२०८१ साउन १५ गते १३:०५ विकासन्युज
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले साविकको व्यवस्थाअनुसार नै वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विगतमा जस्तै साउन २१ गतेभित्र नै वित्तीय विवरण सार्वजनिक गर्न आग्रह गरेको हो ।
नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले साउन २१ गतेभित्र नै वित्तीय विवरण सार्वजनिक गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे ।
बैंक तथा वित्तीय संस्थाहरूले गत असारसम्म पाकेको ब्याज साउनमा उठाएमा विद्यमान लेखामानको अधीनमा रही सो ब्याज रकमलाई गत आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यससँगै साउनमा पनि ब्याज उठ्ने भएपछि वित्तीय विवरण सार्वजनिक गर्ने विषयमा बैंकरहरू दुविधामा थिए ।
तर, एक महिनाका लागि नीतिगत व्यवस्था नगरी पुरानै व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने डा.आचार्यको भनाइ छ ।
‘बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउनेछन्,’ राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरेको छ ।
यस्तै, राष्ट्र बैंक नियमन विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरु पौडेलका अनुसार वित्तीय विवरण सार्वजनिक गर्न समय लम्ब्याइएको छैन । अहिले सार्वजनिक गर्ने वित्तीय विवरण लेखापरीक्षण नगरिने भएकाले पुरानै व्यवस्था बमोजिम सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
‘कुनै बैंकले असारमा पाकेको ब्याज साउनमा उठ्यो भने गत वर्ष वित्तीय विवरणमा जोड्न पाउँदिन भन्न पनि पाइन्छ । किनभने १३ महिना नभई १२ महिना हुने हो, अहिले राखियो भने चालु आर्थिक वर्षलाई घाटा पर्ने हो,’ उनले भने ।
उनका अनुसार २१ गतेभित्र आउने वित्तीय विवरण अपरिस्कृत हुने भएकोले पछि पनि त्यसमा समावेश गर्न पाइनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.