२०८१ साउन १० गते १४:४१ विकासन्युज
नेपालको सामुदायिक विद्यालयको सिकाइ प्रक्रियाबारे बेलाबखत प्रश्न उठ्ने गर्छ । सामुदायिक विद्यालयमा पढाइने किताबी ज्ञान विद्यार्थीको जीवनसँग मेल खाएन भनेर धेरैले टिप्पणी गर्ने गरेका छन् । विद्यार्थीहरू व्यवहारिक ज्ञान र सिपमा अब्बल हुन सकेनन् भन्ने बहस पनि हुने गरेको छ । सामुदायिक विद्यालयको सिकाइ प्रक्रिया, विद्यार्थीको आवश्यकता र वर्तमान शिक्षा प्रणालीको विषयमा विकासन्युजका लागि इन्द्रसरा खड्काले काठमाडौं विश्वविद्यालयका प्राध्यापक टीकाराम पौडेलसँग कुराकानी गरेकी छन् ।
नेपालका सामुदायिक विद्यालयको शिक्षा सिकाइ प्रक्रिया कस्तो छ ?
पहिलेभन्दा अहिले केही सुधार भएको छ । १० वर्षयताको मात्र हेर्ने हो भने सिकाइमा सुधार भएको छ । काठमाडौं महानगर, बुटवल महानगर लगायत केही ठाउँमा विद्यालयलय तहको शिक्षा राम्रो भइरहेको छ । ती ठाउँका विद्यार्थीको एसईईको नतिजा पनि राम्रो आएको हामीले पायौं । तर, केठी ठाउँका विद्यालयमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन । अब यसमा पनि के गर्न सकिन्छ भने जुन–जुन स्थानीय तहका विद्यालयले राम्रो नतिजा ल्याएका छन् त्यो स्कुलको सिकाइ प्रक्रिया अथवा त्यो मोडललाई अन्य कमजोर विद्यालयमा लागु गर्न सकिन्छ । यसो गर्दा एक विद्यालयको सिकाइ अर्को विद्यालयले ग्रहण गर्ने र शिक्षामा अझ राम्रो हुन सक्छ । हामीले अपेक्षा गरे जति सुधार नभए पनि बिस्तारै सिकाइमा सुधार आउँदैछ ।
तपाईंहरूले सोचेको र अपेक्षा कस्तो हो ?
हाम्रो निर्देशिका, नीति नियममा विद्यार्थीले यो कक्षामा पुगिसकेपछि यतिसम्मको सिकाइ सिक्नुपर्छ भनेर तोकेको छ । जस्तै, १० कक्षा पुगिसकेपछि यति सफ्ट स्किल यतिसम्म भाषाको ज्ञान हुनुपर्छ, गणित, सामाजिक ज्ञान हुनुपर्छ भन्ने छ । तर, त्यो अनुसारको ज्ञान सिप हुन सकेको छैन । शिक्षा पाउनुको अर्थ भनेको बाँच्नको लागि जीवनलाई सजिलो बनाउनु हो । तर, त्यो ज्ञान अहिलेको अवस्थामा धेरै विद्यार्थीहरूले लिन नसकेको अवस्था छ । मैले गरेको अपेक्षा भनेको परिक्षा दिएर पास गर्नुलाई मान्दैन ।
हालसालैको एसईईको नतिजालाई हेर्ने हो भने ५२ प्रतिशत विद्यार्थी फेल भन्ने जुन किसिमको हामीले अवधारणा बनाएका छौं, यो गलत हो । उनीहरूले पनि स्कुलमा आएर केही न केही त सिकेका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । एउटा विद्यार्थीले ३५ प्रतिशत पायो, अर्को विद्यार्थीले ३४ प्रतिशत पायो भने ३४ प्रतिशत पाउने विद्यार्थी एकदमै कमजोर त हैन यसलाई पनि राम्रो नजरले हेर्नुपर्छ । राष्ट्रको लगानीमा उसले पनि भाषा सिकेको छ, सामाजिक कुरा सिकेको छ, सांस्कृतिक ज्ञान सिकेको छ । त्यसलाई पनि हामीले सकारात्मक रूपले लिनुपर्छ । मैले भन्न खोजेको जस्तो ३५ प्रशितको सट्टा ६० प्रतिशत ल्याइदिए हुन्थ्यो भन्ने अपेक्षा भयो । तर, त्यो हुन सकेन । त्यसैले यस्तो सिपलाई बढाउनुपर्यो ।
तपाईंको जस्तो चिन्ता चासो सबैले राख्नु हुन्छ । नेपालमा कस्तो किसिमको सिकाइ हुनुपथ्र्यो ?
