२०८१ साउन १७ गते १४:५५ विकासन्युज
काठमाडौं । डिजिटल वालेट खल्तीले दैनिक तीन पटकभन्दा बढी १०० रुपैयाँमाथिका कारोबार गर्दा शुल्क लिने भएको छ ।
कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी यस्तो व्यवस्था सुरु गरिएको जानकारी दिएको हो ।
नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआरमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’लाई प्रोत्साहन गर्न स्ट्यान्डर्ड ट्यारिफ र सेवाशुल्क परिवर्तन गरेको कम्पनीले उल्लेख गरेको छ ।
‘यही मिति २०८१ साउन १७ बाट लागु हुने गरी एक खल्ती प्रयोगकर्ताले अर्को खल्ती प्रयोगकर्तालाई गर्ने १०० रुपैयाँसम्मको फन्ड ट्रान्सफर सेवा निःशुल्क रहने, साथै एक दिनमा अधिकतम तीन पटक र महिनाको ३० पटकसम्म गरिने फन्ड ट्रान्सफर सेवा पनि निःशुल्क रहने जानकारी गराउन चाहन्छौं,’ कम्पनीले जारी गरेको सूचनामा छ ।
यसअन्तर्गत १०० रुपैयाँसम्मका सबै कारोबार निःशुल्क हुनेछन् । एक दिनमा १०० रुपैयाँ बढीका तीन ओटा कारोबारमा कुनै शुल्क लाग्ने छैन । तर, त्यसभन्दा माथिका कारोबारमा प्रतिकारोबार १० रुपैयाँ सेवा शुल्क लाग्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.