आर्थिक मन्दीले पर्वतका २३६ उद्योग बन्द

  २०८१ साउन १२ गते १०:४५     विकासन्युज

फाइल फोटो

पर्वत । कोभिड–१९ संक्रमणपछि देखिएको आर्थिक मन्दीको प्रभाव पर्वतका उद्योग व्यवसामा पनि परेको छ । पर्वतमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योग व्यवसकायको तुलनामा बन्द हुने उद्योग व्यवसायको संख्या बढेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतमा १ सय ९५ उद्योग, व्यवसाय फार्म दर्ता भएकामा २ सय ३६ वटा बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार गत आवमा ९४ उद्योग दर्ता भएकामा १ सय सात खारेज भएका छन् ।

एक सय एक वाणिज्य फार्म दर्ता भएकामा एक सय २९ फार्म खारेज भएको कार्यालय प्रमुख अशोककुमार नेपालीले जानकारी दिए ।

पर्वतमा आर्थिक वर्ष २०७९/८० सम्म ३ हजार ४ सय २६ उद्योग र ३ हजार २ सय ७५ वाणिज्य फार्म रहेकामा आव २०८०र८१ को अन्त्यमा घटेर ३ हजार ४ सय १३ उद्योग र ३ हजार २ सय ४७ वाणिज्य फार्म कायम रहेको कार्यालय प्रमुख नेपालीले बताए । एकै वर्षमा ४७ उद्योग बन्द भएका छन् ।

आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग बन्द हुने क्रम बढेको छ ।

उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुरवि पौडेलले बताए । व्यापार व्यावसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुनेक्रम बढेको उनको भनाइ छ ।

लाखौँ रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि व्यवसायी विस्थापित हुनुपरेको छ ।

कोरोना संक्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा रहेको कार्यालयले जनाएको छ । कोरोना संक्रमणपछि देखिएको चौतर्फी आर्थिक मन्दीको प्रभाव उद्योग व्यवसायमा परेको हो ।

पर्वतमा अघिल्लो आर्थिक वर्षमा ९२ उद्योग खारेज भएका थिए ।  २७४ वटा उद्योग तथा व्यवसाय दर्ता भएकामा ९२ खारेज भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत घरेलु उत्पादनका उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको पाइन्छ ।

वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको उनले बताए । वाणिज्य फार्मतर्फ दर्ताको संख्यासँगै फार्म बन्द हुने संख्या पनि बढेको छ ।

पर्यटन तथा उद्योग कार्यालयले आव २०८०/८१ मा ९७.७७ प्रतिशत प्रगति हासिल गरेको छ । पर्वतमा गत आर्थिक वर्षमा ५५ पर्यटन पूर्वाधार निर्माण भएका छन् भने ६९ जनालाई सीप विकास तालिम प्रदान गरिएको छ ।त्यसैगरी कार्यालयले २२ उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । आव २०८०/८१ मा कार्यालयले २२ लाख ५१ हजार राजस्व संकलन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.