२०८१ साउन ३ गते १६:३३ विकासन्युज
काठमाडौं । बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न सरकारले इन्टरनेट सेवा बन्द गरेको छ ।
यो आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै सरकारले मोबाइलमा इन्टरनेट सेवा बन्द गरेको हो ।
बंगलादेशको सरकारी निकायमा विभिन्न क्षेत्र, समुदाय तथा वर्गलाई करिब ५० प्रतिशत आरक्षण तथा कोटा राखिएको छ । देशको स्वतन्त्रताका लागि लडेकाका छोराछोरीका लागि सरकारी जागिरमा आरक्षण दिइएको छ ।
केही दिनदेखि भइरहेको आन्दोलनमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने एक सय बढी मानिस घाइते भएका छन् । प्रदर्शनमा रहेका विद्यार्थीको मृत्युपछि देशभरिका विद्यालय र विश्वविद्यालय बन्द भएका छन् । अर्को आदेश नभएसम्मका लागि बन्द गरिने जनाइएको छ।
सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन र आन्दोलनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै अस्थाइ रूपमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको बंगलादेशका सहायक सूचना प्रविधिमन्त्री जुनैद अहमद पालकले बताएका छन् ।
उनका अनुसार योअवस्था सामान्य भएपछि मोबाइल इन्टरनेट सेवा पुनः सुरु गरिने छ । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.