२०८१ साउन ३ गते १३:२१ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शुक्रबार) चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको छ । राष्ट्र बैंक स्रोतका अनुसार भोलि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको छ ।
‘राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा छ, मौद्रिक नीतिको मस्यौदा फाइनल भइरहेको छ, भोलि नै सार्वजनिक गर्ने तयारी छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
यसपटक गभर्नर महाप्रसाद अधिकारी मौद्रिक नीतिमार्फत् केही नयाँपन दिन खोजिरहेका छन् । अर्थतन्त्र चलायमान हुने गरी लचिलो मौद्रिक नीति ल्याउने तयारीमा गभर्नर अधिकारी छन्। पछिल्लो समय बाह्य क्षेत्र सुधार भइसकेको र आन्तरिक क्षेत्र सुधार हुनेक्रममा रहेकाले मौद्रिक नीति पनि खुकुलो आउने राष्ट्र बैंक स्रोतको भनाइ छ ।
राष्ट्र बैंकका गभर्नर अधिकारीले मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति आउने बताउँछन् । साथै बैंकिङ क्षेत्रलाई हालको चुनौतीसँग सामना गर्नसक्ने गरी मौद्रिक नीति ल्याउने उनको भनाइ छ । कृषि र साना तथा मझौला उद्यममा बढी प्राथमिकता दिएर नीति आउनेछ । वर्तमान अर्थतन्त्रमा संकचुन भएकाले यो समस्या समाधान गर्न गरी नीतिगत व्यवस्था गर्ने तयारीमा छन् ।
ब्याजदर एकल अंक र बैंकिङ प्रणालीमा प्रयाप्त निक्षेप थुप्रिँदा पनि कर्जाको माग नहुनु अहिलेको मुख्य समस्या हो । महँगो ब्याजदरमा निक्षेप संकलन गरेर सस्तोमा राष्ट्र बैंकमा थुपार्नु परेको छ । त्यसैले राष्ट्र बैंकसामु नीतिगत व्यवस्थामार्फत् कर्जाको माग बढाउनु पर्ने चुनौती छ । यो समस्याको समाधानका लागि उद्योगी व्यवसायीले परियोजना धितोको माग राखिरहेका छन् ।
साथै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् युवाका लागि विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ । युवाहरूको विदेश पलायनलाई रोक्न र स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नको लागि राष्ट्र बैंकले विशेष व्यवस्था गर्न लागेको हो । युवाहरूका लागि बैंकमार्फत् सहुलियत ब्याजदरमा कर्जा दिन सक्ने किसिमको कार्यक्रम ल्याउन लागेको हो ।
उद्योगी व्यवसायी र बैंकरहरूले चालुपुँजी कर्जा निर्देशिका संशोधन हुनुपर्ने माग गरिरहेका छन् । पर्यटन क्षेत्रको विकासमा सिर्जनात्मक व्यवसायमा लगानी बढाउने र बैंकको कर्जा प्रवाह हुने गरी व्यवस्था आउन सक्नेछ । कर्जाको जोखिमभार क्षेत्रगत आधारमा घटाउन सक्ने सम्भावना रहेको राष्ट्र बैंक स्रोतले बतायो । यसपटक राष्ट्र बैंकले उधारो उठाउने नीति ल्याउन सक्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.