भरत महर्जन र जीवी राईदेखि देव नेपालीविरुद्ध रेड नोटिस जारी, यी हुन् विदेशबाट समात्नैपर्ने १८ सहकारी सञ्चालक

  २०८१ साउन १४ गते १३:४०     विकासन्युज

काठमाडौं । सहकारी छानबिन समितिले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

बैठकपछि समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए ।

उनले विदेश फरार रहेका व्यक्तिहरू संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहे पनि उनीहरू विदेशमा भएकाे हुँदा सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको बताए ।

उनले बचतकर्ताहरूको दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिले सोधपुच्छ गर्न आवश्यक भएको बताए ।

उनले सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि,सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतमलाई स्वदेश झिकाउन निर्देशन दिएको बताए ।

यस्तै, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा बचत तथा ऋण सहकारी र सुप्रिमका सुवास केसी, कान्तिर सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको उनले बताए ।

अध्यक्ष थापाले भने, ‘उनीहरूलाई स्वदेश ल्याएपछि मात्र छानबिन समिति निष्कर्षमा पुग्नेछ, यसका लागि सरकारलाई आवश्यक निर्देशन दिएका छौं, यसमा गृहमन्त्रालय पनि सहमत भइसकेको छ ।’

यस्तै, बैठकले कारागारमा रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग पनि सोधपुछ गर्ने निर्णय गरेको उनले बताए । उनले भने, ‘यसका लागि गृह मन्त्रालयलाई प्रबन्ध मिलाउन भनिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.