२०८१ साउन २९ गते १४:०५ विकासन्युज
ढाका । बंगलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बंगलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी वृद्धिदर रहेको बंगलादेशको तथ्यांक विभाग (बीबीएस) ले सोमबार जनाएको छ ।
मुख्यतया खाद्यान्नको मूल्यवृद्धिका कारण मूल्यवृद्धिदर अस्वभाविक रूपमा बढेको विभागको तथ्यांकले जनाएको छ ।
गत जुन महिनामा मूल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्यांकले देखाएको छ ।
बीबीएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो ।
यसै गरी जुन महिनामा पनि खाद्य मूल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।
गैर-खाद्य पदार्थको मूल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०२३/२४ मा देशको औसत मूल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्यभन्दा धेरै हो ।
तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०२२/२३ मा बंगलादेशको मूल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.