२०८१ साउन ३ गते ७:४१ विकासन्युज
काठमाडौं । सिन्धु विकास बैंक समस्याग्रस्त भएको छ । बैंकको पुँजी कोष नपुगेपछि राष्ट्र बैंकले सो बैंकलाई शीघ्र सुधारात्मककारबाही गरेको छ ।
राष्ट्र बैंकका अनुसार वि.सं २०८१ असार ११ गते पठाएको वित्तीय विवरण अनुसार सुपरिवेक्षकीय समायोजनपश्चात् बैंकको पुँजीकोष अनुपात ६.७१ रहेको छ । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुग भएकाले बैंकलाई सिघ्र सुधारात्मक कारबाही गरिएको हो ।
‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ख) बमोजिम शीघ्र सुधारात्मक कारवाही गरिएको छ,’ राष्ट्र बैंकले भन्यो ।
यो कारवाहीमा परेपछि बैंकले नयाँ निक्षेप लिन पाउने छैन भने कर्जा लगानी पनि गर्न पाउँदैन । साथै बैंकले शाखा विस्तार गर्न पनि पाउने छैन । बैंकले नयाँ कर्मचारी भर्ना गर्न पाउने छैन । यदि कर्मचारी भर्ना गर्नु परेमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने हुन्छ ।
यसअघि वि.सं २०८० माघ २१ गते नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। राष्ट्र बैंकले उक्त बैंकलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क) बमोजिम निरन्तरता दिएको छ ।
यस्तै सिन्धु विकास बैंकले एकीकृत निर्देशनको व्यबस्था विपरित चेक खरिद गरको, चेकलाई धितोको रूपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर धितो फुकवा गर्ने निर्णय सञ्चालक समितिबाट गराएको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण व्याज समेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गर्ने सञ्चालक समितिको निर्णयबाट बैंकलाई नोक्सानी पुर्याएको राष्ट्र बैंकले बताएको छ ।
जसबाट बैंकका लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्यहरू भएको हुँदा संस्थाको अध्यक्षको हैसियतले त्यस्तो कार्यहरू हुन नदिन प्रयास गरेको नदेखिएको, राष्ट्र बैंकको निर्देशन विपरित बैंकमा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरीएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैह्र-जिम्मेवारीपूर्ण तर्क पेस गरेको तथा बैंक सुधारका लागि पटक-पटक दिइएका निर्देशनहरू पालना नगरेकोले सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ जरिवाना गराएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.