चिन्ता गर्नु राम्रो हो । तर, चिन्ता गरेर मात्र हुँदैन के गर्दा उपयुक्त हुन्छ भन्ने सोच्नु अहिलेको आवश्यकता हो । मुलुकमा भइरहेको नराम्रो कुरा भनेको अरुलाई दोष दिने हो । अहिले एसईईको नतिजा नराम्रो हुँदा पनि धेरैले सरकार, शिक्षक र समाजलाई दोष दिरहेका छन् । मलाई यो मन पर्दैन । अब हामीले के सोच्नुपर्छ भने म विश्वविद्यालयमा पढाउँछु भने मेरो पनि त केही जिम्मेवारी छ नि । एउटा कुनै स्कुलमा पढाउने प्रधानाध्यापक छ भने उसको पनि जिम्मेवारी हुन्छ । उनीहरूले पनि नतिजा राम्रो ल्याउन, सिकाइलाई राम्रो बनाउन केही गरिरहेकै छन् । यसका लागि सरकार, तपाईं हामी, समाज सबैको जिम्मेवारी उत्तिकै छ ।
एउटा विद्यार्थीलाई स्कुलको पाठ्यक्रम भन्दा बाहिरको विषयलाई कसरी सिकाउन सकिन्छ ?
धेरै तरिकाले सिकाइन्छ र केही विद्यालयले सिकाइ पनि रहेका छन् । एउटा प्रोजेक्टमा हामीले काठमाडौं महानगरसँग काम गरेका थियौं । उहाँहरूले एउटा राम्रो काम गरिरहनुभएको रहेछ । अहिले काठमाडौं महानगरमा शुक्रबारलाई ‘बुक फ्री फ्राइडे’ भनेको छ । शुक्रबारमा विद्यार्थीले स्कुल जाँदा किताब लिएर जानुपर्दैन । कहिले गार्डेनमा रहेका विभिन्न किसिमका बिरुवाबारे अध्ययन गर्न सकिन्छ । हामीले किताबको पानामा बगैँचा र विरुवाको कुरा सिकाउनुभन्दा बगैँचामा गएर पढाउँदा धेरै अन्तर हुन्छ । त्यसै गरी कहिले मन्दिर कहिले बारीमा लिएर यसरी फरक तरिकाले पनि विद्यार्थीलाई पढाउन सकिन्छ । कहिले एक स्कुलको विद्यार्थीलाई, अर्को विद्यालयमा गएर एकअर्का स्कुलले दिँदै आएको सिकाइका विषयमा ज्ञान आदान–प्रदान गर्न सकिन्छ । अहिले काठमाडौं महानगरले ‘गरिखाने शिक्षा महानगरको इच्छा’ नारा दिएर विद्यलयको सिकाइलाई जोड दिइरहेको छ । हामीले यस्तो खालको शिक्षा दिनुपर्यो जसले जीवन बाच्न सजिलो होस् ।
यसका लागि सरकार, समुदाय शिक्षक विद्यार्थी कसको भूमिका के हुन्छ ?
