराब कर्जा १२.४० प्रतिशत रहेको छ ।

ग्रीन डेभलपमेन्ट बैंकले प्रत्येक वर्ष वार्षिक साधारण सभा समयमा गर्न सकेको छैन । २०८० चैत २७ गते सम्पन्न १०औं र ११औँ वार्षिक सभाले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसहित अन्य प्रतिवेदन पारित गरेको थियो । बैंकले हालसम्म २ पटक मात्रै सेयरधनीहरूलाई लाभांश बाँडेको छ । आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७८/७९ मा गरी २ पटक बैंकले समान ४/४ प्रतिशत प्रतिफल बाँडेको थियो ।

यसअधिका वर्ष बैंकले सेयरधनीहरूको हात रित्तो बनाएको छ । तर, बैंकको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँमा कारोबार भइरहेको छ । ५३ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ करोड ४७ लाख रुपैयाँ जम्मा छ । चैतसम्म बैंकले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ भने बैंकको प्रतिसेयर आम्दानी ४.४९ रुपैयाँ छ । तर, बैंकको खराब कर्जा ५.८६ प्रतिशत पुगेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरूको विगत ८ वर्षदेखि हात रित्तो राखेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा १३ प्रतिशत लाभांश बाँडेको थियो । त्यसपछि बैंकले निरन्तर हालसम्म कुनै प्रतिफल दिएको छैन । तर, यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४८६ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको साधारण सभा समयमा अनियमित छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा २०७८ फागुन २० गते गरेको थियो । त्यसयता यस बैंकले साधारण सभा गरेको छैन ।

५० करोड २८ लाख चुक्ता पुँजी र ५ करोड ३५ लाख रुपैयाँ जगेडा कोषमा सञ्चिति छ । चैतसम्म २ करोढड ८८ लाख रुपैयाँ खुद नाफा गरेको बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा २ करोड ५१ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको वित्तीय स्थिति हेर्दा नाजुक छ । २६ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी र १६ करोड ८ लाख रुपैयाँ जगेडा कोषमा सञ्चिति छ । गत चैतसम्म बैंकले ४२ लाख ७१ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्नु परेको छ । साथै बैंकको खराब कर्जा ३१.७७ प्रतिशत पुगेको छ । निर्धातिर समयभन्दा ढिलागरी बैंकले २२औँ वार्षिक साधारण सभा गरेको छ । बैंकले हालसम्म सेयरधनीहरूलाई लाभांश बाँडेको छैन । खराब वित्तीय अवस्था र लाभांश नबाँडेपनि सेयरधनीहरू भने बैंकप्रति आकर्षित देखिन्छन् । किनभने बैंकको सेयर मूल्य ५८२ रुपैयाँ रहेको छ ।

एक्सल डेभलपमेन्ट बैंकले विगत तीन वर्षदेखि सेयरधनीहरूलाई लाभांश बाँडेको छैन । बैंकले पछिल्लो पटक आर्थिक वर्ष २०७७/७८ मा ८.९५ प्रतिशत लाभांश बाँडेको थियो । त्यस आर्थिक वर्षसम्म निरन्तर लाभांश बाँडेको थियो । पछिल्ला समय प्रतिफल बाँड्न छाडेको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बैंकले समयमा वार्षिक साधारण सभा समेत गर्न सकेको छैन । २०८१ असार २९ गते आह्वान गरेको १८औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण लगायतका प्रतिवेदन पारित गर्नेछ । १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी र ७१ करोड ८३ लाख रुपैयाँ जगेडा कोष रहेको छ । चैतसम्म बैंक ५ करोड ३७ लाख रुपैयाँ खुद नोक्सानीमा छ । साथै बैंकको वितरणयोग्य नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । यस्तै प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ ऋणात्मक छ । बैंकको खराब कर्जा ७.३० प्रतिशत पुगेको छ ।

