अटो शोमा दुईपांग्रेको सहभागिता घट्यो, युवा विदेशिनु मुख्य कारण

  २०८१ साउन ३१ गते १६:५७     विकासन्युज

काठमाडौं । नाडा अटो शोमा दुईपांग्रे सवारी ब्राण्डको सहभागीता घट्दो क्रममा रहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आएको अटो शोमा दुईपांग्रे ब्राण्डको सहभागीता क्रमशः घट्दै गएको तथ्यांकले देखाएको छ ।

चारपांग्रेको तुलनामा दुईपांग्रेको सहभागिता घट्दै गएको हो । विगत ७ पटकको नाडा अटो शोको तथ्यांकलाई केलाउँदा चारपांग्रेको तुलनामा दुई पांग्रेको सहभागिता घट्दै गएको देखिन्छ ।

अटो शो २०१५ मा १४ वटा चारपांग्रे र १६ वटा दुईपांग्रे ब्राण्डको सहभागिता थियो । यस्तै, २०१६ मा १७ वटा चारपांग्रे ब्राण्ड सहभागी हुँदा १५ वटा दुईपांग्रे ब्राण्डको सहभागिता थियो । २०१७ मा फेरि दुईपांग्रेको सहभागिता बढ्यो । जहाँ चारपांग्रे ब्राण्ड १६ र दुईपांग्रे ब्राण्ड १९ वटाले भाग लिए । यसैगरी २०१८ मा १९ वटा चारपांग्रे र २० वटा दुईपांग्रेले भाग लिएका थिए ।

२०१९ को अटो शोमा फेरि चारपांग्रेले उछिन्यो । २०२३ मा फेरि दुईपांग्रेको सहभागिता बढ्यो । २०२३ मा १६ वटा चारपांग्रे र २२ वटा दुईपांग्रेको सहभागिता थियो ।

२०२४ मा आइपुग्दा चारपांग्रेको सहभागिता ह्वात्तै बढ्दा दुईपांग्रेको सहभागिता ह्वात्तै घटेको छ । यस वर्ष २४ वटा चारपांग्रे र १९ वटा दुईपांग्रेको सहभागिता हुने भएको छ ।

यो वर्ष चार पांग्रेको सहभागिता गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ । यता, दुईपांग्रेको भने करिब १४ प्रतिशतले खुम्चिएको देखिन्छ ।


नाडाका अध्यक्ष करण चौधरीले दुई पांग्रे सवारीसाधन चढने युवाहरू विदेश पलायन भएको बताएका छन् । नाडा अटो शोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले युवाहरू विदेश पलायन हुँदा दुईपांग्रे सवारीको माग घटेको बताए ।

यस्तै, उनले नेपालमा बस्ने युवा पनि दुईपांग्रेबाट चारपांग्रेमा अपग्रेट हुँदा दुईपांग्रेको माग घटेको बताए । उनले अटो शोमा चारपांग्रे ब्राण्डको सहभागिता वृद्धि भएको प्रसंगलाई जोड्दै यस्तो बताएका थिए ।

यी हुन् २०२४ मा सहभागी हुने गाडीका २४ ब्राण्ड

आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा हुन गइरहेको नाडा अटो शोमा २४ ब्राण्डका चारपांग्रे सवारीसाधनहरू देख्न पाइने भएको छ । जसमा हुण्डाई, बीवाईडी, टाटा, सुजुकी, महिन्द्र, एमजी, बीएमब्लु, दिपल, ओमोडा, केया लगायत नेपालमा चलेका ठूला ब्राण्ड देख्न पाइने छ ।

यसैगरी बजारमा रहेका एक दर्जन ब्राण्डहरू पनि नाडा नाडा अटो शोमा सहभागी हुने नाडाले जनाएको छ ।

यी हुन् २०२४ मा सहभागी हुने मोटरसाइकलका १९ ब्राण्ड

उक्त शोमा १९ वटा मोटरसाइकल ब्राण्डको सहभागीता हुने भएको छ । जसमा एथर, रोयल इनफील्ड, ट्राइम्फ, ईवान, बेनेली, जोङसेन, ग्याराे, बजाज, सुजुकी, यामाहा, गोगोरो, बीएमडब्लु, टीभीएस, याडिया, हीरो, सीएफ मोटर, जीहो, अप्रिला, एनआईयू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.