यो समाजको दायित्व हो । सरकार पनि समाजभित्रकै अंग हो । शिक्षक, विद्यार्थी अभिभावक सबै समाजका पात्र हुन् । आजका विद्यार्थीलाई हामीले राम्रो शिक्षा दियो भने भोलिको भविष्य उज्यालो हुन्छ । हामीले यो अवधारणाबाट अगाडि बढ्नुपर्यो । अहिले म कार्यरत काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनको समन्वयमा विभिन्न ठाउँमा कामहरू भइरहेका छन् । विद्यार्थीलाई किताबमा घोकाउने मात्र नभएर उनीहरूको ज्ञानलाई त्यो समाजसँग कसरी जोड्न सकिन्छ भन्ने कुरामा ध्यान दिरहेका छौँ । पहिले अंग्रेजी पढाउने शिक्षकलाई नेपाली विषयको विषयमा खासे ज्ञान हुँदैन थियो । अहिलेको हकमा हामी के भनिरहेका छौ भने एउटा शिक्षकले गणीत पनि जान्नुपर्छ उत्तिकै विज्ञान, अंग्रेजी पनि जान्न सक्ने हुनुपर्छ । अर्को कुरा हामीले पढाउने विषयलाई विषय र भाषाको समन्वय कसरी हुन्छ भन्ने कुरा पनि सानैबाट सिकाउनुपर्छ ।
कतिपय विद्यालयमा आफ्नो विषयपनि राम्रोसँग पढाउन नसक्ने शिक्षकहरू पनि हुनुहुन्छ नि ?
यो मैले भनेको कुरा भर्खरै लागु हुँदैछ । परिवर्तन हुन समय लाग्छ । जुन रूपमा पहिले हाम्रा शिक्षकले काम गरिरहनुभएको थियो त्यसलाई परिवर्तन गर्न केही समय लाग्छ । म एउटा उदाहरण पनि दिन्छु । धेरै विद्यालयले अंग्रेजीमा पढाउँदा विद्यार्थी आउने, नेपालीमा पढाउँदा कम आउने गरेपछि कतिपय विद्यालयले अंग्रेजी माध्यममा पढाउन सुरु गरेको पनि पाइन्छ । यो विस्तारै हुने कुरा हो । तर, एउटा शिक्षकले ४० वर्षदेखि नेपालीमा पढाइरहेको थियो भने अब भोलिदेखि अंग्रेजीमा पढाउ भन्दा उसलाई गाह्रो हुन्छ । यो स्वाभाविक हो । अब हामीले छान्ने शिक्षक चाहिँ यस्तो हुनुपर्छ भन्ने मेरो मत हो । तर, अहिले केही सरकारी स्कुलहरूले पनि राम्रो शिक्षा रहेको अवस्था छ ।
सुधार कसरी गर्ने ?
विद्यार्थीको सिकाइको कुरा गर्दा ७७ वटै जिल्लाका विद्यार्थीलाई एकै किसिमको सिकाइ सिकाउन गाह्रो हुन्छ एउटा दुर्गममा पढ्ने विद्यार्थी र काठमाडौंमा पढ्ने विद्यार्थीको रेस एउटै हुँदैन । यसको एउटा कारण भाषा हो । बझाङबाट एसईई दिएर काठमाडौं अध्ययन गर्न आएको विद्यार्थीलाई काठमाडौं आएर पढ्दा सुरुको दिनमा निकै गाह्रो हुन्छ । गाउँमा बस्दा मोबाइल नहोला, पाठ्यपुस्तक नै नहोला अरू एक्सपोजरहरू नहोला । उनीहरूका बुबाआमा शिशिक्ष नहोलान् । काठमाडौंमा मैले देखेको छु, बच्चाहरू सानै हुँदा उनीहरू बुबाआमा अंग्रेजीमै बोल्छन् । विद्यालयबाट घर फर्केपछि बच्चाहरूलाई ट्युसन पढाउँछन् । तर, अशिक्षित बाआमाले यस्तो गर्न सक्दैनन् । नेपालको एउटा जेनेरेसनमात्रै शिक्षित हुँदैछ, त्योभन्दा अगाडिको थिएन । १९५१ मा नेपालको साक्षरता दर नै ९ प्रतिशत मात्र थियो भने अहिले ७०/७१ प्रतिशतमा पुगिसक्यौं । यो ठूलो उपलब्धि हो । यसलाई हामीले सुधारको रूपमा लिनुपर्यो र जहाँ–जहाँ सुधार गर्नुपर्ने छ त्यहाँ काम गर्दै जानुपर्छ ।
राम्रो सिकाइका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको भूमिका के हुन्छ ?
