पहिरोमा ज्यान गुमाएका परिवारलाई ६ लाख रकम हस्तान्तरण

  २०८१ साउन २५ गते १८:४९     विकासन्युज

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका–१ स्थित बिसौनामा मंगलबार पहिरोमा परी मृत्यु भएका विक परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा गाउँमै पुगेर आज मृतकका परिवारलाई ६ लाख रकम हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माले शुक्रबार संघीय सरकारको विपद् व्यवस्थापन कोषबाट प्राप्त राहत रकम मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेल, उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित स्थानीयको उपस्थितिमा मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले शोकाकूल परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै संघ सरकार र प्रदेश सरकारबाट उपलब्ध हुने सबै प्रकारका सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले पालिकाबाट मृतकका परिवारलाई किरिया खर्च वापत १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको सम्पूर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताएका थिए । उनले पीडित परिवारका लागि किरियाबाट निस्केपछि पुनःवासको व्यवस्था मिलाउने उल्लेख गरे ।

पहिरो पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय नगरपालिका, जिल्ला प्रहरी कार्यालय एवं गुल्मी उद्योग वाणिज्य संघबाट टेण्ड, त्रिपाल, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री उपलब्ध गराइसकिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

यसअघि गत असार १४ गते मालिका गाउँपालिका ‐६ स्थित कँडेलपाटामा गएको पहिराबाट मृत्यु भएका परिवारलाई पनि जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीबाट ११ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको थियो । पहिराका कारण उक्त ठाउँका १५ घरपरिवार विस्थापित बनेका छन् ।

पहिराका कारण गुल्मीको मालिका गाउँपालिका र मुसिकोट नगरपालिकामा गरी यसपटक ९ जनाले ज्यान गुमाइ सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.