सिन्धु विकास बैंकले विगत ५ वर्षदेखि प्रतिफल बाँडेको छैन । बैंकले पछिल्लो पटक आर्थिक वर्ष २०७५/७६ मा १२.०९ प्रतिशत लाभांश बाँडेको थियो । उक्त वर्षसम्म निरन्तर लाभांश बाँडेको पनि थियो । त्यसयता बैंकले लगानीकर्ताको हात रित्तो बनाउँदै आएको छ । साथै बैंकको साधारण सभा समेत अनिश्चित छ । बैंकले आर्थिक वर्ष २०७८/७९ सम्मको १३औँ वार्षिक सभा गरेको छ । गत आर्थिक वर्षको साधारण सभा हालसम्म आह्वान गरेको छैन । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश नबाँड्ने निर्णय गरिसकेको छ ।

बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ र जगेडा कोष १० करोड ६९ लाख रुपैयाँ रहेको छ । चैतसम्म खुद नाफा ५ करोड ४० लाख रुपैयाँ ऋणात्मक छ । यस्तै बैंकको वितरणयोग्य नाफा ७ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा छ । तर, बैंकको सेयरमा लगानीकर्ताको आकर्षणभने राम्रो देखिन्छ । नेप्सेको तथ्याङ्क अनुसार सेयर मूल्य प्रतिकित्ता ४४६ रुपैयाँमा कारोबार भएको छ ।

फाइनान्स कम्पनी

नेपाल फाइनान्सले १३ वर्षअघि आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरूलाई २३.१६ प्रतिशत लाभांश बाँडेको थियो । त्यसअघि र त्यसपछि कम्पनीले सेयरधनीहरूलाई प्रतिफल दिएको छैन ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १३ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको यस फाइनान्सले वितरणयोग्य नाफा २ करोड २१ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीको चुक्ता पुँजी ७२ करोड ९४ लाख रुपैयाँ र जगेडा कोष ४२ करोड ३९ लाख रुपैयाँ रहेको छ । कमजोर वित्तीय अवस्था र शून्य लाभांशकाबीच कम्पनीको सेयर मूल्यमा लगानीकर्ता उत्साहित भएर लगानी गरिरहेका छन् । फाइनान्सको सेयर प्रतिकित्ता ८५७ रुपैयाँमा कारोबार भइरहेको छ ।

बेस्ट फाइनान्सले आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरूलाई २० प्रतिशत लाभांश बाँडेको थियो । सेयरधनीहरूले सो वर्षपछि प्रतिफल पाएका छैनन् । कम्पनीको वार्षिक साधारण सभा समेत अनियमित छ । कम्पनीले गत बैशाख २९ गते सम्पन्न गरेको २६औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरू मात्रै पारित गरेको छ । गत आर्थिक वर्षको साधारण सभा हालसम्म आह्वान गरेको छैन ।

८५ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी र ५७ करोड ५६ लाख रुपैयाँ जगेडा कोष रहेको यस फाइनान्सले गत चैतसम्म ८० लाख २६ हजार रुपैयाँ नाफा गरेको छ । तर, ३० करोड ८७ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ । फाइनान्सको खराब कर्जा ४.३५ प्रतिशत रहेको छ । यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँमा कारोबार भइरहेको छ ।

निरन्तर प्रतिफल वितरण गर्दै आएको गुडविल फाइनान्सले पछिल्लोपटक आर्थिक वर्ष २०७७/७८ मा १३ प्रतिशत प्रतिफल बाँडेको थियो । त्यसपछिका २ वर्ष सेयरधनीहरूको हात रित्तो छ । ९४ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी र ८२ करोड ५८ लाख रुपैयाँ जगेडा कोष रहेको यस फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ८ करोड ६४ लाख रुपैयाँ खुद नोक्सानी बेहोर्नु परेको छ । साथै फाइनान्सको वितरणयोग्य नाफा ३९ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । फाइनान्सको प्रतिसेयर आम्दानी १२.१९ रुपैयाँ माइनस छ भने खराब कर्जा ६.४८ प्रतिशत रहेको छ । तर, फाइनान्सको सेयर मूल्य ६३३ रुपैयाँमा कारोबार भइरहेको छ ।