बच्चाहरूको पहिलो शिक्षक आमाबुवा हुन् । उसको स्कुल घर हो । त्यसैले पनि विद्यार्थीको सिकाइमा अभिभावकको भूमिका सबैभन्दा पहिलो र ठूलो हुन्छ । मेरो बच्चा स्वस्थ्य छ कि छैन, उसले राम्रोसँग खाना खाइरहेको छ कि छैन, उसको लागि लुगा छकि छैन, किताब कापी छ कि छैन घरदेखि स्कुलको दुरी कति छ ? उ कसरी स्कुल गइरहेको छ, कसरी उसलाई स्कुल पुर्याउने यो सबै रोल अभिभावकको हुन्छ । सँगै विद्यालय, शिक्षक व्यवस्थापन समितिको पनि उत्तिकै भूमिका हुन्छ । घरबाट जसरी अभिभावकले विद्यालय सुरक्षित ठानेर पठाउँछन् त्यसरी सुरक्षित बच्चाहरू राख्ने जिम्मा विद्यालयको हो । विद्यालय बच्चाको दोस्रो घर हो । विद्यालयमा आएका बच्चाहरूलाई रिसाएर हैन कसरी माया गरेर सिक्षा दिनुपर्ने हो त्यो सिप शिक्षकमा हुन आवश्यक छ । यस्तो वातारण तयार पार्ने जिम्मा विद्यालय व्यवस्थापन समितिको हो । एउटा शिक्षकले हँसिलो मुहार लिएर कक्षाभित्र पस्छ भने त्यहाँ विद्यार्थीले धेरै कुराहरू सिकिसकेको हुन्छ ।
तपाईंले नेपालमा मात्र होइन विभिन्न देशमा गएर अध्ययापन गराएको अनुभव छ, नेपाल र विदेशको सिकाइमा के फरक छ ?
सिकाइ बाहिर र यहाँकोमा धेरै फरक छ । मैले जर्मन गएर केही वर्ष पढाएको थिएँ । त्यहाँ कक्षा ५ सम्म बेसिक ब्याकग्राउण्ड भन्छन् । कक्षा ५ मा राम्रो ग्रेड ल्याउने विद्यार्थीमात्र कक्षा ६ मा जान्छ । जो विद्यार्थी सिकाइ जतिसम्मको छ त्यस्तै खालको तालिम, सिप विद्यार्थीलाई दिइन्छ । जस्तै, कक्षा ५ मात्र पास गरेकोले उसको सोच कौसलले कत्तिको विकास गरेको छ, त्यही अनुसारको रोजगारी सिर्जना गर्ने शिक्षामा उनीहरू लैजान्छन् । कक्षा १० मा पुग्दा राम्रो नम्बर ल्याउन सकेन बी प्लससम्म पनि ल्याउन सकेन भने त्यस्ता विद्यार्थीलाई इन्टर्नसिप तिर लैजान्छन् । जस्तै, बसको ड्राइभर हुने, गाह्रो लगाउने जस्तोतर्फको शिक्षा दिइन्छ ।
यस्तै १२ कक्षा पास गर्न सकेन भने फेरि जाँच हुन्छ, त्यो राम्ररी पास गर्न सक्यो भने मात्र विद्यार्थीले युनिभर्सिटीमा जान पाउँछ । तर, नेपालमा यस्तो छैन । हाम्रो यहाँ एसईई पास गरिसकेपछि जस्तो नम्बर ल्याएको विद्यार्थी अभिभावकको रुचि उच्च विषयमा जान्छ । अर्को समस्या भनेको जो विद्यार्थी पढ्न आउनुहुन्छ त्यसमा विद्यार्थीको रुचिभन्दा अभिभावकको रुचिको विषय पढ्ने हुन्छन् । फेरि अभिभावकको पहिलो रुचि भनेको डाक्टर र इन्जिनियर हुन्छ ।
शिक्षाको मापन के हो ?
