साउन ११ गते मौद्रिक नीति ल्याउने तयारी, खतिवडा र गभर्नरबीचकाे छलफल सकियो

  २०८१ साउन ७ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति साउन ११ गते सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले गत शुक्रबार नै मौद्रिक नीति जारी गर्ने तयारी गरे पनि अन्तिम आवरमा रोकिएपछि अब साउन ११ गते सार्वजनिक गर्ने तयारी गरेको हो ।

गत साता मात्र बनेको नयाँ सरकारको चाहना र प्राथमिकतालाई समेटेर मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाकार डा. युवराज खतिवडाले सरकारका चासोका विषयहरू गभर्नर अधिकारीसमक्ष राखेका उच्च स्रोतले बतायो ।

स्रोतका अनुसार गभर्नर अधिकारी र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडाबीच मौद्रिक नीतिका विषयमा छलफल भइसकेको छ । नयाँ मौद्रिक नीतिमा आउनु पर्ने विषयमा उनीहरु दुई जनाबीच सहमति भइसकेको बुझिएको हो ।

खतिवडा पूर्व गभर्नर र पूर्व अर्थमन्त्री पनि हुन् । खतिवडासँग मौद्रिक नीतिबारे राम्रो ज्ञान र अनुभव छ ।

गभर्नर अधिकारीले मौद्रिक नीतिबारे सुझाव लिन आयोजित सार्वजनिक कार्यक्रमहरुमा खुकुलो मौद्रिक नीति ल्याउने बताउँदै आएको थिए । तर, अहिले सरकार परिवर्तन भएको छ ।

सेयर बजार, घरजग्गा र अटोबजारलाई अनुत्पादक भन्दै यस क्षेत्रमा प्रवाह हुने कर्जाप्रति कठोर नीति लिँदै आएका युवराज खतिवडा गभर्नरलाई पनि निर्देशन दिने भूमिकामा रहेकाले चालु आर्थिक वर्षको लागि बन्दै गरेको मौद्रिक नीति कस्तो होला भनेर फरक-फरक काेणबाट विश्लेषण हुन थालिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.