२०८१ साउन १४ गते १०:५२ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका छन् । गभर्नर अधिकारीले आइतबार उनलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् ।
यसअघि डा. भट्टले प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए । अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएपछि डा. भट्टलाई जिम्मेवारी दिइएको हाे। भट्टले यसअघि पनि अनुसन्धान विभागको जिम्मेवारी सम्हालिसकेका छन् ।
डा. भट्ट यसअघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए । भुक्तानी प्रणाली विभागमा भने वरिष्ठ निर्देशक विनोदराज आचार्यलाई कायमुकायमको जिम्मेवारी दिएको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेललाई आज (साउन १४ गते) देखि लागु हुने गरी राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
प्रवक्ता पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तरसम्मको उपाधि हासिल गरेका छन् । साथै, उनले बैंक सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.