२०८१ साउन २१ गते १३:४७ पूर्णप्रसाद मिश्र
बकैया । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् ।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौं–निजगढतर्फको १ हजार ७ सात सय २८ मीटर लामो सुरुङ ब्रेक थ्रु गरेका हुन् । निजगढ–कामाठाडौंतर्फको १ हजार ६ सय ५३ मीटर धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिए ।
लेनडाँडामा रहेको निजगढ–काठमाडौंतर्फको १ हजार ६ सय १२ मीटर र काठमाडौं–निजगढतर्फको १ हजार ६ सय ३३ मीटर सुरुङ यसअघि नै खनिसकिएको छ । तीन हजार तीन सय २२ मीटरको निजगढ–काठमाडौंतर्फको महादेवटार सुरुङ हालसम्म दुई दशमलव २९ किमी तथा तीन दशमलव ३८ किमीको काठमाडौं–निजगढतर्फको दुई दशमलव २८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । बाँकी चार पुल खोकना क्षेत्रमा रहेका छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।
प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमवल ९७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रूतमार्गमा १० दशमवल ३९ किमी लम्बाइका ६ वटा सुरुङ बन्ने छन् । आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलव २५ किमी, महादेवडाँडामा तीन दशमलव ३५ किमी, धेद्रेमा एक दशमलव ६९ र लेनडाँडामा एक दशमलव ६२ किमी लामो सुरुङ निर्माण हुनेछ ।
सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् । बुदुनेमा दुई विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछन् ।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो ।
सो अवरसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही तथा नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूत उपस्थिति थियो । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.