व्यवसायीको एकै स्वर : नियन्त्रणमुखी नबन्नुस्, जाँदाजाँदै खुला हृदय बनाउनुस्

  २०८१ असार २५ गते १८:४५     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरूले मौद्रिक नीतिका लागि विभिन्न सुझाव दिएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिमा सुझाव दिनका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले विभिन्न सुझाव दिएका छन् । उनीहरुले सस्तो ब्याजदरमा कर्जा प्रवाह हुनुपर्नेदेखि नीतिगत सुधारसम्मका सुझाव दिएका छन् ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत अन्य कार्यकारी निर्देशकहरु पनि पुगेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी पनि कार्यक्रममा सहभागी भएका छन् ।

अन्तक्र्रिया कार्यक्रममा व्यवसायी होमप्रसाद घिमिरेले राष्ट्र बैंक नियन्त्रणमुखी हुँदै गएको आरोप लगाए । उनले राष्ट्र बैंकको नियन्त्रणमुखी नीतिले व्यवसायीहरु सडकमा आएको र अब दया गरेर भए पनि राष्ट्र बैंकले खुकुलो नीति अघि सार्नु पर्ने धारणा राखे ।

यस्तै, इँटा उद्योगी शंकर बहादुर चन्दले निर्माण व्यवसाय ठप्प हुँदा इँटा उद्योग बन्द भएको जानकारी गराए । उनले उत्पादन भएका इँटा पनि बिक्री हुन नसकेको र सरकारले अब उद्योग नवीकरणमा सहजीकरण गरिदिनु पर्ने माग राखे ।

व्यवसायी उज्वल प्रसाद कसजुले बैंकमा खाता खोल्दा बैंकपिच्छे केवाईसी भर्नुपर्ने समस्या रहेकोले यसको समाधान हुनु पर्ने सुझाव दिए ।

नेपाल शैक्षिक परामर्श संघका अश्मिक कार्कीले ५० लाखको कर्जालाई १ करोड पुर्याउन आग्रह गरे । उनले सेवा प्रदायक कम्पनीलाई बैंकले कर्जा दिन आनाकानी गर्ने गुनासो गर्दै कर्जा तिर्न नसक्ने व्यवसायीलाई ब्याज मात्रै असुल गरि केही समय दिनुपर्ने आग्रह गरे ।

यस्तै, नेपाल टुर्स एण्ड ट्राभल एजेन्टका अध्यक्ष कुमारमणी थपलियाले भारतबाट पर्यटन आउँदा २५ हजारभन्दा बढी नगद ल्याउन पाउन पाउनु पर्ने व्यवस्था हुनुपर्ने बताए । उनले २५ हजारको सीमालाई २ लाख रुपैयाँको सीमा तोक्नु पर्ने धारणा राखे । उनले पर्यटनसँगै विदेशी मुद्रा ल्याउने भएकाले पर्यटन व्यवसायीलाई ब्याजदर छुटको व्यवस्था हुनु पर्ने बताए ।

यस्तै, व्यवसायी केशव भण्डारीले गभर्नर राष्ट्र बैंकबाट बाहिरिने बेलामा केही लचिलो नीति ल्याएर व्यवसायीलाई जोगाउनु पर्ने बताए ।

‘पूर्वका कुनै एउटा व्यवसायीले गल्ति गर्यो भनेर सबैलाई एउटै खाल्डोमा हाल्नु हुँदैन, एउटा व्यवसायीको मारमा सबै व्यवसायी पर्नु हुँदैन,’ उनले भने ।

यस्तै व्यवसायी एलडी लामाले असारमा पनि निर्माण व्यवसायीले भुक्तानी नपाएमा बैंकको डिफल्ट थप बढ्ने बताए । ८० प्रतिशत चेक बाउन्सको मुद्दा निर्माण व्यवसायीका रहेकाले चेक बाउन्सको मुद्दामा केही सहजीकरण गर्नु पर्ने आग्रह उनको छ ।

व्यवसायी दिपक सापकोटाले दाल चामल उद्योगलाई १५ बर्षसम्म कर्जाको किस्ता तिर्ने गरि व्यवस्था गर्नु पर्ने धारणा राखे ।

म्याग्दी जिल्लाका व्यवसायी सुबिन श्रेष्ठले चालु पुँजी कर्जामा संशोधन नभएसम्म मोफसलका उद्योगी व्यवसायी समस्यामा पर्ने धारणा राखे ।

नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारीले विदेशबाट स्वदेश फिर्ता भएका व्यक्तिलाई उद्यमी बनाउने नीति ल्याउनु पर्ने धारणा राखे ।

उनीहरुले कृषि कर्जामा कुनै शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने र कृषि क्षेत्र जोगाउन २ प्रतिशतमा कर्जा उपलब्ध हुनुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.