२०८१ साउन ४ गते १०:४४ विकासन्युज
काठमाडौं । शुक्रबार सार्वजनिक हुने भनिएको चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाे भन्दै राष्ट्र बैंकले आजका लागि तय गरेको मौद्रिक नीति सार्वजनिक नगर्ने भएकाे हाे ।
यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बैठक बसेर माैद्रिक नीति पारित गर्ने तयारी थियो । तर, समय नपुगेकाेले सार्वजनिक नगरेकाे भनाइ राष्ट्र बैंककाे छ ।
‘यसबारे सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भयो, त्यसकारण शुक्रबार सार्वजनिक हुने सम्भावना कम रह्याे,’ अब कहिले सार्वजनिक हुन्छ भन्न सकिँदैन,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
बिहीबार मात्रै मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको थियो । डा. खतिवडा सल्लाहकार बनेपछि शुक्रबारका लागि तय भएको मौद्रिक नीति तत्कालका लागि सरेको बुझिएको हो ।
प्रधानमन्त्री कार्यालयबाट मौद्रिक नीतिमा चासो आएपछि शुक्रबार बिहान बोलाइएको सञ्चालक समिति बैठकमा मौद्रिक नीति अनुमोदन गर्ने एजेन्डा हटाइएको राष्ट्र बैंक स्रोतको दाबी छ ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार बिहीबार साँझ गभर्नर अधिकारी र डा. खतिवडाबीच मौद्रिक नीतिको विषयमा बिहीबार संवाद भएको थियो । सो संवादमा गभर्नर अधिकारीले मौद्रिक नीतिबारे एक किसिमको चित्र उनी समक्ष ब्रिफ्रिङ गरेका थिए । तर, खतिवडाले केही छलफल गरेर मात्रै मौद्रिक नीति ल्याउन आवश्यक भएको भन्दै शुक्रबार मौद्रिक नीति सार्वजनिक नगर्न आग्रह गरेपछि गभर्नर अधिकारीले शुक्रबारको सञ्चालक समिति बैठकको एजेण्डाबाट नै मौद्रिक नीति पारित गर्ने विषय हटाएकाे बुझिएको हो ।
डा. खतिवडा अर्थमन्त्री हुँदा गभर्नर अधिकारी राष्ट्र बैंकको गभर्नर बनेका थिए । खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर समेत हुन् । धेरैमा खतिवडा र गभर्नर अधिकारीबीच गुरु-शिष्यको सम्बन्ध रहेको बुझाइ छ ।
उसो त शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने विषयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र गभर्नर अधिकारीबीच सहमति भइसकेको थियो । तर, बिहीबार नै खतिवडा प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारमा नियुक्त भएपछि मौद्रिक नीति सरेको हो । मौद्रिक नीति सार्वजनिक गर्ने विषयमा अर्थमन्त्री पौडेलभन्दा खतिवडा ‘सुपर अर्थमन्त्री’का रुपमा देखिएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.