शिक्षालाई मापन गर्ने प्रणली फरक हुन्छन् । नेपालको हकमा शिक्षाको मापन ३ घण्टे परिक्षालाई मानिएको छ । तर, हामीले यसरी मापन गर्दैनौँ । हाम्रो विद्यार्थी स्कुलहरूमा जान्छन्, त्यहाँ गएर अवलोकन गर्छन् । शिक्षकले कसरी पढाउँछन, प्रधानाध्यापकले कसरी काम गर्नुहुन्छ , विद्यालय र समुदायको सम्बन्ध कस्तो हुन्छ भन्ने विषय हाम्रा विद्यार्थीले हेर्नुहुन्छ । यति जानिसक्यो भने उहाँहरूलाई भोलिको दिनका लागि पनि सहज हुन्छ । तर, नेपालमा विद्यार्थीको मापन एसईईमा मात्र बढि हुन्छ । अहिले ५२ प्रतिशत फेल भनेर चर्चा भएसँगै विद्यार्थीलाई कक्षा १ देखि यसरी नै मापन गर्न सकेको भए यो अवस्था आउने थिएन । कक्षा १० सम्म हामीले कक्षामात्र बढाउँदै लग्यौँ कक्षा १०मा पुगेर मापन गर्दा परिणाम यस्तो आएको हो ।
अब कसरी अगाडि जाँदा प्रभावकारी सिकाइ बनाउन सकिएला, यहाँको अनुभवले के भन्छ ?
मेरो विचारमा एउटा बालबालिकालाई उसैको घरको भाषाबाट विद्यालयमा पनि सिकाउँदा राम्रो हुन्छ । किन कि उसले घरमा एउटा विद्यालयमा जाादा अर्को भाषा सिक्नुपरेन । हाम्रा धेरैजसो बालबालिकाको समय अर्को भाषा सिक्दै जान्छ । जस्तो अंग्रेजीको कुरा गरौँ हाम्रो मानसिकता के भयो भने अंग्रेजी राम्रो बोल्छ भने उसकोे गुणस्तरीय शिक्षा भएको मान्छौँ । जसले नेपालीमा राम्रो बोल्छ जे काम पनि गर्न सक्छ उसलाई कमजोर मान्छौँ यो गलत हो । अर्को कारण हाम्रा धेरै विद्यार्थी गाउाको वातावरणबाट शहरमा आउन थाले । गाउँको परिवेशबाट अचानक नयाँ ठाउँमा आउँदा वातावरण, भाषा, शिक्षक, सब नयाँ हुन्छ यसले पनि सिकाइमा केही प्रभाव पर्छ । अर्को आर्थिक स्थितिले पनि सिकाइमा प्रभाव पार्छ ।
पढेर जागिर नपाउँदा पनि आफैं काम गरिखाने विद्यार्थी कसरी उत्पादन गर्ने ?
हरेक मान्छेमा केही न केही क्षमता हुन्छ । त्यसको पहिचान गरी त्यही अनुसारको सिप दिन हामीले सक्नुपर्छ । हाम्रै कुरा गर्ने हो भने हामीले सिलाइकटाई, शैलुन लगायतको सिप पनि सिकाउँदै लगेका छौँ । यस्तो सिप हरेक विद्यालयमा सिकाउने हो भने विद्यार्थीले आफ्नो जीवनमा अप्ठ्याराे पर्दा आफूले सिकेको सिप काम लाग्न सक्छ । तर, नेपालमा यस्तो छैन । हाम्रो सामाजिक मानसिकता पनि कपाल काटेर, जुत्ता सिलाएर व्यवसाय गर्ने हो भने उसको परिवारलाई पनि मन पर्दैन । एउटा व्यक्तिले पढेर पनि जागिर खान नसकेको बेला उसलाई गरी खान सक्ने बनाउने भनेको सिप हो । यसका लागि सरकारले विद्यालयमा यस्ता कार्यक्रम सुरु गर्न र मान्छेले सोच बदल्न आवश्यक छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.