२०८१ साउन २५ गते १७:४२ विकासन्युज
काठमाडौं । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएको आज तीन वर्ष पुरा भयो । वि.सं २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई तत्कालीन प्रधानमन्त्री सेरबहादुर देउवाले पुनः प्राधिकरणको जिम्मेजारी दिएका थिए ।
वि.सं २०७८ साउन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त भएका उनै घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता गरेका थिए । कार्यसम्पादन सम्झौता मूल्याङ्कनका आधारमा उनले आर्थिक वर्ष २०७८/७९ मा ९४.२३ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा ९८.९४ प्रतिशत अंक प्राप्त ल्याउन सफल भए । गत आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनको क्रममा रहेकाले त्यसको नतिजा आउन बाँकी रहेको उनले बताए ।
उनी प्राधिकरणको कार्यकारी निर्देशक भने पहिलोपटक २०७३ सालमा नियुक्त भएका थिए । ८ वर्षअघि उनी प्राधिकरणको कार्यकारी निर्देशक हुँदा आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्रै थियो । विद्युतीकरणको स्थितिलाई तीन वर्षअघिसम्म ८९.७ प्रतिशत पुर्याए । दोस्रोपटक भने उनले ९९ प्रतिशत पुर्याएको दाबी गरे ।
८ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत् ग्राहक सङ्ख्यालाई बढाएर सामुदायिकसहित ५९ लाख ३५ हजार पुर्याएको उनको भनाइ छ । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको र अब छिट्टै देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने उनले बताए ।
कार्यकारी निर्देशक घिसिङका अनुसार ८ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेका थियो । तर, हाल १० अर्ब २३ करोड युनिट पुगेको छ । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको छ ।
‘घर-घर र वस्तिवस्तिमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको छ, देशमा पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुँदा विद्युतीय सवारी साधनको प्रयोग पनि बढेको छ, भान्सामा खाना पकाउन विद्युतीय चुलो बल्न थालेका छन्, जसले गर्दा पेट्रोलियम पदार्थको खपत घट्दा कार्बन उत्सर्जन घटाउन योगदान पुगेको छ,’ उनले भने ‘विद्युत खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैँ ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको छ, निजी क्षेत्रबाट निर्माण गरिएका ४ सय भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन् ।’
उनी कार्यकारी निर्देशक बन्नुअघि प्राधिकरण ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । तर, आफूले प्राधिकरणको जिम्मेवारी सम्हालेपछि विगतका दिन फर्केर हेर्नु नपरेको उनले बताए । आर्थिक वर्ष २०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले गत वर्ष १३ अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ । उनका अनुसार ८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । यसअवधिमा विद्युतको महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाएको भएपनि प्राधिकरण नाफामै रहेको उनले बताए ।
प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको छ । सिंचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत उपलब्ध छ भने लिफ्टिङ खानेपानीमा डिमाण्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ । प्राधिकरणले नाफा कमाउन मात्र नभई आफ्नो सामाजिक दायीत्वलाई पनि उत्तिकै जिम्मेवारीका साथ पूरा गरिरहेको उनले बताए ।
प्राधिकरणले चुक्ता पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेर सोबाट संकलन भएको रकमले ठूला जलविद्युत आयोजनामा लगानी गर्ने उनले बताए । विगत ८ वर्षमा मात्र प्राधिकरण करिब एक खर्ब रुपैयाँ पुँजिगत लगानी गर्न सक्षम भएको उनकाे भनाइ छ । यसअवधिमा प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्व रुपैयाँ पुगेको छ । देशभरी रहेको जग्गाहरूको एकिन गरी करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको उनले बताए ।
गत वर्ष १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ । वर्षायाममा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।
उनका अनुसार गत वर्ष भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको छ । गत वर्ष आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ ।
सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । ८ वर्षअघिसम्म विद्युत वितरणतर्फका वितरण सबस्टेसनहरु ८० वटा रहेकामा अहिले बढेर १ सय ९७ वटा पुगेको छ । वितरण लाइनतर्फ ८ वर्षअघि १ लाख २१ हजार सर्किट किलोमिटर रहेकामा अहिले बढेर २ लाख ८ हजार सर्किट किलोमिटर पुगेको छ ।
८ वर्ष अघिसम्म प्रणालीबाट २५.८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो । चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको चुहावट करिव १२.७३ प्रतिशतमा झारिएको छ । चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणले यस अवधिमा प्रतिवर्ष करिव १२ अर्व रुपैयाँ थप आम्दानी गरेको छ ।
प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत आयोजनाहरु गरी कुल जडित क्षमता ३ हजार १ सय ५७ मेगावाट पुगेको छ भने विगत ८ वर्षमा मात्र २ हजार ३ सय मेगावाट र विगत ३ वर्षमा १७०६ मेगावाट थप भएको छ । जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात २ हजार ९ सय ९१ मेगावाट योगदान जलविद्युतकै छ । थर्मल उर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १ सय ७ मेगावाट र वायोमास उर्जा ६ मेगावाट छ ।
२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम
Copyright © 2025 Bikash Media Pvt. Ltd.