जानकी फाइनान्सले आर्थिक वर्ष २०७७/७८ मा १५.७८ प्रतिशत लाभांश बाँडेको थियो । त्यसपछिका २ वर्ष सेयरधनीहरूको हात रित्तो छ । साथै कम्पनीको वार्षिक साधारण सभा समेत अनियमित छ । २०८० साउन १३ गते सम्पन्न २६औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गरेको छ । गत वर्षको साधारण सभा हालसम्म आह्वान गरेको छैन । फाइनान्सको ६९ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी र २९ करोड ८६ लाख रुपैयाँ जगेडा कोष रहेको छ । गत चैतसम्म फाइनान्सले १० करोड ८६ लाख रुपैयाँ खुद नोक्सानी बेहोर्नु परेको छ । यस्तै फाइनान्सको प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ ऋणात्मक छ भने खराब कर्जा २८.९१ प्रतिशत छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८०.२० रुपैयाँमा कारोबार भइरहेको छ ।

समृद्धि फाइनान्सले हालसम्म सेयरधनीहरूलाई प्रतिफल दिएको छैन । जबकी फाइनान्सले २०८० पुस २८ गते २२औँ वार्षिक साधारण सभा सम्पन्न गर्याे । गत चैतसम्म फाइनान्सले ६ करोड ९३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । ५ लाख ३६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको यस फाइनान्सको खराब कर्जा १७.२३ प्रतिशत पुगेको छ । फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ र जगेडा कोष २६ करोड ५६ लाख रुपैयाँ रहेको छ । खराब वित्तीय अवस्था र २२औं साधारण सभासम्म पनि सेयरधनीहरूले प्रतिफल नपाउँदा लगानीकर्ताहरू भने फाइनान्सको सेयरमा आकर्षित भएर खरिदबिक्री गरिरहेका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४९.७० रुपैयाँमा कारोबार भइरहेको छ ।

मल्टीपर्पस फाइनान्सले २ वर्षसम्म सेयरधनीहरूको गोजि रित्तो बनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा फाइनान्सले १३.६८ प्रतिशत लाभांश बाँडेको थियो । त्यसयता कम्पनीले सेयरधनीहरूको खल्ती रित्तो बनाएको हो । कम्पनीको वित्तीय स्थिति र साधारण सभा नियमित छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५१७.५० रुपैयाँ रहेको छ ।

प्रोग्रेशिभ फाइनान्सले आर्थिक वर्ष २०७७/७८ मा ६.३१ लाभांश बाँडेको तथ्याङ्क छ । २६औँ वार्षिक सभा सम्पन्न गर्दा कम्पनीले एक पटक मात्रै प्रतिफल दिएको हो । ८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी र १२ करोड ६३ लाख रुपैयाँ जगेडा कोष रहेको छ । गत चैतसम्म फाइनान्सले ५ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ भने ४० करोड ४३ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ । फाइनान्सको प्रतिसेयर आम्दानी १२.९५ रुपैयाँ रहेको छ भने खराब कर्जा ९.३४ प्रतिशत रहेको छ । तर, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँमा कारोबार भइरहेको छ ।

गोर्खाज फाइनान्सले एकपटक मात्रै सेयरधनीहरूलाई प्रतिफल वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा ७ प्रतिशत लाभांश बाँडेको थियो । त्यसअघि र त्यसयता सेयरधनीहरूको हात रित्तो छ । फाइनान्सको साधारण सभा समेत नियमित देखिँदैन । २०८० चैत २ गते सम्पन्न २८ र २९औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वितत्तीय विवरण पारित गरेको थियो । कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ र १ अर्ब २ करोड ६० लाख रुपैयाँ जगेडा कोष छ । गत चैतसम्म कम्पनीले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ । तर, कम्पनीको वितरणयोग्य नाफा ५९ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । फाइनान्सको खराब कर्जा १४.५० रुपैयाँ रहेको छ । फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७००.१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.